सभाहल निर्माणको काम पुनः सुरु

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, फागुन ७
दोलखाको सदरमुकाम चरिकोटमा अलपत्र परेको सभाहल भवनको निर्माण कार्य पुनः सुरु भएको छ । आधा काम सकेपछि निर्माण कम्पनीले ९ बर्ष सम्म अलपत्र पारेको सभाहल निर्माण कार्यलाई पुनः निरन्तरता दिएको हो ।
ठेक्का पाएको रौताहा, ओमबुद्ध, सुन्दरीमाई जेवी कम्पनीले भवन निर्माण अपुरो छाडेर अलपत्र पारेपछि कारबाहीको प्रक्रिया अघि बढाइएको थियो । कारबाहीबाट बच्न माघ १५ गतेदेखि निर्माण कम्पनी काममा फर्किएको बताइएको छ । भुकम्प, नाकाबन्दी र लकडाउनका कारण सम्झौता अवधिमा भवनले पूर्णता पाउन नसकेको जनाउँदै निर्माण कम्पनीले आगामी चैत्रसम्ममा सम्पूर्ण काम सकेर हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
हाल सभाहल भवनको भौतिक प्रगति ६० प्रतिशत भएको छ । बाँकी ४० प्रतिशत सम्पन्न गर्न निर्माण कम्पनीले कामलाई निरन्तरता दिन सुरु गरेको सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापले जनाएको छ । हाल भवनको माथिल्लो तल्लाको काम भइरहेको छ । आयोजनाका इन्जिनियर अनुज पण्डितले पटकपटक म्याद थप गरेपनि भवन निर्माण सम्पन्न नभएपछि ठेक्का तोड्ने प्रक्रिया सुरु भएकै बेला कम्पनीले कामलाई निरन्तरता दिएको बताउनुभयो । तत्कालिन जिल्ला विकास समितिले जग्गा उपलब्ध गराएपछि सघन सहरी तथा भवन निर्माण आयोजनामार्फत २०७० मा एक बर्ष भित्र सक्ने गरी सभाहल निर्माण सुरु भएको थियो । तर कम्पनीले दुई तल्ला ढलान गरेर छाड्दा भवन अलपत्र परेको थियो । आयोजना र निर्माण कम्पनीबीच एक करोड ७९ लाख २६ हजार ४ सय २५ रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको थियो । हालसम्म एक करोड ४८ लाख भुक्तानी भइसकेको आयोजनाका इन्जिनियर पण्डितले बताउनु भयो । निर्माण कम्पनीका ठेकेदार धीरेन्द्र दाहालले भवन चैत्र १५ गतेभित्रै भवन निर्माण सम्पन्न गर्ने बताउनु भयो । सभाहल भवन आधा निर्माण गरेर अलपत्र छाड्दा भवनमै झारपात पलाउनुका साथै डन्डीहरु खिइन थालेका थिए ।

Shares

Be the first to comment on "सभाहल निर्माणको काम पुनः सुरु"

Leave a comment

Your email address will not be published.


*