दोलखाका उद्योगी व्यवसायीहरु आन्दोलित

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, पुस १३
दोलखाका उद्योगी व्यवसायीहरु बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदर तथा प्रतिकूल बैंकिङ नीति विरुद्ध आन्दोलित भएका छन् । मंगलबारको बैठकपछि चरणवद्ध आन्दोलनको घोषणा गरेका उद्योगी व्यवसायीहरुले भोलीपल्ट बुधबारदेखि आन्दोलन सुरु गरेका हुन् ।
उद्योगी व्यवसायीहरुको छाता संगठनले बुधबार चर्काे ब्याजदर र प्रतिकूल बैंकिङ नीति खारेजीको माग राख्दै जुलुस प्रदर्शन, हस्ताक्षर संकलन कार्यक्रम आयायेजना गर्नुका साथै जिल्ला प्रशासन कार्यालय र बैँक तथा वित्तीय संस्थाहरुलाई हस्ताक्षर र ध्यानाकर्षण पत्र बुझाएका छन् । दोलखा उद्योग वाणिज्य संघ र दोलखा चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा विरोध कार्यक्रम भएको हो । दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्र श्रेष्ठले चर्को ब्याजदर र नेपाल राष्ट्र बैंकको प्रतिकुल नितीले उद्योगी व्यवसायीहरू पीडित भएको बताउँदै उनीहरुको सम्पूर्ण माग सम्बोधन हुनुपर्ने बताउनु भयो ।
जिल्ला तथा केन्द्रीय स्तरबाट पटकपटक ध्यानाकर्षण गराउँदा पनि माग पूरा नगरी उद्योगी व्यवसायीलाई पलायन गराउने कार्य बन्द नभएपछि बाध्य भएर आन्दोलन सुरु गरिएको उहाँले बताउनुभयो । उद्योगी व्यवसायीहरुले आआफ्नो व्यवसाय सञ्चालन नगरी आन्दोलन गर्नु पर्ने बाध्यात्मक स्थिति नेपाल सरकार, नेपाल राष्ट्र बैँक र बैँक तथा वित्तीय संस्थाले निम्त्याएकोमा संघका अध्यक्ष श्रेष्ठले दुख व्यक्त गर्नु भयो । आर्थिक संकटको बेला वृद्धि भएको ब्याजदर र नीतिले व्यवसायीहरुदलाई मानसिक पीडा दिएको दोलखा चेम्बर अफ कमर्सका अध्यक्ष विष्णु श्रेष्ठले बताउनु भयो ।
उहाँले ब्याजदर वृद्धिबाट सीमित बैँकहरु पोस्ने र सम्पूर्ण उद्योगी व्यवसायीहरुलाई डस्ने कार्य भएको बताउँदै ब्याज घटाइनु पर्ने माग राख्नु भयो । उद्योगी व्यवसायीमैत्री वातावरण बनाइनुपर्नेमा उल्टै प्रतिकुल अवस्था बनाउने कार्यका विरुद्ध चरणवद्ध आन्दोलन गर्ने उहाँको चेतावनी थियो । जिल्ला स्थित बैँक तथा वित्तीय संस्था र जिल्ला प्रशासन कार्यालय मार्फत अर्थमन्त्रीलाई बुझाइएको ध्यानाकर्षण पत्रमा आठ बुँदे माग अघि सारिएको छ ।
ध्याकर्षणपत्रमा चालु कर्जाको मार्ग निर्देशन खारेजी, पुर्नकर्जाको व्यवस्था, वैंक तथा वित्तीय संस्थाको व्याजदर एक अंकमा कायम गरिनुपर्ने, सबै आंतक बन्द गरिनुपर्ने, कारोवारको आधारमा कर्जा दिने प्रावधान शंसोधन गरिनुपर्ने माग उल्लेख गरिएको थियो । चालु रहेको ओभर ड्राफ्ट कर्जा यथावत हुनुपर्ने, राष्ट्र बैंकको अव्यवहारिक निति खारेज गरिनुपर्ने र वर्षमा एक पटक चालुपूँजी ऋण चुक्ता गर्ने प्रावधान खारेजी गरिनु पर्ने माग राखिएको थियो ।
बिहीबार एक दिनका लागि बैंक तथा वित्तीय संस्थाहरुसँग आर्थिक कारोवार वहिष्कार गर्ने उद्योगी व्यवसायीहरुले बताएका छन् । पौष २४ गतेसम्म मागहरु उपर कुनै सम्वोधन नभएमा चरणवद्ध शसक्त आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

Shares

Be the first to comment on "दोलखाका उद्योगी व्यवसायीहरु आन्दोलित"

Leave a comment

Your email address will not be published.


*