के हो जनपक्षीय पत्रकारिता ?

ताजा समाचारको लागि फलो गर्नुहोस ।

विशाल खड्का

पत्रकारिता र पत्रकारबारे कुरा सुरु गर्नु अघि म तपाईंहरुलाई एउटा पत्रकारको कथा सुनाउन चाहन्छु । त्यो कथासँगै पत्रकार र पत्रकारिताबारे तपाईंहरु समक्ष आफ्नो कुरा राख्नेछु र भन्नेछु आज नेपालमा र विश्वमा कस्तो पत्रकारिताको खाँचो छ । सन् २००२ को गुजरात दंगाको विषयमा भारतकी एकजना महिला पत्रकारलाई त्यस विषयमा खोजी रिपोर्टिङ गर्नका लागि उनी आबद्ध संस्था तहल्का म्यागेजिनले खटाउँछ । त्यस विषयमा खोजी रिपोर्टिङ गर्नका लागि उनले आफ्नो परिचय बदल्छिन र अमेरिकी फिल्म एकेडमीको विद्यार्थीका रुपमा उनी गुजरात प्रवेश गर्छिन । उनले गर्दै गरेको कामबारे कसैलाई पनि शंका नहोस भन्नका लागि उनले भारत घुम्न आएको एकजना विदेशी युवालाई आफ्नो साथीका रुपमा हायर गर्छिन । तर, त्यो रिपोर्टिङको लहरो यति गहिरो र संवेनशिल हुन्छ कि उनी आवद्ध संस्थाले त्यो रिपोर्ट छाप्ने आँट देखाउन सक्दैन । रिपोर्ट नछापिएपछि शुरु हुन्छ– डिप्रेसन । उनी त्यसपछि सिरियस डिप्रेसनको शिकार हुन्छिन र उपचारमा दुई बर्ष खर्च गर्छिन । उपचारकै क्रममा उनले त्यो रिपोर्ट छाप्नका लागि भारतका प्रतिष्ठित पत्रिका र म्याग्जिनमा प्रयास नगरेको होइन तर कसैले पनि उनको रिपोर्ट छाप्ने आँट देखाउन सक्दैनन् । उपचारबाट तंग्रिएपछि उनले आफ्नो सम्पूर्ण रिपोर्टलाई एउटा किताबको रुपमा प्रकाशित गर्ने निधो गर्छिन र गुजरात फाइल्सः एनाटोमी अफ अ कभर अप भन्ने शिर्षकमा उनको किताब सन् २०१६ मा छापिन्छ । किताब प्रकाशित भएसँगै भारतीय पत्रकारिताको इतिहासमा दुईवटा परिघटना एकैसाथ घट्न जान्छन । पहिलो ती महिला पत्रकारको पोर्न भिडियो बनाएर प्रशारित हुन थाल्छ र उनको हत्या गर्ने वा बलात्कार गर्ने साहसी पुरुषलाई १० लाख इनाम दिइने घोषणा गरिन्छ । त्यसपछि उनी आफ्नो जीवन जोगाउन भूमिगत हुन्छिन । दोस्रो, उनको त्यो किताब प्रकाशित भएसँगै भारतका गृहमन्त्री अमित शाह जेल जानुपर्ने अवस्था सृजना हुन्छ । त्यसो त उनी जेल जानु पर्ने कारणमा अर्को एउटा रिपोर्टिङको पनि ठूलो भूमिका छ, जसलाई भारतीय पत्रकारिता इतिहासमा सोहराबुद्दिन शेख फेक इन्काउन्टरका नामले जान्ने गरिन्छ । तर, विश्वकै सबै भन्दा ठूलो संगठन भएको र भारतमा बहुमतको सरकारको नेतृत्व गरिरहेको सरकार, जसको नेतृत्व नरेन्द्र मोदीले आजका दिन पनि गर्दैछन उनको विरुद्धमा रिपोर्टिङ गरेर पुस्तक प्रकाशित गर्नु कुनै चानचुने काम थिएन । रिपोर्टिङ र पुस्तकककै कारण उनी अन्तर्राष्ट्रिय जगतमा निकै प्रतिष्ठित पत्रकारका रुपमा दर्ज हुन पुग्छिन । तर, उनकै देश भारतमा भने उनलाई निकै विवादास्पद र चरित्रहिन पत्रकारका रुपमा आजप्रयन्त हेर्ने गरिन्छ ।

आजका दिनमा उनी वासिङटन पोष्टकी कोलम राइटर हुन भने उनी विश्वकै प्रतिष्ठित पत्रिका टाइम म्याग्जिन, द गार्डियन र न्युयोर्क टाइम्समा लेख्ने गर्छिन । उनको नाम हो– राना अय्युब । मैले यो वास्तविक कथा यहाँ किन भनेको भने तपाईंहरु कस्तो पत्रकार बन्न चाहनु हुन्छ ? तपाईंहरु कस्तो पत्रकारिता गर्न चाहनु हुन्छ ? तपाईंहरु विज्ञापन उठाएर घर बनाउने पत्रकारिता गर्न चाहनु हुन्छ वा चुनौती मोलेर भूमिगत पनि हुन सक्ने स्तरको पत्रकारिता गर्न चाहनु हुन्छ । आफूले गरेको रिपोर्टिङका आधारमा डिप्रेसनको शिकार हुन परेको अवस्थासम्म झेल्न तयार हुनुहुन्छ वा सजिलो गरी ‘विद्यालय व्यवस्थापन समितिमा नयाँ नेतृत्व’ भन्ने समाचार लेखेर पत्रकारिता गर्न चाहनु हुन्छ ? तपाईंहरु जनताको पक्षमा कलम चलाउन चाहनु हुन्छ वा कर्पोरेट हितमा कलम चलाउन चाहनु हुन्छ ? मलाई लाग्छ तपाईंहरुले आजै यो विषयमा निर्णय गर्नु भयो भने तपाईंलाई नै सजिलो हुन्छ । जनताको पक्षमा गरिने पत्रकारितालाई प्रो पिपुल जर्नालिजम अथवा जनपक्षिय पत्रकारिता भन्ने गरिन्छ भने अर्को हुन्छ– कर्पोरेट जर्नालिजम । यी दुबै पत्रकारिताको आफ्नै इतिहास र महत्व छ ।

तर, कस्तो पत्रकारिता गर्ने भन्ने रोज्ने तपाईंले नै हो । जनपक्षिय पत्रकारिताको महत्व र आवश्यकता किन छ भन्ने बुझ्नका लागि तपाईं हामीले युक्रेन युद्धलाई नजिकबाट नियाल्नु पर्ने हुन्छ । यसको महत्व बोध गर्नका लागि हामीले चीन–अमेरिका, रुस–चीन र रुस–अमेरिकाको सम्बन्धलाई नजिकबाट हेर्नुपर्ने हुन्छ । हामीले निकै राम्रो मान्ने र गाउँ–घरमा सुन्दै आएको बीबीसी वल्र्ड सर्भिसको विरोधाभाषालई नियाल्नु पर्ने हुन्छ । यसको महत्व बोध गर्नका लागि हामीले भारतका पत्रकार पी साईनाथ, आनन्द स्वरुप वर्मा, हरतोष सिंह बल र राना अय्यूवलाई हर्नुपर्ने हुन्छ । त्यस्तै अमेरिकाका पत्रकार पुलित्जर पुरस्कार विजेता सेमुर हर्ष, क्रिस हेजेज र ग्लिन ग्रिनवाल्ड, अष्टेलियाका पत्रकार जोन पिल्जर र प्रोपोगान्डा मेकानिजममा गहिरो अनुसन्धान गरेका मिन्टप्रेसका पत्रकार एलेन मेकलियोडलाई हेर्नुपर्ने हुन्छ । हामीले विकिलिक्सका संस्थापक जुलियन असान्जलाई नियाल्नु पर्ने हुन्छ र उनका विषयमा मुलधारका पत्रकार र पत्रिकाले किन बोल्दैनन् भनेर हेर्नुपर्ने हुन्छ । पुरस्कारको दुनियामा सबै भन्दा ठूलो पुरस्कारका रुपमा हामीले नोवेल प्राइजलाई लिने गर्छौँ । त्यस्तै किताबको दुनियामा बुकर प्राइजलाई लिने गरिन्छ । फिल्मको दुनियामा एकेडमी अवार्ड र कान्सलाई लिने गरिन्छ भने पत्रकारिताको दुनियामा सबै भन्दा ठूलो पुरस्कार वा सम्मानलाई पुलित्जर प्राइज हो । मैले माथी नाम लिएका अमेरिकन पत्रकारहरु यही पुरस्कारबाट सम्मानित भएका छन् । उनीहरुले निकै गहन र महत्वपूर्ण रिपोर्ट सार्वजनिक गरेका छन् । तर, पुरस्कारको पनि आफ्नै राजनीति र समाजशास्त्र हुन्छ भन्ने कुरा तपाईंहरुलाई थाहै छ ।

सन् २०१० मा ‘द वार यु डन्ट सी’ भन्ने डकुमेन्ट्री बनाउने पत्रकार जोन पिल्जर विश्वमा निकै सम्मानित पत्रकार हुन । उनले भियतनाम युद्धका विषयमा लामो लामो रिपोर्टिङ गरेका छन, डकुमेन्ट्री बनाएका छन् । तर, उनलाई यो पुरस्कार दिइएन, जबकी उनी यसका वास्तविक हकदार हुन् । भियतनाम युद्धकै कुरा गर्दा अमेरिकन सैनिकहरुले सन १९६८ मा भियतनामको ‘माई लाई’ भन्ने गाउँमा कसरी सिंङ्गो गाउँलाई नै नामेट गरिदिए र त्यहाँका मानिसको नरसंहार कसरी गरे भन्ने विषयमा द न्युर्योकर म्यागजिनमा लामो रिपोर्टिङ गर्ने पत्रकार सेमोर हर्षले त्यो पुरस्कार प्राप्त गरे । हर्षको नाम मैले यहाँ किन लिएको भने उनले ८२ बर्षको उमेरमा हालै अर्को एउटा सनसनीखेज रिपोर्टिङ गरेका छन् । वाल्टिक समुन्द्रको मुनी ‘नर्द स्ट्रिम पाइपलाइन–२’ भन्ने एउटा पाइपलाइन छ ।

त्यो पाइपलाइनबाट रुस हुँदै जर्मनी र समग्र युरोपसम्म ग्यासको आपूर्ति गर्ने गरिन्छ । युक्रन युद्ध शुरु भएसँगै अमेरिकाले त्यस पाइपलाइनलाई गोप्य सैन्य अपरेसनबाट कसरी ध्वस्त बनाई दियो र समग्र युरोपका जनतालाई चिसोमा कठ्याङ्ग्रिने कसरी बनाई दियो भन्ने विषयमा यो रिपोर्टिङ केन्द्रीत छ । तर, विश्वका कुनै पनि मुलधारे पत्रिकाहरुले यसलाई प्रकाशित गरेनन् । यहि नेर आई पुग्छ जनपक्षिय पत्रिकारिता र पत्रकारको वास्तविक धर्म । तपाईं युद्धको पक्षमा हुनुहुन्छ कि जनताको जीवनको पक्षमा ? तपाईं हतियार उत्पादक कम्पनीको पक्षमा हुनुहुन्छ कि धान उमार्ने किसानको पक्षमा ? तपाईं आफ्नो सरकारको हरेक नाजायज कामको पक्षमा हुनुहुन्छ कि विपक्षमा ? तपाईं अरुले देखाएको सत्यको पक्षमा हुनुहुन्छ कि आफूले देखेको सत्यको पक्षमा ? तपाईं कर्पोरेटको हितमा कलम चलाउन चाहनु हुन्छ कि मानवताको ? मैले माथी नाम लिएका पत्रकारहरुले जनताको जीवनको पक्षमा तपाईंलाई पत्रकारिता गर्न हौस्याउने गर्छन । यसले तपाईंलाई जुन सुकै मुल्यमा पनि सत्यको पक्षमा बोल्न प्रेरित गरिरहन सक्छ । आजको दिनमा बोल्ने त्यो पनि तर्क सहित बोल्ने कुराको आवश्यकता छ । तपाईंहरुले आफ्नो भागको बोल्ने कुरा अरुलाई सुम्पेर बस्न मिल्दैन । तपाईंहरुले यस कार्यक्रम मार्फत यही सिक्नु हुनेछ भन्ने विश्वास लिएको छु । ( प्रेस सेन्टर दोलखाको आयोजनामा आयोजित २ दिने आधारभूत पत्रकारिता तालिममा ब्यक्त बिचार ) लेखक नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एबं दोलखा इन्चार्ज हुनुहुन्छ )

Shares

Be the first to comment on "के हो जनपक्षीय पत्रकारिता ?"

Leave a comment

Your email address will not be published.


*