पर्यटक आगमन न्यून हुँदा होटल ब्यावसायी चिन्तित

ताजा समाचारको लागि फलो गर्नुहोस ।

बाबुराम शर्मा, चरिकोट ः पर्यटक आगमन को सिजन सुरु भएपछि पनि आन्तरिक तथा बाह्य पर्यटकको आगमन न्यून हुँदा चरिकोटका होटल ब्यावसायीहरु चिन्तित बनेका छन् । धार्मिक तथा अन्य पर्यटकीय गन्तव्यसमेत रहेको सदरमुकाम चरीकोटमा पर्यटक आगमन करिब शून्य जस्तै भएपछि उनीहरु चिन्तित बनेका हुन् ।
कोरोनाले महामारीका कारण थलिएको चरिकोटको होटल ब्यावसाय अहिले पनि पुरानै लयमा आउन नसकेपछि सुनसान बनेको बताइएको छ । राजधानी काठमाडौँबाट १३३ किलोमिटरको दूरीमा रहेको सदरमुकाम चरिकोट विशेष गरी दोलखा भीमेश्वर, कालिन्चोक, चरिघ्याङ गुम्बा, खप्तड धार्मीक क्षेत्र भीनपा १, सैलुङ, जिरी, हनुमन्तेडाँडा लगायत मुख्य धार्मिक तथा पर्यटकीय स्थलको द्वारको रुपमा रहेको छ । यस्तै माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई जल पर्यटन हबका रूपमा लिएर केही वर्ष अघिसम्म ती गन्तव्य घुम्न आउने पर्यटकको घुइँचो यहाँ थेगिनसक्नु हुन्थ्यो । यही घुइँचोले सदरमुकाम चरिकोटसहित आसपासमा थुप्रै सुविधा सम्पन्न होटेल निर्माण भए । अझ यहाँ बनेका अधिकांश नयाँ घरलाई होटेलका रूपमा पनि प्रयोग गरियो । विशेष गरेर आन्तरिक पर्यटकहरूको रोजाइमा पर्ने दोलखामा पछिल्लो समय पर्यटक चहलपहल भारी कमी आएको चरिकोटका होटल ब्यावसायीहरुको भनाई छ ।
चरिकोटमा सुविधासम्पन्न होटेलको आवश्यकता महसुसगरी चरिकोटमा एक वर्षअघि दुई तारे स्तरको होटेल एम्ब्रोसिया पनि सञ्चालनमा आएको छ । सुविधा सम्पन्न होटेल हुँदाहुँदै पर्यटकको चरिकोट बसाइ भने पातलो हुँदै गएको होटल संचालक दिनेश बस्नेतेको भनाई छ । कतिपय पर्यटक काठमाडौँबाट बिहानै दोलखा भीमेश्वर मन्दिर दर्शन गरी बेलुका फर्कने र कालिन्चोक मन्दिर जाने उतै बस्ने गरेका छन् ।
पछिल्लो समय अरु होटेलभन्दा सुविधा सम्पन्न होटेल खोज्नेको रोजाइमा बस्नेतको होटेल एम्ब्रोसिया पर्न थालेको छ । होटेल सङ्गम प्यालेसका सञ्चालक सुदर्शन कार्कीले पनि पहिलाको दाँजोमा सदरमुकामका होटेलहरू सुस्ताएको बताउनुभयो । पर्यटक आगमन मात्र नभई मुख्य त आर्थिक मन्दीका कारण पनि पर्यटक घटेको उहाँको भनाई रहेको छ । प्रचारप्रसारको कमी र सडकको दुरवस्थाले पनि असर पारेको कार्कीले बताउनु भयो । विभिन्न संघसंस्थाले गर्ने कार्यक्रमहरु घट्नु , स्थानीयतहबाटै सर्वसाधारणका अधिकांस काम हुनु जस्ता कारणले पनि चरिकोटको होटल ब्यावसाय सुस्ताएको होटल ब्यावसायी अर्जुन तिमिल्सीनाको अनुमान छ ।

Shares

Be the first to comment on "पर्यटक आगमन न्यून हुँदा होटल ब्यावसायी चिन्तित"

Leave a comment

Your email address will not be published.


*