बैतेश्वर गाउँपालिकामा पुग्यो विवरण संकलन अभियान

ताजा समाचारको लागि फलो गर्नुहोस ।

ईश्वर विश्वकर्मा
चरिकोट, असार २१
दोलखाको बैतेश्वर गाउँपालिकामा राष्ट्रिय परिचय पत्रका लागि नागरिकको विवरण संकलन सुरु गरिएको छ । पालिकाको ८ वटै वडामा एक–एक वटा दर्ता स्टेसन स्थापना गरी मङ्गलबारदेखि विवरण संकलन कार्य अभियानको रुपमा सुरु गरिएको हो । नागरिकहरूको परिचयपत्र बनाउन जैविक तथा वैयक्तिक विवरण संकलन वडास्तरबाटै सुचारु भएको गाउँपालिकाका प्रवक्ता एवं वडा नंं २ का वडाध्यक्ष श्याम कुमार तामाङले बताउनुभयो । उहाँका अनुसार प्रत्येक वडामा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले विवरण सङ्कलनको लागि स्टेसन स्थापना गरी आवश्यक उपकरणसहित जनशक्ति व्यवस्था तथा परिचालन गरेको छ । त्यसैगरी रुजु गर्न वडा सचिव र फाराम भर्नका लागि सहयोगीको व्यवस्था सम्बन्धित वडाले नै गरेका छन् । नागरिकको सहजता र सुविधाका लागि वडामै राष्ट्रिय परिचयपत्रको पहिलो चरणको काम सुरु भएपछि जनप्रतिनिधिहरू पनि सहजीकरण र सहयोगका लागि उत्साहका साथ सक्रिय भएको प्रवक्ता तामाङले बताउनुभयो । नागरिकको परिचय दिने थुप्रै कागजात तथा परिचय पत्रको काम अहिले बनाउन लागिएको एउटै परिचयपत्रले गर्ने हुँदा नागरिकता प्राप्त नागरिकहरू अभियानमा अनिवार्य रुपमा सहभागी हुन आवश्यक रहेको रहेको छ । प्रवक्ता तामाङले प्रचारप्रसारलाई व्यापक बनाइएको कारण पहिलो दिनबाटै नागरिकहरूको सहभागिता उत्साहजनक रहेको सुनाउनुभयो । उहाँले आफ्नो वडामा भने जनशक्ति, उपकरण सहितको स्टेसन स्थापना भएपनि भोलिबाट मात्र विवरण संकलन गरिने बताउनुभयो । उहाँले नागरिकहरूलाई व्यवस्थित तवरबाट उक्त सेवाका लागि तयारी अपुग देखिएपछि एक दिन पछि हुनुपरेको सुनाउनुभयो । बुधबारदेखि वडा नं. २ मा पनि विवरण संकलन अभियान सुरु हुने छ । पालिकामा सुरु भएको विवरण संकलन अभियान आवश्यकता अनुरूप १५ देखि २० दिनसम्म सञ्चालन हुने प्रवक्ता तामाङले बताउनुभयो । “अहिले विवरण सङ्कलनको काम सुचारु भएको छ । तर राष्ट्रिय पत्र भने कहिले वितरण हुने भन्ने विषयमा स्टेसनमा विभागबाट खटिएका कर्मचारी समेत अनभिज्ञ छन् ।” उहाँले भन्नुभयो “विभागले छपाइको काम सकेपछि परिचयपत्र वितरण गर्ला ।” जिल्ला प्रशासन कार्यलयका अनुसार भीमेश्वर नगरपालिकाका विवरण संकलन अभियान समापन भएपछि बैतेश्वर गाउँपालिकामा अभियान सुचारु गरिएको हो । पालिकामा समापन भएपछि अरु पालिकामा क्रमशः वडास्तरबाटै विवरण संकलन सुरु भई असोज महिना भित्रै जिल्लाका सम्पूर्ण नागरिकको विवरण संकलन गरी सक्ने लक्ष्य लिइएको छ ।

Shares

Be the first to comment on "बैतेश्वर गाउँपालिकामा पुग्यो विवरण संकलन अभियान"

Leave a comment

Your email address will not be published.


*