गाई पालन ब्यवसायमा रमाउँदै पुण्य प्रसाद घिमिरे

ताजा समाचारको लागि फलो गर्नुहोस ।

बुना घिमिरे, चरिकोटः शिक्षण पेशा छोडेर दोलखा बैतेश्वर गाउँपालिका वडा नम्बर ६ नाम्दुका पुण्यप्रसाद घिमिरे गाई पालनमा लाग्नुभएको छ । कृषिलाई व्यवसायिक बनाउने र गाउँमै आयआर्जनका सम्भावना खोज्ने उदेश्यले घिमिरे व्यवसायिक गाईपालनमा लाग्नु भएको हो । केहि समय अघिसम्म विहान १० बजे देखि ४ बजे सम्म स्कुलले विद्यार्थी माझ रमाइ रहने पुण्य प्रसाद घिमिरेको दैनिकी हिजो आज पहिलेको भन्दा फेरिएको छ । उहाँ अहिले ब्यावसायिक गाई पालकका रुपमा गाईसँग रमाई रहनु भएको छ । घिमिरेलाई बिहान उठेदेखि बेलुका नसुत्दासम्म खेतबारीको काम र गाईबस्तुको हेरचाहमा भ्याई नभ्याई हुन्छ । उहाँले घिमिरे दाईको पशुपन्क्षी फार्म दर्तागरी नाम्दुको घिमिरेटारमा चितवनबाट गाई ल्याई २०७८ साल फागुनबाट गाई फार्म संञ्चालन गर्नु भएको थियो ।
उहाँको फार्ममा अहिले जर्सी र स्टार जातका साना ठुला ञगरी १४ वटा गाई छन् । उहाँ सँगै सोही ठाउँका अन्य दुई जनाले पनि फार्ममा लगानी गरेका छन् । ५२ लाख लगानीमा सुरु भएको फार्ममा अहिले ७ वटा गाई दुहुना छन् । फार्ममा रहेको एउटा गाईले २८ लिटरसम्म दुध दिने गरेको उहाँको भनाई रहेको छ । दुध बेचेर महिनाको डेढ लाख भन्दा बढि आम्दानी हुने गरेको घिमिरेले बताउनु भयो  । फार्ममा उत्पादन भएकोे दुध चरिकोट बजारमा ल्याइने गरिएको छ । गाई फार्म लागि आबश्यक पर्ने घासको बन्दोबस्त पनि आफ्नै ६२ रोपनी जग्गामा व्यवस्थापन गर्नु भएको छ ।फार्ममा नियमित रुपमा दुईजनाले प्रत्यक्ष र १० देखि १२ जनाले अप्रत्यक्ष रोजगारी पाएका छन् । केहि गरौँ भन्ने युवाका लागि घिमिरेले बाटो देखाउनु भएको छ । मिहेनत गर्न सक्नेका लागि पशु पालनमा राम्रो व्यवसाय भएको घिमिरे बताउनुहुन्छ । बजारमा दुधको माग रहेको र दुध स्टोर गर्नको लागि चिलिङ भ्याट मेसिन रहेकाले अझै गाई थप गर्ने उहाँको लक्ष्य छ । ८ वटा थप गाई थपि दिनमा तिन सय देखि ४ सय लिटर सम्म दुध उत्पादन गर्ने घिमिरेको योजना छ । उहाँ दुध मात्रै होईन, फार्मबाट निस्किएको मल समेत बिक्री गर्नुहुन्छ । तर आफूले हालसम्म सरकारी निकायबाट कुनै किसिमको सहयोग नपाएको घिमिरेको गुनासो छ । बाँझो रहेका जग्गाको सदुपयोग गर्दै माटो र हावापानी अनुसारको बाली लगाउन सके र व्यावसायिक रुपमा पशु पालन गर्न सके गाउँमै आयआर्जन गर्न सकिने घिमिरेको बुझाई छ । घिमिरेले अहिले टोल छिमेकमा बेरोजगार तथा विदेशीन थालेका युवाहरुलाई नेपालमै बसेर पशु व्यवसाय गरौँ भनेर समेत सल्लाह सुझाब दिने गर्नु भएको छ । जग्गा जमिन बाँझो रहिरहेको अबस्थामा बाझो जमिनको उपयोग गर्दै घास खेती गरी फार्म संञ्चालन गर्नु भएका घिमिरे पशु पालन व्यवसायबाट केहि गर्न सकिन्छ भन्ने उदाहरण बन्नु भएको छ । तर उद्यमशील किसानलाई सरकारले आवश्यक सहयोग नगरेकोमा भने उहाँको दुखेसो छ । अब्बल दर्जाका पशुपालन गर्ने उद्यमशील कृषकलाई प्रोत्साहनको लागि स्थानीय सरकारले सहयोग गर्नु आवश्यक रहेको स्थानीयहरुको भनाई रहेको छ ।

Shares

Be the first to comment on "गाई पालन ब्यवसायमा रमाउँदै पुण्य प्रसाद घिमिरे"

Leave a comment

Your email address will not be published.


*