मनाइयो भीमेश्वर नगरपालिकाको २७ औँ स्थापना दिवस

ताजा समाचारको लागि फलो गर्नुहोस ।

ईश्वर विक
चरिकोट, माघ ११
दोलखाको भीमेश्वर नगरपालिकाको २७ औं स्थापना दिवस उत्सवको रुपमा मनाइएको छ । २०५३ सालमा स्थापना भएको सो नगरपालिकाले बुधबार २७ औँ स्थापना दिवस एक समारोहको आयोजना गरी मनाएको हो ।
नगर प्रमुख ईश्वरनारायण मानन्धरको सभाध्यक्षतामा भएको दिवस समारोहको उद्घाटन बागमती प्रदेश सांसद भरत केसीले गर्नु भएको थियो । सो अवसरमा उहाँले नगरपालिकाको समृद्धिका लागि जनप्रतिनिधिको सक्रियता, कर्मचारीको मिहिनेत र नगरवासीको सहयोग अपरिहार्य रहेको उल्लेख गर्नु भयो । सांसद केसीले आफू नगरपालिकाको मेयर हुँदा जनताको मन जित्ने काम गरेकोले सांसद बन्न सफल भएको बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा नगरमा सुरु गरिएका योजनाहरुको पूर्णता दिइनु पर्ने बताउनु भयो । उहाँले भीमेश्वर नगरपालिकासहित सिंगो जिल्लाको समृद्धिका लागि आफ्नो तर्फबाट काम गर्ने समारोहमा प्रतिवद्धता जनाउनु भएको थियो ।
समारोहमा नगरप्रमुख मानन्धरले स्रोतसाधनको सही परिचालन गर्दै समृद्धिको लक्ष्य भेट्न आफ्नो टिम अघि बढेको बताउनु भयो । उहाँले कृषि, पशुपालन, उद्योग र पर्यटनबाट नगरपालिकाको समृद्धिको सपना साकार हुने उल्लेख गर्नु भयो । अघिल्लो कार्यकालमा सुरु भएका योजनालाई पूर्णता दिदैँ नयाँ योजनाहरुलाई सुरुवात गर्ने उहाँको भनाई थियो । नगरउपप्रमुख कमला बस्नेतले स्वास्थ्य, शिक्षा, सडक पुर्वाधार निर्माणको कार्यलाई तीब्र पारिएको बताउनु भयो । भौतिक पूर्वाधारको क्षेत्रलाई मात्र नभई लक्षित वर्गको उत्थान र शसक्तिकरणको निम्ति नगरले अनुकरणीय नमुना योग्य कार्य भईरहेको उहाँको भनाई थियो । नगरपालिकाको स्थापना दिवसमा चार जना उत्कृष्ट कर्मचारी सम्मानित भएका छन् । समारोहमा प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
वि.सं. २०५३ सालमा तत्कालिन चरिकोट, माटी, दोलखा र मकैबारी गाविसहरू समावेस गरेर भीमेश्वर नगरपालिकाको स्थापना भएको हो । वि.सं. २०७३ सालमा पुनः साविकको सुष्पाक्षमावती, बोच र लाकुरीडाँडा गाविसहरू थप गरी हालको भीमेश्वर नगरपालिका संघीय स्वरूपमा पुनर्संरचना एवम् पुनर्गठन गरिएको हो । यस नगरपालिकामा ९ वटा वडाहरू रहेका छन् । आफ्नो मूर्तिमा पसिना उत्पन्न गरेर देशमा प्राकृतिक हलचल, अनिष्ट र राजनीतिक परिवर्तनको पूर्वसूचना दिने सहस्र अवतारको देवताका रूपमा परिचित भीमेश्वरको नामबाट यस नगरपालिकाको नामकरण गरिएको हो ।

Shares

Be the first to comment on "मनाइयो भीमेश्वर नगरपालिकाको २७ औँ स्थापना दिवस"

Leave a comment

Your email address will not be published.


*