दोलखामा प्राकृतिक प्रकोप पीडितलाई राहत वितरण

ताजा समाचारको लागि फलो गर्नुहोस ।

ईश्वर बिश्वकर्मा
चरिकोट, मंसिर ६
दोलखामा प्राकृतिक प्रकोपबाट पीडित २५ घरपरिवारलाई जिल्ला प्रशासन कार्यालयले आर्थिक सहयोग सहयोग प्रदान गरेको छ । चालु आवमा सङ्घीय सरकार र बागमती प्रदेश सरकारबाट प्राप्त रकम कार्यालयले पहिरो र आगलागीबाट पीडित सो संख्याको घरपरिवारलाई प्रदान गरेको हो ।

कार्यालयका सूचना अधिकारी, प्रशासकीय अधिकृत औलाखबाहुदर आलेले वर्षाको समयमा विभिन्न स्थानमा गएको पहिरोबाट प्रभावित २४ र अग्नि पीडित एक घरपरिवारलाई कुल चार लाख ८५ हजार रुपैयाँ वितरण गरिएको बताउनु भयो । उहाँले प्राकृतिक प्रकोप पीडितलाई राहत महशुस होस् भनेर कार्यविधि अनुसार आर्थिक सहायता उपलब्ध गराइएको बताउनु भयो ।
कालिञ्चोक गाउँपालिका–५ का ११ घरपरिवालाई प्रति परिवार २५ हजार रुपैयाँ, भीमेश्वर नगरपालिका–२ का चार, जिरी नगरपालिका– ८ का एक, मेलुङ गाउँपालिका–२ का एक, तामाकोशी गाउँपालिका–५ का एक, र विगु गाउँपालिका–२ का छ परिवारले १५ हजारका दरले पहिरो प्रभावित राहत पाएका छन् । तामाकोशी गाउँपालिका–२ का अग्नि पीडित एक परिवारले १५ हजार रुपैयाँ पाएको कार्यालयका सूचना अधिकारी आलेले जानकारी दिनु भयो । उहाँका अनुसार विगु गाउँपालिका–४ का छ घरपरिवारलाई १० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउन बाँकी रहेको र सोको प्रक्रिया बढाइएको छ ।
रेडक्रसको सहयोग
घाइते तथा बिरामीहरुलाई रगत र प्राकृतिक प्रकोप पीडितलाई राहत उपलब्ध गराउँदै आएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाले विभिन्न चालु वर्ष प्राकृतिक प्रकोपबाट प्रभावित १ सय ३१ घरपरिवारलाई राहत वितरण गरेको छ । चालु वर्षको साउनदेखि हालसम्म पहिरो प्रभावित १ सय २३ र अग्नि प्रभावित आठ घरपरिवारलाई राहत स्वरुप अखाद्य सामाग्री वितरण गरिएको हो ।

सभापति गोकर्णप्रसाद पोखरेलले अखाद्य राहतमा प्राकृतिक प्रकोप प्रभावितलाई तत्काल आवश्यक पर्ने भाँडाकुँडा, लत्ताकपडा, त्रिपाल लगायतका सामाग्री रहेका छन् । पहिरोका कारण घर पूर्ण क्षति भएका २५ र आशिंक क्षति भएका ९८ परिवार र आगलागीबाट घर पूर्ण क्षति भएका आठ परिवारलाई राहत वितरण गरिएको उहाँले बताउनु भयो ।
भीमेश्वर नगरपालिकामा पहिरो पीडित ४९ र अग्नि पीडित दुई, तामाकोशी गाउँपालिकामा पहिरो पीडित १९ र अग्नि पीडित दुई, जिरी नगरपालिकामा पहिरो पीडित एक, विगु गाउँपालिकामा पहिरो पीडित छ र अग्नि पीडित तीन घर परिवारलाई राहत उपलब्ध गराइएको हो । यस्तै कालिञ्चोक गाउँपालिकामा पहिरो पीडित आठ, शैलुङ गाउँपालिकामा पहिरो पीडित १६, बैतेश्वर गाउँपालिकाको नौ र मेलुङ गाउँपालिकाको १५ पहिरो पीडित र एक अग्नि पीडित घरपरिवारलाई राहत वितरण गरिएको सभापित पोखरेलले बताउनु भयो ।

Shares

Be the first to comment on "दोलखामा प्राकृतिक प्रकोप पीडितलाई राहत वितरण"

Leave a comment

Your email address will not be published.


*