नेपालमा पोल्ट्री व्यवसायमा भएका चुनौती, अवसर तथा सम्भावनाहरु

ताजा समाचारको लागि फलो गर्नुहोस ।

– सन्दर्भ: दशौँ राष्ट्रिय पोल्ट्री दिवस- २०७९

Text Box: डा. ध्रुब डि.सी.

पोल्ट्री भन्नाले मानिसले अण्डा, मासु तथा प्वाँखका लागि पालेको घरपालुवा पन्छीलाई बुझाउदछ |नेपालमा कुखुरा पालन ब्यवसाय धेरै पहिले देखि शुरु भएतापनि  वि.सं. २०१७ साल पौष १७ गते बारा जिल्लाको परवानीपुरमा अमेरिकी सहयोगबाट सेन्ट्रल ह्याचरी स्थापना भए पश्चात नेपालमा आधुनिक पोल्ट्री व्यवसायको सुरुवात भएको मानिन्छ | उक्त ह्याचरी स्थापना कै दिन पौष १७ गतेलाई लिएर वि.सं. २०७० साल देखि हेरेक वर्ष राष्ट्रिय पोल्ट्री दिवस मनाउदै आइरहेको छ | यसै सन्दर्भमा बागमती प्रदेशले पौष ११ देखि १७ सम्म सप्ताहव्यापी कार्यक्रमहरु गर्दै आइरहेको छ | उक्त सप्ताहव्यापी कार्यक्रमले मुलुकमै अण्डा तथा मासुको महत्व बुझाउनुका साथै उपभोग समेत बढाउने र खाद्य तथा पोषण सुरक्षामा टेवा पुवाउने देखिन्छ |

पोल्ट्री व्यवसायमा प्रमुख चुनौतीहरु

नेपालमा पोल्ट्री व्यवसायको अवसर तथा सम्भावनाहरु राम्रो हुँदा हुँदै पनि अनेक समस्या तथा चुनौतीहरुलेगर्दा पोल्ट्री व्यवसायमा कृषकहरुको स्थिरता देखिदैन | कृषकहरुले दिर्घकालिन रुपमा पोल्ट्री व्यवसाय गर्न नसक्नुमा तपसिल अनुसारका प्रमुख चुनौतीहरु रहेका  

  • दानामा (उत्पादनमा) उच्च लागत

कुखुराको दाना बनाउनका लागि आवश्यक कच्चा पदार्थ मुख्य गरी मकै र भटमासको उत्पादन नेपालमा निकै कम मात्रामा हुने र देश बाहिरबाट आयातमा भर पर्नु पर्ने भएको हुँदा कच्चा पदार्थकै दर उच्च हुन गई दानाको दर बढी हुने भएको हुँदा कुखुरा व्यवसाय नै जोखिममा रहेको देखिन्छ | हालको अवस्था हेर्ने हो भने एउटा ब्रोइलर कुखुरा (औषत २.५ केजी) उत्पादनका लागी करिब ५ के.जी. दाना आवश्यक पर्छ र ५ के जी दानाको मूल्य करिब रू. ४३५-४४० हुन आउछ भने कृषकले पाउने कुखुराको मूल्य करिब रु. ५५०-६०० हुन आउदछ | दाना बाहेक खोप तथा औषधि उपचार हेर्ने हो भने कृषकले पाउने मूल्य र उत्पादन लागतको खासै फरक देखिदैन | कुखुरामा रोग देखा पर्नु र १० प्रतिशत सम्म मृत्यु हुनुत सामान्य जस्तै हो र उक्त खर्च समेत हेर्ने हो भने कृषक घाटा मै गएको दे

  • बजार मूल्यको उच्च घटबढ

नेपालमाकुखुराको मासु तथा अण्डाको उच्च घटबढ हुने गरेको पाइन्छ | अन्य पशुको मासुको मूल्य लामो समयस्थिर रहने हुँदा जोखिम कम देखिन्छ | कृषकले बिक्रि गर्ने समयमा बजार मूल्य कम हुँदा कृषकलाई लगानी उठाउन सम्म हम्य हम्य भएको पाइन्छ |

  • मुख्य बजारमा सिमित पहुँच

भौगोलिक तथा सडक सुबिधाको हिसाबले हेर्दा कृषकहरुले नेपालको मुख्य बजारमा आफ्नो उत्पादन बिक्रि गर्न नसक्ने अवस्था रहेको छ र कृषकहरुले कुखुरा बिक्रि गर्ने समय हुँदा पनि बिक्रि गर्न नसक्दा थप लागत लाग्ने र घाटामा जानुपर्ने अवस्था आएको छ |

  • प्राविधिक ज्ञानको कमि

प्राय: कृषकहरुमा कुखुरा पालन सम्बन्धि प्राविधिक ज्ञानको कमि भएको पाइन्छ | कृषकहरुले गरेर सिक्ने अवस्थामा भएको हुँदा सिक्ने समय सम्म घाटामा गएर व्यवसाय नै छोड्नु पर्ने अवस्था रहेको छ | तसर्थ कृषकहरुले कुखुरापालन सम्बन्धि प्राविधिक ज्ञान तथा सिप सिके पश्चात व्यवसाय सुरु गर्दा उत्तम हुने र ज्ञान तथा सिपका लागि सरकारी निकायबाट समेत सहयोग हुनु पर्ने देखिन्छ |

  • महामारी रोगहरु

नेपालमा वर्ड फ्लू रोगले पोल्ट्री व्यवसाय नै धरापमा परेको देखिन्छ | नेपालमा बर्षेनी वर्ड फ्लू, रानीखेत जस्ता रोगले कुखुराका खोरहरु खालि नै हुने अवस्थाको सृजना गरेको छ | यस्ता महामारी जन्य रोगहरुबाट जोगिनका लागि कृषकहरुलाई समयमा नै सचेत गराउने, नियन्त्रणका उपायहरु अवलम्बन गर्ने र खोप लगाउने सकिने रोगमा खोपको समयमा नै उचित व्यवस्था गर्ने प्रवन्ध मिलाउने तथा खोप उत्पादनका लागि सरकारी अनुसन्धान केन्द्र तथा विश्वविद्यालयहरुले समेत काम गर्नुपर्ने देखिन्छ |

  • बिमा

नेपालमा पशुपन्छी विमाको व्यवस्था भएता पनि सबै कृषकले बिमाको सुबिधा भने पाएको देखिदैन | बिमा कम्पनीहरुले अन्य पशु- गाई, भैंसी जस्तो सजिलै संग कुखुराको बिमा गर्न मानिरहेको देखिदैन | तसर्थ बिमा व्यवस्था थप व्यवस्थित गर्नु पर्ने देखिन्छ |

  • झुट्टा प्रसारहरु

नेपालमा झुट्टा प्रसारहरुले समेत कुखुरापालन व्यवसायलाई धरापमा पारेको पाइन्छ | कहिले वर्ड फ्लू त कहिले कोरोना जस्ता रोगलाई लिएर सामाजिक संजालहरुमा गरिने झुट्टा प्रसारहरुले मासु तथा अण्डाको खपत कम हुने गरेको पाइन्छ |

अवसर तथा सभावनाहरु

नेपालमा कुल मासु उत्पादनको करिब २२ प्रतिशत पोल्ट्रीको मासुले ओगटेको छ | कुल उत्पादन हुने पोल्ट्रीको मासुमा बागमती प्रदेशबाट मात्र ५० प्रतिशत उत्पादन हुन्छ | त्यस्तै बागमती प्रदेशमा उत्पादन हुने मासु मध्ये पोल्ट्री क्षेत्रको योगदान करिब ६९ प्रतिशत रहेको छ |अण्डा उत्पादन हेर्ने हो भने नेपालमा उत्पादन हुने कुल अण्डा उत्पादनको ६० प्रतिशत बागमती प्रदेशलेले ओगटेको छ |पशुपालन क्षेत्रले देशको कुल गार्हस्थ्य उत्पादनमा करिब ११ प्रतिशत रकृषि गार्हस्थ्य उत्पादनमापशुपालन क्षेत्रको योगदान २६.८ प्रतिशत रहेको छ भने कृषि गार्हस्थ्य उत्पादनमा कुखुराको मासुको योगदान १.०९ र अण्डाको ०.८६ गरी पोल्ट्री क्षेत्रको कुल योगदान १.९५ रहेको छ |

आ.व. २०७८/०७९ को आयात निर्यात तथ्यांकलाई हेर्ने हो भने डेनमार्क, स्पेन, अस्ट्रेलिया, चिन जस्ता देशहरुबाट करिब ४ करोड ६३ लाख रुपैयाँ बराबरको मासु (माछा बाहेक अन्य मासु) आयात भएको देखिन्छ भने १ करोड ८० लाख बराबरको निर्यात भएको देखिन्छ | उक्त अनुपात हेर्दा निर्यात भन्दा आयात करिब २.५ गुणा बढी भएको देखिन्छ | त्यस्तै चल्ला तथा चल्ला उत्पादनका लागि अण्डाआयात करिब १ अर्ब १५ करोड करोड भन्दा बढी भएको देखिन्छ | तर निर्यातको अवस्था हेर्दा शुन्य रहेको छ | यस तथ्यांकबाट पनि के प्रस्ट हुन्छ भने नेपालमा पोल्ट्री क्षेत्रको ठुलो सम्भावना रहेको छ र सरोकारवाला सबैको ध्यान जानु जरुरी देखिन्छ र राज्यले आयात घटाउनका साथै रोजगारको सृजना गर्नका लागि विशेष नीति तथा योजना ल्याउन जरुरी देखिन्छ |

पौष्टिक तत्वको हिसावले हेर्दा पोल्ट्रीको मासुमा फ्याट तथा कोलेस्ट्रोलको मात्रा अन्य मासुको भन्दा कम हुने र प्रोटिन, मिनरल, भिटामिन उच्च हुने भएको हुँदा सबै उमेर समूहका मानिसका लागि निकै उपयोगी रहेको मानिन्छ र सबै तहका मानिसहरुबाट यसको माग समेत बढेको पाइन्छ |

निष्कर्ष:

नेपालको अर्थतन्त्रमा ठुलो हिस्सा ओगटेको पोल्ट्री क्षेत्रको हालको अवस्था हेर्ने हो भने उत्पादनका लागि आवश्यक कच्चा पदार्थ तथा चल्लाहरु नेपालमा नगन्ने मात्रामा रहेको र विदेशबाटनै आयात गर्नु पर्ने अवस्था भएको हुँदा चुनौती संग लड्दै स्वदेश मै उत्पादन गर्ने अवस्थाको सृजना गर्न सबै सरोकारवालाहरु जुट्नु जरूरी देखिन्छ | अन्यथा उत्पादन लागत बढ्दै जाने, व्यवस्थित बजार नहुने, माहामारी रोगले खोर खालि हुदै जाने जस्ता अवस्थाको सृजना हुदै जाने हो भने साना तथा मझौला कृषकहरु बिस्ताबित हुनु पर्ने अवस्था नआउला भन्न सकिदैन | यसरी साना तथा मझौला पोल्ट्रीपालक कृषक बिस्ताबित हुँदा त्यसको नकारात्मक असर ठिलो- चाँडो ठुला कृषक तथा व्यवसायीमा पर्ने र मुलुक कै अर्थतन्त्र संकटमा पर्ने अवस्था अवश्यनै आउछ | तसर्थ पोल्ट्री क्षेत्रको दिगोपनाको लागि आ-आफ्नो क्षेत्रबाट जुट्न जरुरी देखिन्छ |

(लेखक: डा. ध्रुब डि.सी. भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चरिकोट, दोलखामा पशु विकास अधिकृत पदमा कार्यरत हुनुहुन्छ।)

Shares

Be the first to comment on "नेपालमा पोल्ट्री व्यवसायमा भएका चुनौती, अवसर तथा सम्भावनाहरु"

Leave a comment

Your email address will not be published.


*