लाेप हुँदै जाँताे

ताजा समाचारको लागि फलो गर्नुहोस ।

इश्वर बिश्वकर्मा
चरिकोट, बैशाख ७
विद्युत विस्तार भएसँगै आधुनिक कुटानी पिसानी मिल स्थापना हुन थाले । तर पनि गाउँघरमा जाँतोमा मकै, कोदो, गहुँ पिस्ने परम्परा कायमै थियो । गाउँबस्तीमा फाट्टफुट्ट स्थापित विद्युतीय मिल भन्दा गाउँलेहरूलाई आफ्नै घरको जाँतो प्यारो लाग्थ्यो । किनकी पुर्खा देखिको नाता गाउँको परम्परागत प्रविधि जाँतो र हाँतोसँग थियो । त्यसैले पनि गाउँमा सबैको घरघरमा त्यो प्रविधि अनिवार्य स्थापना गरिएका हुन्थे । अनि त्यसको प्रयोग गरी अन्नलाई पिसेर पिठो उत्पादन गरिन्थ्यो । गाउँगाउँमा बिहान र बेलुका घ्वारघ्वार आवाज आउने गरी जाँतो घुमाइन्थे । जाँतो घुमाउने प्रायः महिला हुन्थे । तर अहिले महिलाले न जाँतो घुमाउनु पर्छ, न त ढिकी कुट्ने मुस्ली नै उचाल्नु पर्छ । शैलुङ गाउँपालिका वडा नं. ८ पाँडेखानीकी शान्ति लगुनले २०७२ पूर्व ढिकी जाँतो गर्नुहुन्थ्यो । धान कुट्न र मकै पिस्न परे ढिकी जाँतोमा बिहानबेलुका उहाँको अधिकांश समय बित्थ्यो । मिहिनेत गरी पिसिएको पिठो र उत्पादित चामलको परिकार स्वादिष्ट हुन्थे । तर २०७२ सालयता उहाँले ढिकी जाँतो गर्नु परेको छैन । त्यो सालमा विनासकारी भूकम्प आयो । अनि पुराना घर सँगसँगै ढिकी जाँतो पनि लग्यो। नयाँ घर ठडिए तर ती घरमा कसैले पनि ढिकी जाँतो स्थापना गरेनन् । जसले गर्दा अहिले ढिकी जाँतो लोप भएको छ । उहाँले भन्नुयो “ भूकम्पयता मैँले जाँतो घुमाउनुपरेको छैन । पहिलेको जाँतो भूकम्पले लगिहाल्यो । छिमेकीले मिल स्थापना गरेका छन् । अहिले त्यहीँ कुटानी पिसानीको काम गरिन्छ।”
अहिले नयाँनयाँ प्रविधि र औजार विकास भइरहेको छ । त्यसको प्रयोग गरेमा सहजता मिल्छ। त्यहि सहजता र सुविधा खोज्दा मानिसले पराम्परागत प्रविधि छोड्ने र नयाँ प्रविधि अँगाल्ने क्रम बढेको उहाँले सुनाउनुभयो। उहाँलाई ढिकी जाँतो गर्न छाडेपनि उबेलाको सम्झना अहिले आइरहन्छ । जाँतोमा पिँधेको पिठोबाट बनेको परिकारको स्वाद ताजै छन् । उहाँले भन्नुभयो “पुर्खाहरुले बनाएको पराम्परागत, ऐतिहासिक र मौलिक प्रविधिहरु आधुनिक प्रविधिको विकास र विस्तारले विस्थापित गरिरहेको थियो । भूकम्पले विस्थापनमा सहयोग गर्यो । अब चाहेर पनि त्यसको प्रयोग गर्न नसकिने अवस्था छ । किनकी त्यसको सट्टामा सहज हुने विद्युतीय मिल स्थापना भएका छन् ।“ उहाँले विकास र सुविधा विस्तारको क्रममा सहज र छिटो हुने प्रविधिका कारण ग्रामीण पहिचान र संस्कृति झल्काउने ढिकी जाँतो लोप भएको सुनाउनुभयो।
अहिले विद्युतीय मिलको बाहेक अन्य विकल्प छैन । किनकी अहिले हिजोको जस्तो घरघरमा जाँतो, ढिकी छैन। अहिले ढिकीजाँतो विस्थापित भएर एकादेशको कथा बन्न पुगेको छ । गाउँमा विद्युतको विस्तार भएसँगै मिल स्थापना हुँदा जाँतो, ढिकी प्रयोग गर्नेको संख्या घट्दै गइरहेको झमक बहादुर खत्रीले बताउनुभयो । भीमेश्वर नगरपालिका वडा नं. ९ लाकुरीडाँडा पिंडालबारीका खत्रीले आफ्नो घरमा भने जाँतो अझै पनि रहेको तर त्यसको प्रयोग कम हुने र मिलको प्रयोग बढी हुने गरेको सुनाउनुहुन्छ । “हामीले उबेला विकल्प नहुँदा ढिकी जाँतो प्रयोग गर्यौं । प्रविधिको विकास नभएको भए अहिले हाम्रो सन्तानले पनि त्यसैमा घोटिएर बस्नुपर्ने हुन्थ्यो ।“ उहाँले भन्नुभयो“ तर अवस्था त्यस्तो छैन । प्रविधिको विकाससँगै ग्रामीण क्षेत्रमा समेत विद्युत र प्रविधिको विस्तार हुँदा जीवन परिवर्तन हुँदै गएको छ । ग्रामीण क्षेत्र सहरीकरण र आधुनिकरण हुन थालेको छ । “भीमेश्वर नगरपालिका वडा नं. ३ देउराली गाउँका लोकराज अधिकारीलाई आफू सानो छँदा आमा र दिदीहरुले जाँतोमा पिठो पिसेको र ढिकीमा धान कुटेको अहिले पनि सम्झना आउँछ। अहिले त्यो ढिकी जाँतो छैन । भूकम्पले घरसँगै लग्यो । उहाँले भन्नुभयो“त्यो बेला आमादिदीहरुले जाँतो चलाउँदा म पनि छेउमा बसेर जाँतो घुमाउन खोज्थेँ । तर उहाँहरुले नसक्ने भनेर छुन दिन हुँदैनथ्यो । बढो रमाइलो लाग्थ्यो । आमादिदीले बेलाबेलामा त्यसमा पिठो पिस्नुहुन्थ्यो । तर अहिले त्यस्तो हुँदैन । अहिले त मिलमा गइन्छ । धान कुटेर चामल ल्याइन्छ । अन्न पिसेर पिठो बनाइन्छ । जसले आमादिदीलाई ढिकीजाँतोको दुखबाट मुक्ति मिलेको छ ।” पुर्खौंदेखि चलिआएको दुई ढुँगाबाट स्थापित जाँतो भन्दा कुटानी पिसानीका लागि आधुनिक मिलको उपयोग गरिनु समयसापेक्ष हुन्छ । आधुनिक कुटानी पिसानी मिलले समय र श्रमको बचत हुने भएकोले ढिकी जाँतो आफैँ विस्थापित हुन थालेको थियो । तर भूकम्प आएपछि त्यसको अस्तित्व नै नामेट भएको अधिकारी बताउनुहुन्छ । आधुनिक प्रविधिको जमानामा पुरानै प्रविधिको प्रयोग गरिनु उपयुक्त हुदैन । समयसँगै अघि बढ्न जानेमा जीवनलाई सहजता र सुख मिल्छ । तर उहाँ उबेला उपयोगी र सहयोगी बनेको प्रविधिलाई उपेक्षा गरेर अस्तित्व नै समाप्त पार्न नहुने बताउनुहुन्छ। ती प्रविधिको आविष्कार गर्न पुर्खाले गरेको अनुसन्धान र मिहिनेतको सम्मान र ग्रामीण जीवनको इतिहासको दस्तावेजको लागि पनि पूराना प्रविधिहरुको जानकारी नयाँ पुस्तालाई दिइनुपर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो “कसैले पुर्खाहरुको प्रविधि कस्तो हुन्थ्यो भनेर हेर्न चाहेको खण्डमा देखाउनकै लागि भएपनि ढिकीजाँतो लगायतका प्राचीन प्रविधिसहितको संग्रहालय नै निर्माण गर्नु अपरिहार्य देखिएको छ।”
घरेलु विकास तथा साना उद्योग कार्यालय दोलखाका प्रमुख मीनबहादुर तामाङले अन्न प्रशोधनका लागि सहज हुने भन्दै कुटानीपिसानी उद्योग दर्ता गर्ने क्रम बढेको बताउनुभयो । उहाँले भन्नुभयो” गाउँगाउँमा विद्युत विस्तार भएको र विद्युत पनि सस्तो भएकोले कुटानीपिसानी मील उद्योग सञ्चालनका लागि घरेलुमा दर्ता गर्न आउनेहरु बढेका छन्। मील सञ्चालन हुनु राम्रो पक्ष हो । जसले अन्न प्रशोधन गरी ग्रामीण क्षेत्रको जनजीवनमा सहजता ल्याउन भूमिका निर्वाह गरेको छ ।“ विद्युत पहुँचको विस्तार र गाउँको आवश्यकताले गर्दा कुटानी पिसानी मिल दर्ता हुने गरेको छ । जसले गर्दा पराम्परागत जाँतो, ढिकी र पानीघट्ट लगायतका प्रविधिहरुको प्रयोग घट्दो छ ।“अझै पनि कतिपय विकट ग्रामिण बस्तीमा यी प्रविधिहरुको प्रयोग कायमै रहेको छ । ” उहाँले भन्नुभयो । प्रविधिले फड्को मारिरहेको बेला पूराना र अपग्रेड नभएका प्रविधि विस्थापन हुँदा कुनै समस्या नपर्ने उहाँले बताउनुभयो ।

Shares

Be the first to comment on "लाेप हुँदै जाँताे"

Leave a comment

Your email address will not be published.


*