गाउँदेखि बजारसम्म तीजको लहर

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, भदौ ११
हिन्दु महिलाहरूको महान चाड हरितालिका तीज संघारमै आइपुग्दा गाउँदेखि बजारसम्म चहलपहल र रौनक छ । वर्षभरीको कार्य बोझ, जिम्मेवारी, तनाव, दुख र पीडाबाट उन्मुक्त हुँदै स्वतन्त्र र उल्लासपूर्वक महिलाहरूले आफ्नो महान चाड तीजलाई मनाउँदै छन् ।
गत वर्षहरूमा कोरोनाका कारण त्रासैत्रासमा तीज मनाउनु पर्दा खल्लो महसुस भएको बताउने महिलाहरू यो वर्ष भने कुनै बाधा अवरोध नभएपछि उल्लासपूर्ण तवरले तिज मनाइरहेका छन् । तीज दैलोमै आइपुग्दा महिलाहरूमा उत्साह, उमंग र खुशियाली बढ्दै गएको छ । यही खुशियाली एकअर्कामा साटासाट गर्न र शुभकामना आदानप्रदान गर्न आमा, दिदी, बहिनीहरू जम्मा भएर तिज विषेश कार्यक्रम आयोजना गरिरहेका छन् ।


भीमेश्वर नगरपालिका वडा नं. ४ जिलु स्थित टहलेश्वर मन्दिरमा शनिबार भव्य तीज विषेश कार्यक्रमको आयोजना गरियो । तिजको लहर आयो बरि लै, चिटिक्कै भा छु रे लगायतका तीज गीत र पहिरनमा जिलुका आमा, दिदीबहिनीहरू छमछमी नाचे । एकअर्कालाई शुभकामना आदानप्रदान गर्नुका साथै खुशी साटासाट गरे । सहभागी पुरुषहरू पनि निकै रमाइलो मानेर नाच हेरिरहेका थिए, भने केही पुरुष  भने महिलाहरुसँगै नाच्न पनि लजाएनन् । तिज महिलाको मात्र भएपनि महिलापुरुष दुवैको सौहार्दपूर्ण सहभागितामा तिज विषेश कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार महिला चेम्बर अफ कमर्सको आयोजनामा तीज विषेश तथा दर खाने कार्यक्रम गरिएको थियो । दोलखा चेम्बर अफ कमर्सको सहकार्यमा आयोजित कार्यक्रमको उद्घाटन भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वरनारायण मानन्धरले गर्नुभएको थियो । कमर्सका पदाधिकारी र बजारका महिलाहरूको सहभागिता रहेको कार्यक्रममा दर खानुका साथै सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । केही दिन अघि भीमेश्वर नगरपालिका वडा नं. २ दोलखा स्थित वडास्तरीय महिला सञ्जालको सक्रियतामा तीज विषेश कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नगरप्रमुख ईश्वर नारायण मानन्धर र उपप्रमुख कमला बस्नेत लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । परम्परागत संस्कृतिको संरक्षण र संवर्द्धनका लागि तीज विषेश कार्यक्रमको आयोजना गरिएको आयोजकहरूले जनाएका छन् ।


पौराणिक, मौलिक धार्मिक, सांस्कृतिक, सामाजिक दृष्टिकोणले महत्वपूर्ण चाड तीजमा व्रत, खानपान, पहिरन, नाचगान र मनोरञ्जनसँगै राम्रो परिवारको कामना गर्दै शिवको पूजाआराधना गरिन्छ । त्यति मात्र नभई महिलाको दुःख, पीडा र बेदना पोख्दै अधिकार र सशक्तिकरणको आवाज बुलन्द गरिन्छ । मौलिक पक्षलाई जोगाउँदै रमाउँदै, आत्मियता र सद्भाव बढाउन तीज मनाइन्छ । तिज महिलाको निष्ठा, साहस, धैर्यता र सौन्दर्यसँग जोडिएको चाड हो । यो वर्षको तिज भदौ १४ गते परेको छ ।

Shares

Be the first to comment on "गाउँदेखि बजारसम्म तीजको लहर"

Leave a comment

Your email address will not be published.


*