दोलखामा यसरी मनाइयो तीज

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, भदौ १५
दोलखामा हिन्दु नारीहरुले हर्षाेल्लासका साथ हरितालिका तीज पर्व मनाएका छन् । कार्य बोझ, तनाव, दुःख र पीडा भुलेर अघिल्लो दिन दर खाई तीजको दिन व्रत बस्नुका साथै शिवको पूजाआराधाना र नाचगान गरी तीज मनाएका हुन् ।

सत्ययुगमा महादेवलाई पतिको रुपमा प्राप्त गर्न र महादेवको स्वास्थ्यमा कुनै हानी नहोस्, भनी हिमालय पुत्री पार्वतीले व्रत बसेको धार्मिक मान्यता अनुसार तीज मनाउने परम्परा रही आएको छ । अघिल्लो दिन मिठामिठा परिकार खाएर दरिलो हुने र तीजको दिन विवाहित महिलाले आफूसँगै परिवारको शुभमंगलको कामना र अविवाहिताले सुयोग्य वरको आशासहित तीजको दिन निराहार बस्ने मान्यता छ ।


तीजको वर्तालु महिलाहरु बिहानै सोही अनुसारको पहिरनमा सजिएर शिव मन्दिरमा गई पूजाआराधाना गर्ने र फर्किएर आएपछि रमाइलोका लागि एकआपसमा शुभकामना आदानप्रदान तथा खुशी साटासाट गर्दै नाचगान गर्ने गर्दछन् । तीजको दिनभर सदरमुकाम चरिकोटको पशुपति, कोटीहोम, दोलखाको भीमेश्वर, टहलेश्वर, मेलुङ गाउँपालिकाको गाईखुरा मन्दिर लगायतका शिवालयहरुमा वर्तालु महिलाहरुको पुजाआराधानका लागि भीड लागेको थियो । त्यस्तै गाउँदेखि बजारका चोकचोकमा तीजका गीतहरु बजाएर महिलाहरु धित मारेर नाचेका थिए ।

विगतका वर्षहरुमा कोरोनाको कारण प्रभावित भएको तीज यो वर्ष भने महिलाहरुले धुमधामका साथ मनाएका छन् । चरिकोटका जानुका सापकोटाले यो वर्षको तीजमा सोचेअनुसार रमाइलो भएको बताउनुभयो । “अघिल्लो वर्षमा कोरोनाले राम्रोसँग तीज मनाउन सकिएको थिएन । कोरोना सरेर बिरामी पर्ने डर थियो ।” उहाँले भन्नुभयो “यो वर्ष भने कोरोनाको डर नभएपछि मज्जैले मनाइयो । तीजले रमाउने वाहना मिलेको छ ।”

तीज त्यस्तो चाड हो, जसले महिलाले मात्र स्वतन्त्र र उत्साहपूर्वक मनाउने गर्दछन् । समयसँगै तीज मनाउने तौरतरिका र शैलीमा भने केही परिवर्तन आएको छ । यो पर्व हिन्दु महिलाले मात्र होइन, अन्य धर्म मान्ने महिलाहरुलाई समेत आकर्षित गरेको पाइएको छ ।

#तीज#

Shares

Be the first to comment on "दोलखामा यसरी मनाइयो तीज"

Leave a comment

Your email address will not be published.


*