चरिकोटमा सडक बत्ती जडान, बुधबारदेखि बल्न थाल्यो

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, असोज १२
दोलखाको सदरमुकाम चरिकोट बजारका सडक क्षेत्र रात्रिकालीन समयमा पनि उज्यालो हुन थालेको छ । भीमेश्वर नगरपालिकाको ‘उज्यालो अभियान’ अन्तर्गत नेपाल विद्युत प्राधिकरणको साझेदारीमा सडक बत्ती जडान गरिएपछि चरिकोटका सडकहरू झलमल्ल हुन थालेको हो । नगरको ६० र नेपाल विद्युत प्राधिकरणको ४० प्रतिशत गरी कुल एक करोड लागतमा जडानका सम्पूर्ण कार्य पूरा भएपछि बुधबार साँझदेखि सडक बत्ती बालिन थालिएको छ । बत्ती बलेसँगै बजारको रात्रिकालीन सौन्दर्य मनमोहक देखिएको र आवागमनमा सहज भएको भन्दै बजारमा उत्साह छाएको छ । नगर प्रमुख ईश्वरनारायण मानन्धरद्वारा सातदोबाटो स्थित हाई मास लाइटको उद्घाटन गरिएपछि एक साथ बजारका सबै बत्ती बाल्ने कार्य शुभारम्भ भएको हो । प्रमुख मानन्धरले जनघनत्व बढ्दै गएको पर्यटकीय चरिकोट बजारलाई व्यवस्थित, सुविधायुक्त, आकर्षक बनाउँदै स्मार्ट बनाउने उद्देश्यले सडक बत्ती जडान गरिएको बताउनु भयो। उज्यालो अभियान अन्तर्गत जडान गरिएको सडक बत्तीले बजारको सौन्दर्य चुलिनुका साथै सवारी र पैदलयात्रुलाई आवागमनमा सुरक्षित महसुस हुने उहाँले सुनाउनु भयो । सातदोबाटो, बीच बजार, नयाँ बसपार्क, पुरानो बजार, पशुपति चोक, टुँडिखेल, चरिघ्याङ लगायतका सडक खण्डमा बत्ती जडान गरिएको छ ।
नगरपालिकाका इन्जिनियर सुरेश राउतका अनुसार ७७ वटा पोलमा जडान भएको बत्ती बल्न सुरु भएको छ । ७५ वटा पोलमा ‘स्मार्ट स्ट्रि बत्ती जडान गरिएको छ, भने सातदोबाटो र पशुपति चोकमा एकएक वटा हाई मास बत्ती बल्न थालेको हो । हाई मास पोल १६ मिटर अग्लो रहेको छ । बजारमा सडक बत्ती जडानका लागि सौर्य उर्जा सेफ स्टिल तप जेभी कम्पनीले जिम्मेवारी पाएको थियो । तर उसले दुई वर्ष ढिला गरी बत्ती जडानको काम सम्पन्न गरेको हो ।
इन्जिनियर राउतले रातको समयमा आपराधिक घटना र सवारी साधन दुर्घटना हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै चरिकोट बजारको सुरक्षाको लागि स्मार्ट सडक बत्ती जडान गरिएको बताउनु भयो । उहाँले बजारको सुरक्षाको लागि सिसिटिभी जडान गर्ने तयारी समेत गरिएको सुनाउनुभयो । सिसिटिभी जडानको आधार निर्माणमा सडक बत्ती जडान गरिएको हो । बजार क्षेत्रमा सडक बत्ती नहुँदा टर्च बालेर ओहोरदोहोर गर्नु पर्ने अवस्था थियो । तर अहिले सो अवस्थाको अन्त्य भएको भन्दै बजारवासीमा उत्साह छाएको छ । 

तस्बिरः हिल स्टेशन दोलखा 

Shares

Be the first to comment on "चरिकोटमा सडक बत्ती जडान, बुधबारदेखि बल्न थाल्यो"

Leave a comment

Your email address will not be published.


*