रेबिज नियन्त्रण कार्यक्रम सञ्चालन गर्दै मेलुङ

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, माघ १८
दोलखाको मेलुङ गाउँपालिकाले रेबिज रोग नियन्त्रणका लागि कुकुर बिरालोलाई रोग विरुद्धको खोप लगाइदिने भएको छ । समुदायमा कुकुरको संख्या बढ्दै गएकाले सम्भावित दुर्घटनाबाट बच्नका लागि पालिकाले रेबिजविरुद्धको कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जय शिवाकोटीले रेबिज रोग नियन्त्रण कार्यक्रम अन्तर्गत २२ देखि २८ गतेसम्म कुकुर र बिरालोलाई खोप कार्यक्रम सञ्चालन गर्न लागिएको बताउनु भयो । रेबिज विरुद्ध खोप नलगाएका कुकुर वा बिरालोले मानिस तथा अन्य पशुचौपायलाई टोकेमा रेबिज लाग्ने भएकोले त्यसबाट जोगिन खोप कार्यक्रम आयोजना गरिन लागिएको उहाँले उल्लेख गर्नु भयो ।
उहाँका अनुसार खोप कार्यक्रम सातै वडामा फरकफरक समयमा आयोजना हुने छ । २२ गते वडा नं. १ को वडा कार्यालय, भंगेरी मावि, दोबाटो पाटछी र सिम्टे प्राविको प्राङगण, २३ गते वडा नं. २ को कार्यालय र ढलेवर, २४ गते वडा नं. ३ को माने भूमेमस्थान मावि र लक्ष्मी मावि, २५ गते वडा नं. ४ को लामाटार र पालिकाको पशुपन्छी विकास शाखामा खोप कार्यक्रम सञ्चालन हुने छ ।
यस्तै, २६ गते वडा नं. ५ को भित्री र कातिके, सुँगुरे र डाँडाखर्क वडा कार्यालय, २८ गते वडा नं. ६ को निगासी प्रावि र मेलुङ सेवा केन्द्र र २८ गते वडा नं. ७ को कर्णकाली प्रावि रविरौटा आनादी मावि र सितली जिरो किलो र सेतिदेवी प्रावि जोगी गाउँमा कार्यक्रम आयोजना हुने प्रमुख प्रसाशकीय अधिकृत शिवाकोटीले बताउनु भयो । पायक पर्ने स्थानमा आयोजित कार्यक्रममा ल्याएर आफ्ना कुकुर र बिरालोलाई रेबिज बिरुद्धको खोप लगाई सुरक्षित हुनको लागि उहाँले अनुरोध गर्नु भएको छ । गत वर्षहरुमा रेबिजका कारण ज्यानै जाने घटना समेत भएकोले सतर्कता स्वरुप खोप कार्यक्रम सञ्चालन हुने भएकोले आफ्ना कुकुर र बिरालोलाई खोप लगाएर रेबिज रोग नियन्त्रण अभियान सघाउन पालिकावासीलाई उहाँको आग्रह छ । रेबिज रोग लागेको कुकुर, बिरालो, स्याल लगायतका पशुको टोकाईबाट मानिसमा वा अन्य स्तनधारी प्राणीमा रेबिज रोग सर्दछ । कुकुर र बिरालो मानिसले आफूसँगै पाल्नुका साथै समुदायस्तरमा यसको बिगबिगी छ । जसले गर्दा रेबिजको खतरा रहेको कुरालाई दृष्टिगत गर्दै कुकुर र बिरालोलाई शिविर आयोजना गरी रेबिज विरुद्धको खोप दिन लागिएको पालिकाले जनाएको छ ।

Shares

Be the first to comment on "रेबिज नियन्त्रण कार्यक्रम सञ्चालन गर्दै मेलुङ"

Leave a comment

Your email address will not be published.


*