मुडे–चरिकोट सडकमा कालोपत्रेको काम अन्तिम चरणमा

ताजा समाचारको लागि फलो गर्नुहोस ।

ईश्वर बिश्वकर्मा
चरिकोट, जेठ १०
दोलखालाई देशको राजधानी काठमाडौं सम्म जोड्ने ’लाइफलाइन’ मुडे–चरिकोट सडक खण्डमा कालोपत्रे गर्ने कार्य जारी छ । लामसाँघु–जिरी सडक खण्ड अन्तर्गत ३० किलोमिटर मुडे–चरिकोट सडकमा कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ ।
सडक निर्माण आयोजनाका निमित्त योजना प्रमुख ईश्वर कार्कीका अनुसार ९२ प्रतिशत काम सम्पन्न भएको हो । २७ किलोमिटर सडक कालोपत्र भएर बाँकी तीन किलोमिटर पनि जेठ भित्रै सक्काउने लक्ष्यका साथ निर्माण कम्पनीले काम गरिरहेको छ ।
यसअघि हिलाम्मे र धुलाम्मे सडकमा शास्तीपूर्ण यात्रा गर्न बाध्य यात्रुहरु सडक कालोपत्रेसँगै सहज यात्रा हुन थालेपछि खुशी भएका छन् । अहिले यात्रा समय छोटिएको छ । दिक्कलाग्दो यात्रा गर्नु पर्ने समस्या हटेको छ । सवारी दुर्घटनाको जोखिम कम हुने भएको छ। ढुवानी भाडा र दैनिक उपभोग्य वस्तुको मूल्य घट्ने अनुमान गरिएको छ । पर्यटकीय गतिविधि चलायमान हुने र आर्थिक समृद्दिमा टेवा पुग्ने छ ।
सडक खन्नु एउटा विकास हो, भने सो सडकको कालोपत्रे हुनु सुखद पक्ष हो । यसबाट बहुआयामिक फाइदा लिन सकिन्छ। त्यही फाइदा लिने प्रतीक्षामा बर्षौं सम्म रहेका दोलखाका नागरिकको प्रतिक्षाको समय पूरा हुन लागेको छ ।
नेपालको शंकरमाली, सुनौलो खिम्ति जेभी र भारतको सकिल हैदर निर्माण कम्पनीले २०७२ मा सडक कालोपत्र सहित स्तरोन्नतिको कार्य दुई वर्ष भित्र सम्पन्न गर्ने गरी ठेक्का पाएको थियो । तर सम्झौता बमोजिम निर्धारित अवधिमा काम सम्पन्न नगरेको निर्माण कम्पनीले चरम लापरबाही र ढिलासुस्ति गरी सात वर्ष सम्म सडकको काम अलपत्र पारेको थियो । अलपत्र सडकमा शास्तीपूर्ण यात्रा गर्न बाध्य दोलखाका नागरिकले सडक निर्माणको माग राखेर निरन्तर खबरदारी र पटकपटक आन्दोलन गरेपछि सरकारले कारबाही प्रक्रिया अघि बढाएको थियो ।
ठेक्का सम्झौता खारेज सहित कालो सूचीसहितको कारबाही प्रक्रिया अन्तिम चरणमा पुगेको थाहा पाएपछि कारबाहीबाट जोगिन सुनौला खिम्ति निर्माण कम्पनीका प्रतिनिधिले आफै सडकमा उत्रिएर मजदुर र मेशिन परिचालन गरी कामलाई निरन्तरता दिएको थियो । गत वर्षको माघदेखि कालोपत्रे कार्य सुरु गरेको निर्माण कम्पनीले अहिले कालोपत्रेको काम अन्तिम चरणमा पु¥याएको हो।
कारबाही हुने थाहा पाएपछि सुनौला खिम्ति जेभिले पुसदेखि नै कालोत्रेको लागि पूर्वाधार तयार पारिसकेको थियो । माघदेखि सवारी साधनको आवागमनलाई व्यवस्थित गरी दुबै तर्फबाट कालोपत्रेलाई तीव्रता दिएको थियो । तर चिसो, वर्षा र हिमपातका कारण कालोपत्रेको कार्य पटकपटक प्रभावित भएको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसहितको टोलीले अनुगमन र निरीक्षण पछि जेठ सम्मको म्याद थप गरिएको थियो । सोही अनुसार निर्धारित अवधिमा काम सक्ने निर्माण कम्पनीले जनाएको छ । “अहिले कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ । सबै काम यो महिनाभित्रै सम्पन्न भई ठेकेदार फर्किने तयारीका साथ कामलाई तीव्रता दिएको छ । मौसम प्रतिकुल नभए निर्धारित अवधिमा काम सक्ने निर्माण कम्पनीले प्रतिबद्धता जनाएको छ । त्यसो नभए म्याद थप हुने छ ।” आयोजनाका निमित्त योजना प्रमुख कार्कीले सुनाउनुभयो । “निर्माण कम्पनीले हतारहतारमा काम गरेको छैन । तर गुणस्तरीयता कायम राख्दै कामलाई तीव्रता भने दिएको हो । आयोजनाका प्राविधिकहरुले बेलाबेलामा अनुगमन तथा निरीक्षण गरिरहेका छन् ।” उहाँले भन्नुभयो ।
दुई लेनको मुडे–चरिकोट सडकमा डिबीएसटी प्रविधिको कालोपत्रे गरिएको हो । सबवेस र बेस बीस सेन्टिरमिटर रहेको छ भने त्यसमाथी सर्भेस ड्रेसिङ स्टोरेट पीच गरिएको निमित्त योजना प्रमुख कार्कीले बताउनुभयो । लामोसाँघु—जिरी सडक करिब ३० वर्षअघि स्वीस सरकारको सहयोगमा निर्माण भएको थियो । उक्त सडक सात वर्षखघि भारतीय एक्जिम बैंकको सहयोगमा तीन खण्डमा विभाजन गरी पुनः स्तररोन्ती गर्न थालिएको थियो । तर मुडे–चरिकोट खण्ड भने बल्ल सम्पन्न हुन लागेको हो ।

Shares

Be the first to comment on "मुडे–चरिकोट सडकमा कालोपत्रेको काम अन्तिम चरणमा"

Leave a comment

Your email address will not be published.


*