काेराेना कहर : चुनौतीसँग डराउदिँन

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड १९) संक्रमणको‌ दर नेपालमा पनि बढिरहेको छ । जसलाई रोक्न सरकार, प्रशासन र स्थानीय सरकारले विभिन्न उपाय अवलम्बन गरिरहेका छन् । कोरोना रोकथाममा व्यक्ति, संघसंस्था, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरकारी निकाय लगायत समाजमा रहेको सबै मानिसको साथसहयोग, सहकार्य र समन्वयको आवश्यक छ । दोलखा जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित कालिञ्चोक गाउँपालिका वडा नं.३ लामिडाँडामा पनि २ जनालाई कोरोना संक्रमण भएको थियो । आत्मबल र सरकारको सहयोगका कारण उनिहरु अहिले स्वस्थ भइसकेका छन् । अब अन्यलाई संक्रमण सर्न नदिन र रोक्न वडाले कस्ता किसिमका रणनीति निर्माण गरेको छ । यस्तै यावत् विषयमा हाम्रा सहकर्मी इश्वर बिश्वकर्माले वडाध्यक्ष निशान बुढाथोकीसँग गरेको कोरोना केन्द्रित अन्तर्वाता :
*कोरोना भाइरस संक्रमण महामारीको अवस्थामा वडाको स्थिति अहिले कस्तो छ ?
कालिञ्चोक गाउँपालिकामा पहिलो पटक कोरोना संक्रमण देखा परेको वडा नै ३ नम्बर वडा हो । यस वडाका २ जना व्यक्तिले कोरोना जितेर घरमा सुरक्षित भएर बसेका छन् । जसमध्ये एकजना विदेशबाट फर्किएका थिए । भने अर्का एकजना एक संस्थाको कर्मचारी हुन् । पालिका, वडाको पुर्व तयारी र व्यवस्थापनले गर्दा कोरोना रोकथाममा केही उपलब्धी हासिल गर्न सफल भएका छौं । आवश्यक सावधानीको कारण समुदायस्तरमा कोरोना संक्रमणकालमा जान पाएन् । हामीलाई सहजता नै भयो । दीर्घरोगी बाहेक कोही कसैलाई संक्रमण भइहालेमा चाँडै मृत्युको शिकार बनिहाल्ने अवस्था रहेनछ ‌। सकरात्मक सोच र आत्मबल बलियो पार्नाले कोरोनालाई जित्न सकिने रहेछ भन्ने कुरा हामीलाइ अनुभुती भएको छ ।
* वडास्तरीय विपत् व्यवस्थापनका समितिले कस्तो कार्य गरेका छन् ?!
सुरुमा हामीले आवश्यक छलफल, बहस, समन्वय र सहकार्य पश्चात् क्वारेन्टाइनको निर्माण गरेका थियौं । जुन् प्रताप स्मृति कलेजमा निर्माण भएको थियो । विदेशबाट र बाहिरी जिल्लाबाट फर्किएका २३ जनालाई सुरुमा राख्यौं । आवश्यक सहकार्य, समन्वयमा रहेका छौं । हामीले सकेसम्मको तयारी र कामहरुलाई तिब्र पारेका छौं । सुरुमा हामीनै आँतिएको भएपनि अहिले संयमित र सुरक्षित भएर कोरोना बिरुद्ध लडिरहेका छौं ।
* गाउँपालिकाबाट कस्तो सहयोग प्राप्त भएका छन्। कोरोना संक्रमण नियन्त्रण र रोकथाममा पालिकाको भुमिका कस्तो रह्यो?
गाउँपालिकाबाट वडाको लागि सहयोग उल्लेख्य प्राप्त भएका छन् । गाउँपालिकासगैँ कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल र निर्णयका आधारमा अगाडि बढेका छौं । वडा फरक, गाउँ पालिका फरक होइन । पालिका र वडा एउटै अङ्ग हो। गाउँपालिकाको निर्णय वडाले नमान्ने र कार्यान्वयन नगर्ने भन्ने हुदैन ‌। वडामा कुनै समस्या देखिएको खण्डमा गाउँपालिकासम्म पुर्याइ छलफलपछि समस्याको समाधान गर्न तर्फ लाग्छौँ । गाउँपालिका, संघसंस्था, जनता र सबैबाट सहयोग प्राप्त भएका छन् ।
* लकडाउन र निषेधाज्ञाको कारण तरकारी जन्य वस्तुहरू बिक्री गर्न नपाएको गुनासो कतिको आए ?! त्यसको सहजीकरण कसरी भयो?
धेरै राम्राे प्रश्न । हामी कृषि उत्पादनमा जोडिएका छौं । आर्थिक रुपान्तरण गर्नका लागि कृषकहरु कम्मर कसेर लागेका छन् । गत वर्ष बर्ष हामीले कृषिमा युवालाई आकर्षित बनाउन विभिन्न अनुदान कृषकहरुलाई वितरण गरेका छौं । टनेल, कृषि औजार, गाडेन पाइप लगायत किसानलाई आवश्यक वस्तुहरु अनुदान स्वरुप वितरण गरेका थियौं । जसले गर्दा कृषकहरुमा उल्लास र उत्साही भएर कृषि उत्पादन धेरै गर्न लागेका थिए ‌। तर पटक पटकको लकडाउन र निषेधाज्ञाको कारण तरकारी लगायत कृषि उपजले बजार पाउन सकेका छैनन् । बजारतिर लगेर बेच्ने अवस्था रहेको छैन । स्थानीय स्तरमा नै खपत गर्ने र आफैले प्रयोग गर्नुपर्ने बाध्यता रहेको गुनासो कृषकहरुबाट आएका छन् ‌। केहिमात्रामा हामीले नै सहजीकरण गरि तरकारीजन्य वस्तुहरु बिक्रीका लागि समन्वय गरेकोले केहि किसानहरु खुसी नै छन् । तर निषेधाज्ञा लम्बिएमा अब चाँहि भने किसानलाई धेरै चिन्तित बनाउने अवस्था रहन्छ ‌।
* लकडाउनमा काम नपाएर हातमुख जोर्न समस्या भएको धेरै मजदुर, कामदारबाट गुनासो आइरहेको पाइन्छ । यहाँको वडामा त्यस्ता गुनासो कतिको आए?
लकडाउन को समयमा पनि सावधानी अपनाएर प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत सडक स्तरोन्नति लगायतको काममा स्थानीयलाई सहभागी गराइएकोले त्यस्ता गुनासो कमै आए । हामीले उत्पादनमुखी हुनुपर्छ भनिरहँदा वडामा गाई, भैँसी पाल्ने, बाख्रा पालन गर्ने क्रम बढ्दो छ । जसले गर्दा खानै नपाएको गुनासो आएनन् । खेतबारीमा नै लगानी, महिनेत गरेकोले कसैलाई अफ्टेरो परेन ।
* चुनौतीहरु कस्ता आइपरेका थिए । त्यसको समाधान कसरी भए ?
म एक युवा हुँ । मैले कुनै चुनौती देखिन । समाजले नबुझेको कुरा बुझाउनु पर्ने हाम्रो दायित्व हो ‌। मलाई थाहा छ जनता बोल्दैनन् बोल्ने बनाउनुपर्छ। जनता सुन्दैनन् सुन्ने बनाउनुपर्छ। जनता खोज्दैनन्, खोज्ने बनाउँनुपर्छ ‌। यो अवधीमा जन गुनासो आए तर त्यसलाई आत्मसात् गर्दै समाधान गर्ने प्रयास गरिएको छ । पुर्व तयारी र व्यवस्थापनले कोरोनासँग लड्न सक्षम भएका छौं । चुनौतीको डटेर सामना गरिरहेका छौं ।
* लकडाउन र निषेधाज्ञाको कारण अर्थतन्त्र र पर्यटन क्षेत्र लगायतमा ठुलो धक्का लाग्यो । लकडाउन र निषेधाज्ञाको विकल्पमा के गर्न सकिएला?्
अब म सरकारको प्रतिनिधि भएको कारण नेपाल सरकार र स्थानीय प्रशासनले गरेका निती, मापदण्ड र निर्णयलाई नमान्ने वा स्विकार नगर्ने कुरा रहदैन् । तथापि पनि लकडाउन र निषेधाज्ञा सधैं गरिरहनुपर्छ भन्ने पनि होइन । यसको विकल्प लिनुपर्छ । फेरी लापरबाही र हेलचेक्र्याइँ गर्ने बिषय पनि होइन ‌ तथापि अब चाडबाड नजिकिँदै छ । अलिकति लचकता अपनाउने पो हो कि ?! अब पनि नेपाल सरकारले विकल्प खोज्न सकेन भने हाम्रो अवस्था र अर्थतन्त्र २० वर्ष अघिको भन्दा कमजोर बन्न सक्छ । कोरोनालाई महामारीको संज्ञा दिइरहँदा हाम्रो वडाको अनुभवमा कतै यो महामारी होइन कि ?! भने प्रश्न पनि नउठेको होइन ।
 कोरोना जितेका २ जनाको सम्पर्कमा पुगेकाको परिक्षण गर्दा उहाँहरुलाई कोरोना संक्रमण देखिएन । नेपालको सन्दर्भमा कोरोना जित्नेको संख्या बढिरहेको छ ‌। न खोप छ । नत कुनै भरपर्दो औषधि र उपचार पद्दति छ । तै पनि संक्रमित हुने र निको हुने दर पनि बढेको छ । अन्य देशको सन्दर्भमा पनि निको हुने दर बढेको सञ्चार माध्यमबाट जानकारी लिन सकिन्छ । त्यसैले निरन्तर लकडाउन र निषेधाज्ञा मात्र गरेर जनतालाई घरभित्र थुनेर समस्याको समाधान हुन सक्दैन । तथापि गतिलो र भरपर्दो विकल्प नभई लकडाउन र निषेधाज्ञा नगर्दा ठुलो क्षति वेहोर्नु पर्ने अवस्था रहन्छ । विज्ञान सम्मत ढंगबाट कुन उपाय र तौरतरिका अपनाउन सकिन्छ र त्यहि अनुरुप अघि बढ्नु पर्ने हुन्छ ‌। कोरोना संक्रमणको अवस्थालाई सुक्ष्म विश्लेषण गरि के उपाय अपनाउन सकिन्छ सोही गरिनुपर्छ भन्ने मलाई लाग्छ ।
         * अन्तिममा के भन्नुहुन्छ?
अन्तिममा म के भन्न चाहनुहुन्छ भने कुनै जात धर्मभन्दा माथि उठेर मानवताको नाताले महमारीसँग लड्न सहयोग गर्न म आग्रह गर्दछु । सरकारको मापदण्ड र नीतिलाई अधिकत्तम पालना गरौं । म राम्रो भए सबै राम्रो । म स्वयं स्वस्थ भए सबै स्वस्थ भन्ने सोच राखेर सुरक्षित हुने प्रयत्न गरौं । यो ९ महिनाको अवधिमा कोरोना सम्बन्धित धेरै कुराको सिकाइ उपलब्धि भएका छन् । विपत प्रभावित सबैलाई सहयोग गर्नुपर्छ । हामी सबै मिलेर कोरोना जस्तै अन्य कैयौं विपतको सामना गर्न सकिन्छ। एकतामा बल हुन्छ । बुद्दी हुन्छ । तागत हुन्छ ‌। त्यसैले यो महामारीलाई सबै मिलेर रोकथाम गर्ने प्रयास गरौं । साथै कोरोना रोकथाममा अहिलेसम्म सहयोग गर्नुहुने विभिन्न मानिस, संघसंस्था, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरकारलाई म विषेश धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु ।

 

 

 

फुर्सद भए यो पनि हेर्नू होस ।

 

Shares

Be the first to comment on "काेराेना कहर : चुनौतीसँग डराउदिँन"

Leave a comment

Your email address will not be published.


*