कलात्मक साहित्यिक महोत्सव सम्पन्न

ताजा समाचारको लागि फलो गर्नुहोस ।

ईश्वर बिश्वकर्मा
चरिकोट, असार १९
शनिबार भीमेश्वर नगरपालिकाको हल भरिभराउ र गुञ्जायमान भयो । दोलखाको प्रकृति र संस्कृतिसँग सम्बन्धित कलाकृतिको प्रदर्शन गरियो । सितली देखि गौरीशङ्करको बयानका साथै सैलुङ, कालिञ्चोक र भीमेश्वरको महिमा र वन्दना साहित्यिक रचना मार्फत गाइयो । भानु विद्यापति साहित्य प्रतिष्ठान सँगको सहकार्यमा दोलखा सांस्कृतिक डबलीले आयोजना गरेको कलात्मक साहित्यिक महोत्सवमा जिल्लाका सम्पूर्ण प्राकृतिक, सांस्कृतिक र पर्यटकीय स्थलको सुन्दरताको बयान चित्र र शब्दमा गरियो । पर्यटन, कला तथा साहित्यको विकास, विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो । डबलीका महासचिव डा. घनश्याम खतिवडाले नृत्य, गायन, चित्रकला र साहित्यको माध्यमबाट जिल्लाको पर्यटन प्रवर्द्धनको उद्देश्यले महोत्सव आयोजना गरिएको बताउनुभयो । सुन्दरताले भरिपूर्ण जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन कला र साहित्यको पनि विषेश भूमिका हुने उहाँले सुनाउनुभयो। कार्यक्रममा जिल्लाका स्रष्टाहरु विष्णु सुवेदी, बलराम दाहाल, जित कार्की लगायतले कविता प्रस्तुत गर्नुभएको थियो । उहाँहरूको कवितामा मन्त्रमुग्ध भएका अतिथि तथा दर्शकहरू छेवाङ लामा, अमृत खाती, दीपक स्वप्निल श्रेष्ठ, कालिका पाठक र मोहन तामाङको गीतमा छमछमी नाचे ।
मञ्च अघि कालिञ्चोक, भीमेश्वर मन्दिर, शिवपोखरी, मैनापोखरी, कुरी, खरीढुङ्गा जिरी हुबहु उतारिएको चित्र प्रदर्शन गरिएको थियो । उक्त चित्रहरू राष्ट्रिय स्तरका चित्रकारहरूले शुक्रबार सम्बन्धित ठाउँमा पुगेर बनाएका थिए । दिपेन्द्रमान बनेपालीको नेतृत्वमा काठमाडौंबाट आएका चित्रकारहरूले भौगोलिक कठिनाइ र सडकको दुरावस्थाको बिचमा पनि पर्यटकीय स्थलमा पुगेर दृश्यावलोकन सहित चित्र कोरेका थिए । तिनै चित्रहरू महोत्सवमा प्रदर्शनी गरिएको हो । प्रदर्शनीमा अजय देसार, कान्छाकाजी भासिमा, टिकावीर राई र उमेशचन्द्र अधिकारीले बनाएका चित्रहरू रहेको थियो । चित्रकार बनेपालीले स्वर्ग जस्तो ठाउँमा आएर चित्र कोर्न पाउँदा खुसी लागेको बताउनुभयो । “यहाँको वनजङ्गल, पहाड, खोला, झरना आफैँमा कलात्मक र सुन्दर रहेछ। मठमन्दिर, गुम्बा कला र कौशल युक्त रहेछन् ।” उहाँले भन्नुभयो, “देखिएका तीनै कलात्मक दृश्य क्यामरामा कैद गरियो। चित्र कोरियो । प्रकृतिको काखमा रमाइयो ।” उहाँले सडक सञ्जाल र अन्य पूर्वाधार पुर्याउने हो, भने जिल्लाका पर्यटकीय स्थलहरुमा बाह्रै महिना पर्यटक भरिभराउ हुने सुनाउनुभयो ।
महोत्सवमा जिल्ला समन्वय समितिका प्रमुख बर्जुराम घतानीले कला, साहित्य र संगीत समाजको दर्पण भएकोले समाजको राम्रा कुरासँगै नराम्रा कुराको समेत उजागार गरी समुन्नत समाजको निर्माणमा योगदान दिनुपर्ने बताउनुभयो । भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धरले प्रत्येक साताको एकपटक सांस्कृतिक, साहित्यिक र सांगीतिक साँझको आयोजना गर्ने योजना सुनाउनुभयो। साँझको आयोजनाले जिल्लाको पर्यटन प्रवद्र्धन हुनुको साथै सम्बन्धित पक्षहरुको विकास र संरक्षण हुने उहाँले बताउनुभयो । भौतिक, आर्थिक, सामाजिक विकाससँगै सांस्कृतिक र साहित्यिक विकासका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन हुने उहाँले बताउनुभयो । कला, साहित्य र संगीतले गरिब, निमुखा, पिछडिएका वर्गको आवाजलाई सम्बन्धित निकायमा पुर्याउने सम्बाहक बन्नुपर्ने उहाँको जोड रहेको थियो । गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुसहित कलाकार, साहित्यकार र चित्रकारलाई सम्मान गरिएको थियो । दोलखा जिल्लाको पर्यटन प्रवद्र्धन तथा सांस्कृतिक क्षेत्रलाई गीत, संगीत, कलासाहित्य माध्यमबाट बृहत र स्तरीय बनाउन लागि दोलखा सांस्कृतिक डबली स्थापना गरिएको हो । उक्त डबलीले जिल्लाको विभिन्न पालिकामा कलात्मक साहित्यिक महोत्सव गर्ने जनाएको छ ।

Shares

Be the first to comment on "कलात्मक साहित्यिक महोत्सव सम्पन्न"

Leave a comment

Your email address will not be published.


*