दोलखामा ७१ जनाको आँखा शल्यक्रिया

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, माघ १२
दोलखामा ७१ जना जेष्ठ नागरिकको आँखा शल्यक्रिया गरिएको छ । दोलखा लायन्स आँखा केन्द्रको आयोजनामा मंगलबार र बुधबार भएको शिविरमा जेष्ठ नागरिकहरुको निशुल्क आँखा शल्यक्रिया गरिएको हो ।
माघ १ देखि ९ गतेसम्म जिल्लाको विभिन्न ठाउँमा सञ्चालित परीक्षण शिविरमा छनौट भएका आँखाका बिरामीहरुको शल्यक्रिया गरिएको दोलखा लायन्स आँखा केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख, डाक्टर विप्लव खड्काले ६९ जनाको आँखामा मोतियाविन्दु, एक जनाको मासु पलाएको र एक जनाको चोट भएका बिरामीको शल्यक्रिया गरिएको बताउनु भयो । डाक्टर रचना राणाको नेतृत्वमा आँखाको शल्यक्रिया सम्पन्न भएको हो ।


वर्षाैँदेखि आँखाको समस्या झेलिरहेका जेष्ठ नागरिकहरु निशुल्क उपचार पाएर आँखा स्पष्ट देख्ने भएपछि खुशी भएका छन् । डाक्टर खड्काले भौगोलिक विकटता र आर्थिक अभावका कारण आँखाको उपचार गराउन नसकेका नागरिकहरु शिविरबाट लाभान्वित भएको बताउनु भयो । विषेश हेरचाह तथा खानपानमा ध्यान नदिँदा आँखाका बिरामी बढ्दै जान थालेको उहाँले बताउनु भयो । मानिसको पहिलो र महत्वपूर्ण अंगको रुपमा रहेको आँखामा समस्या भए समयमै उपचार गराउन डाक्टर खड्काको सुझाव छ । केन्द्रले प्रत्येक वर्ष दुर्गम क्षेत्रमा आँखाका बिरामी खोजी गरी निशुल्क शल्यक्रिया सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।

Shares

Be the first to comment on "दोलखामा ७१ जनाको आँखा शल्यक्रिया"

Leave a comment

Your email address will not be published.


*