दोलखामा हिउँदे बाली लगाउने बेला मलको अभाव

ताजा समाचारको लागि फलो गर्नुहोस ।

ईश्वर विश्वकर्मा, चरिकोटः हिउँदे बाली लगाउने सिजनमा रासायनिक मल अभाव हुँदा किसानहरु चिन्तित भएका छन् । असारमा धान रोप्न मल नपाएका किसानहरुले अहिले गहुँ, आलु लगायतका हिउँदे बाली लगाउने बेलामा पनि मल अभाव भएपछि चिन्तित भएका हुन् ।
बजारमा चारैतिर खोज्दा पनि पर्याप्त मल नपाएपछि हिउँदे बाली लगाउन समस्या भएको किसानहरुले गुनासो गरेका छन् । रासायनिक मल बिना अन्नबाली लगाउँदा उत्पादन कम हुने र भोकमरीको जोखिम बढ्ने किसानहरुले बताएका छन् ।
बैतेश्वर गाउँपालिका वडा नं. ७ का लीला रिमालले गहुँ छर्ने तयारी गरेपनि मल नपाउँदा समस्या भएको बताउनु भयो । रिमालले वर्षामा धान रोप्ने बेला मलको अभाव खेप्नु परेपनि हिउँदमा त सहजै पर्याप्त मात्रामा मल पाउने आशा गर्नु भएको थियो । तर उहाँले निराश हुनुपरेको छ । “खेत खनजोत गरेर गहुँ लगाउन तयार भइसक्यो । तर मल पाउन सकिएको छैन । खोज्दा पनि पाउने अवस्था छैन ।” रिमालले भन्नुभयो, “अरु बेला त बल्लतल्ल मल पाइएको थियो । हिउँदमा त सहजै पाइएला भने कहाँ बाट पाउनु ?”
भीमेश्वर नगरपालिका वडा नं. ७ का नन्दप्रसाद दुलालले जिल्लामा मलको हाहाकार सधैँ हुने गरेको र यसै कारण कतिपयले अन्नबाली नै लगाउन छाडेको बताउनु भयो । “यहाँ सिजनमा मात्र होइन । अफसिजनमा पनि मल पाउन छाडेको छ । यसले गर्दा कतिले खेती नै गर्न छाडेका छन् ।” उहाँले भन्नुभयो, “कतिपय टाठाबाठाले सहकारीबाट मल फुत्काएर ल्याउँछन् । कतिपयले व्यापारीबाट मंहगोमा किन्छन् । तर पहुँच र पैसाको अभाव हुनेलाई मलको अभावले थिच्नुथिच्छ । दुई किलो मल हात पार्न पनिठूलो संघर्ष गर्नुपर्छ ।” जिल्लाका व्यापारीहरुले सधैँ मलको कृत्रिम अभाव सिर्जना गर्ने गरेको दुलालले आरोप लगाउनु भयो । “व्यापारीहरुले मल आयात गरी लुकाएर राख्छन् । बजार भाउ भन्दा बढी दाममा मात्र मल बेच्छन् । तर त्यो गुणस्तरीय पनि हुँदैन ।” उहाँले सरकारी निकायबाट मलको बिक्री वितरण गरिदाँ जिल्लामा मल पाउन केही सहजता हुन सक्ने सुनाउनु भयो । मल अभाव चर्किँदै गएकोले जिल्लामा अन्नबालीको उत्पादन घट्ने र अन्यन्त्रबाट आयात गर्नु पर्ने अवस्था आउन सक्ने किसानहरु बताउँछन् ।

Shares

Be the first to comment on "दोलखामा हिउँदे बाली लगाउने बेला मलको अभाव"

Leave a comment

Your email address will not be published.


*