रेडक्रस दोलखाको ४० औँ जिल्ला सभा सम्पन्न

ताजा समाचारको लागि फलो गर्नुहोस ।

राजकुमार भुजेल
चरिकोट, असार २५
प्राकृतिक प्रकोप पीडितलाई राहत वितरण र रक्तसञ्चारको सेवा प्रवाह गर्ने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाको ४० औँ जिल्ला सभा सम्पन्न भएको छ । जिल्ला सदरमुकाम चरिकोटमा शनिबार आयोजित सभामा नागरिकको आशा र भरोसाको केन्द्र मानवतावादी संस्था रेडक्रसको क्रियाशीलता र योगदानको प्रशंसा गरिएको छ । सभाको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख बर्जुराम घतानीले रेडक्रसले आफ्ना सिद्धान्त र मूल्य मान्यताबाट कुनै पनि समयमा विचलित नभई निरन्तर मानव हित र पक्षमा काम गर्नुपर्ने उल्लेख गर्नुभयो । परोपकारी र मानवतावादी संस्थाको पहिचान प्राप्त रेडक्रस विपद्को घटना र रगत अभावको बेला नागरिकको साथमा रहने गर्छ । त्यो साथलाई स्थानीय सरकार तथा अन्य संस्थाको समन्वय र सहकार्यमा निरन्तरता दिदैं थप प्रभावकारी बनाउन आवश्यक रहेको उहाँको जोड थियो ।
सभामा रेडक्रस दोलखाका मन्त्री सृजना सुवेदीले रेडक्रसलाई नागरिकको भरोसा र आशाको केन्द्र बनाउन जिल्ला कार्य समिति, कर्मचारी, उपशाखाका पदाधिकारी एवं सदस्यहरू सक्रियता पूर्वक भूमिका निर्वाह गरिरहेको बताउँदै वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रस्तुत प्रतिवेदनमा २०७७÷०७८ मा अग्नि, पहिरो र अन्य विपदबाट प्रभावित ६ सय ८७ घरपरिवार र ०७८÷७९ मा ५ सय ६९ घरपरिवारलाई अखाद्य राहत सामाग्री वितरण गरिएको उल्लेख छ । त्यसैगरी २०७७ माघदेखि २०७९ जेष्ठ मसान्त सम्म ८ सय ७२ पिन्त रगत संकलन भएकोमा २ सय ४८ दोलखामै खपत भएको र मापदण्ड नपुगेको र म्याद सकिएको २ सय २४ पिन्त रगत नष्ट गरिएको र बाँकी रगत भक्तपुर पठाइएको प्रतिवेदन रहेको छ । मन्त्री सुवेदीले आर्थिक वर्ष २०७९÷०८० मा सञ्चालन गरिने प्रस्तावित कार्यक्रम प्रस्तुत गर्नुहुँदै पुँजीगत र चालुतर्फको कार्यक्रम बारे जानकारी दिनुभयो । जसअन्तर्गत जिरी अस्पतालमा रक्तसञ्चार केन्द्रको स्थापना, उपशाखाको भवन निर्माण सहयोग लगायतका नियमित कार्यहरूलाई निरन्तरता दिइने बताइएको छ ।

सभामा राधा देवी मास्केले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सभामा भीमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वर नारायण मानन्धरले  रेडक्रसको सेवाले पीडित नागरिक लाभान्वित हुँदा उनीहरूको हृदय खुशी हुने गरेको र यसरी नै खुशी बनाइराख्न अनुरोध गर्नुभयो । सभामा जिरी नगरपालिकाका प्रमुख मित्र जिरेलले निष्पक्षता, पारदर्शिता र सुशासनलाई कायम राख्दै रेडक्रसको सेवालाई जनस्तरसम्म उद्धेश्य अनुरुप लैजानुपर्ने बताउनुभयो । उहाँले रेडक्रसको गतिविधि तथा कार्यक्रमरु सञ्चालनका लागि नगरका तर्फबाट सहयोग गरिने उल्लेख गर्नुभयो । सभामा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाका सभापति गोकर्ण प्रसाद पोखरेलले रेडक्रसको सिद्धान्त र नियम अनुसारको जिम्मेवारी पूरा गरिरहेको सुनाउँदै थप क्रियाशिल भएर काम गर्ने बताउनुभयो । सभामा राखिएका सुझावलाई आत्मसाथ गर्दै स्थानीय तहसँग हातेमालो गरी कार्यक्रमहरु सञ्चालन गरिने उहाँको भनाई थियो । सभामा जनताको सेवक बनेर जिम्मेवारीलाई पूरा गर्न अनुरोध सहित जिल्लाका नौ वटै पालिका प्रमुख र उपप्रमुखलाई प्रमाणपत्र सहित खादा लगाएर सम्मान गरिएको छ । सम्मानित जनप्रतिनिधिहरुले रेडक्रसलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।  

Shares

Be the first to comment on "रेडक्रस दोलखाको ४० औँ जिल्ला सभा सम्पन्न"

Leave a comment

Your email address will not be published.


*