चरिकोटमा लाखे नाच प्रदर्शन सुरु

ताजा समाचारको लागि फलो गर्नुहोस ।

ईश्वर बिश्वकर्मा
चरिकोट, साउन १२
नेवारी संस्कृतिको संरक्षण र प्रवर्द्धनमा सक्रिय लालीगुराँस युवा क्लबले लाखे नाच सुरु गरेको छ । नाट्यश्वरी मन्दिरमा गठेमंगलको रात पुजापाठपछि भोलिपल्ट कृष्ण सहतिका देवी–देवता र राक्षसको चरित्रमा आधारित भई प्रत्येक वर्ष लाखे नाच प्रदर्शन गरिन्छ । त्यसैको निरन्तरता स्वरुप यो बर्ष पनि नाच प्रदर्शन सुरु गरिएको क्लबका अध्यक्ष प्रविन श्रेष्ठले बताउनुभयो । अघिल्ला बर्षहरुमा कोरोना महामारीका बीच लाखे नाच प्रदर्शन गरियो । तर कोरोना त्रासमा सीमित ठाउँ र दर्शक बीच प्रदर्शन गरिएको नाचमा रौनकता र उल्लास थिएन । तर यो बर्ष कोरोना जोखिम न्युन रहेकोले बजार फन्को लगाएर उल्लासमय ढंगले लाखे नाच प्रदर्शन सुरु भएको हो । मुखुन्डो लगाएर राक्षसको भेषमा प्रस्तुत हुने रोचक र पृथक शैलीको लाखे नाच हेर्न दर्शकको बाक्लो भीड लाग्छ । आन्तरिक मात्र नभई बाह्य पर्यटकको पनि आकर्षण बनेको लाखे नाचले सांस्कृतिक, धार्मिक र पर्यटकीय महत्व बोकेको छ । विषेश गरी नेवार समुदायमा प्रचलित यो नाच जात्रा, पर्व, उत्सव लगायतका बेला प्रस्तुत गरिन्छ । तर चरिकोटमा भने प्रत्येक वर्ष गठेमंगलको पुजापाठ पछि कृष्ण जन्माष्टमीको भोलीपल्ट सम्म बजार परिक्रमा गर्दै लाखे नाच प्रदर्शन गरिने परम्परा छ । अन्तिम दिन राति लाखेको समाप्तिको समय हो । उक्त रात कृष्णको चक्र प्रहारबाट लाखे मारिन्छ । यो सँगै लाखे नाच समाप्त हुन्छ । लाखे नाच प्रदर्शनको बेला दर्शकको उल्लेख्य उपस्थिति र उत्सुकता हुन्छ । भिडिओ र तस्बिर खिच्न आतुर हुन्छन् । जसले पर्यटन प्रवद्र्धन र सांस्कृतिक परम्पराको जगेर्नामा उत्साह थपेको छ । चरिकोटमा २०७७ मा स्वास्थ्य मापदण्ड अपनाउन सन्देश दिँदै झुम्रे र लाखेले समेत मास्क लगाएर प्रस्तुत भएका थिए । २०७८ मा लाखेले बजार परिक्रमा नगरी एक ठाउँमा राती मात्र नाच प्रदर्शन गरेको थियो । जसले औपचारिकता पूरा भएपनि रौनकता र मनोरञ्जन प्रदान गरेको थिएन । २०१६ देखि चरिकोटमा लाखे नाच प्रदर्शन सुरु गरिएको जानकारहरु बताउँछन् । बीचमा केही समय बन्द भएको लाखे नाच चरिकोट गुठी हुँदै लालीगुराँस युवा क्लबले निरन्तरता दिइरहेको छ ।

Shares

Be the first to comment on "चरिकोटमा लाखे नाच प्रदर्शन सुरु"

Leave a comment

Your email address will not be published.


*