निर्वाचन नजिकिएसँगै गाउँ फर्किन थाले दोलखाका मतदाता

ताजा समाचारको लागि फलो गर्नुहोस ।


ईश्वर बिश्वकर्मा
चरिकोट, कार्तिक २९
प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको मिति नजिकिएसँगै अन्य जिल्लामा रहेका दोलखाका मतदाताहरु गाउँ फर्किन थालेका छन् । दशैं तथा तिहार मानेर आफ्नो कार्यक्षेत्रमा पुगेका मतदाताहरु मतदानको मिति नजिकिएसँगै पुनः गाउँ फर्किन थालेका हुन् ।
काठमाडौंबाट आइतबार अघि मतदानकै लागि बुलुङ फर्किनु भएका सुजन बरालले समक्ष, योग्य, विकास र जनप्रेमी उम्मेदवारको पहिचान गरी उसैलाई भोट खसाल्न गाउँ फर्किएको बताउनुभयो । “दशैं तिहार सकेर काममा फर्किएको थिएँ । अहिले त्यो भन्दा ठूलो चाड आएकोलेफरि गाउँ फर्किएको हुँ ।” उहाँले भन्नुभयो “अहिले सम्म भोट हालेर केही परिवर्तन र विकास भएको छैन । तर पनि अधिकार, दायित्व र कर्तव्य सम्झेर यो पटक राम्रो व्यक्ति छानेर मतदान गर्दैछु ।” उहाँले लोकतन्त्रलाई बलियो बनाउने आधार निवार्चन भएको बताउँदै उम्मेदवार वा दलसँग चित्त दुखाएर मतदान नगर्नु मुर्खता मात्र हुने बताउनुभयो ।
“ यस अघि मतदान गरेर केही भएन भनेर दल वा उम्मेदवारसँग रिसाएर मतदान नगर्नु मुर्खता हो ।” उहाँले भन्नुभयो “त्यसो गर्दा राम्राले हार्ने र नराम्राले जित्ने हुन्छ । जसले गर्दा संविधान र लोकतन्त्र धरापमा पर्छ ।” सचेत र जागरुक मतदाताको परिचय दिनको लागि आफू मतदानमा सहभागी हुन गाउँ फर्किएको बताउँदै उहाँले निर्वाचन पछि रोजीरोटीका लागि सहर वा विदेश भासिनु पर्ने अवस्थाको अन्त्य हुनुपर्ने माग गर्नुभयो ।

काठमाडौँमा काम गर्दै आउनु भएका ओम कुमार श्रेष्ठ मतदान गर्न चरिकोट फर्किने तयारी गर्दै हुनुहुन्छ । यस अघि आफ्नो मतले जितेर गाउँका नेता मन्त्री भएपनि गाउँ र स्थानीयको जीवनमा कुनै परिवर्तन नआएको कारण यो निर्वाचन प्रति खासै उत्साह नरहेको उहाँले बताउनुभयो । तर मतदान आफ्नो अधिकार र गल्ती गर्नेलाई दण्डित गर्ने अवसर भएको हुँदा निर्वाचनका लागि गाउँ फर्किन लागेको श्रेष्ठले बताउनुभयो ।
उहाँले यो पटकको निर्वाचनपछि युवाहरु रोजगार खोज्दै भौँतारिनुपर्ने अवस्थाको अन्त्य हुनपर्ने सुनाउनुभयो । “यहीँ रोजगारी पाए, राम्रो शिक्षा पाए त युवाले गाउँ छाडेर जिल्ला वा देश बाहिर जानुपर्दैन थियो ।” उहाँले भन्नुभयो “यो पटक निर्वाचित हुनेहरुले युवालाई गाउँमै रोकिने वातावरण बनाउनुर्छ । अनि अन्यत्र गएकालाई पनि गाउँ फर्काउनुपर्छ ।” जनपक्षीय कामका लागि बाचा गरेका नेतालाई सोही अनुसार काम गर्ने सर्तमा मतदान गरी जिताउन आवश्यक रहेको उहाँले बताउनु भयो ।
दोलखामा जिल्लाको खरीढुँगा र किर्ने नाका हुँदै गाउँ फर्किनेहरुको संख्या बढ्न थालेको छ । नाकाहरुमा सुरक्षा व्यवस्था र सतर्कता मजबुत पारिएको छ । प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले मतदाता नामावलीमा नाम भएका मतदाताहरु मताधिकार उपयोगका लागि सवारी साधन मार्फत गाउँ फर्किने क्रम बढेको बताउनुभयो । जिल्लामा निर्वाचन सुरक्षा रणनीति लागू भएपछि शान्ति सुरक्षा कसिलो पारिएको बताउदैं प्रजिअ खतिवडाले जिल्ला भित्रने सवारी साधनलाई नाकामै सोधपुछ गर्न थालिएको बताउनुभयो ।
“बाहिरी जिल्लामा बसोबास गर्ने मतदाताहरु आफ्नो गाउँमा फर्किन थालेका छन् ।” उहाँले भन्नुभयो “यही मौकामा गैरमतदाता पनि बिनाकारण जिल्ला भित्रिएर शान्ति सुरक्षामा चुनौती बन्न सक्छन् । त्यसैले जिल्ला भित्रने सवारी साधनको चेकजाँच, निगरानीमा कडाइ गरिएको छ ।”
निर्वाचनको मिति नजिकिएसँगै काठमाडौँमा रहेका मतदातालाई निर्वाचनकोलागि गाउँ फर्किन सहजताको लागि दोलखाका कतिपय राजनीतिक दलले गाडीको व्यवस्था गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रवक्ता, प्रहरी निरीक्षक राजेश सिग्देलले चुनाव आएसँगै नाकाहरुमा सवारी चाप बढेकोले सतर्कता अपाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “दैनिक सवारी चाप बढेको छ । गैरमतदाता पनि गलत नियतले आउन सक्ने जोखिम रहेकोले निगरानी र सुरक्षा जाँचलाई कडाई गरिएको छ ।” उहाँले यात्राकाक्रममा सुरक्षासम्बन्धि कुनै समस्या भएमा प्रहरीलाई जानकारी गराउन समेत यात्रुहरुलाई अनुरोध गर्नुभयो ।

Shares

Be the first to comment on "निर्वाचन नजिकिएसँगै गाउँ फर्किन थाले दोलखाका मतदाता"

Leave a comment

Your email address will not be published.


*