सुशासनको प्रबर्द्धनमा सहकारी संस्थाको सञ्चालन र ब्यवस्थापन कार्यशाला सम्पन्न

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दोलखाको सदरमुकाम चरिकोटमा सुशासनको प्रबर्द्धनमा सहकारी संस्थाको सञ्चालन र ब्यवस्थापन विषयक दुई दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । सहकारीमा समस्या आउनै नदिन र समस्याग्रस्त सहकारीको समस्या समाधान गर्ने उद्धेश्यले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कार्यशाला आयोजना गरेको हो । समापन समारोहमा जिल्ला समन्वय समितिका प्रमुख बर्जुराम घतानीले सहकारीहरु नीति, सिद्धान्त र स्वनियममा सञ्चालन भए समस्याहरु नआउने बताउनुभयो । उहाँले च्याउसरी खोलीएका सहकारीहरुको अनुगमन र नियमन जरुरी रहेको बताउनुभयो। सहकारी सुरु गर्ने तर व्यवस्थापन र सञ्चालन फितलो हुँदा सहकारीको विश्वास घट्ने उहाँले उल्लेख गर्नुभयो। सेयर सदस्यहरुलाई व्यवसायिक बनाउन सहकारीले काम गर्नुपर्नेमा जोड दिनु भयो । भिमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेतले सुचकहरुमा उत्कृष्टता प्राप्त गर्न सहकारीहरुले सुशासन कायम गर्नुपर्ने बताउनुभयो। उहाँले नियामक निकायहरूले सहकारी अनुगमनलाई चुस्त र प्रभावकारी बनाउन सके सहकारीमा अनियमितता र गडबडी नहुने उल्लेख गर्नु भयो। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका संयोजक काशीराज दाहालले सहकारीले जिम्मेवारी, उत्तरदायी र जवाफदेही भएर समुदायको सेवा गर्नुपर्ने बताउनुभयो। उहाँले सहकारीहरु सुशासनको कसीमा बाँधिए मात्र समस्याको चंगुलमा नफस्ने उल्लेख गर्नुभयो। आवश्यक रणनीति बनाएर समितिले समस्याग्रस्त सहकारीको समस्या समाधान गर्ने प्रयास गरिरहेको उहाँको भनाइ थियो। सहकारीको गरिमा र विश्वासनियता कायम गर्न सुशासन अपरिहार्य रहेको उल्लेख गर्नुभयो। सहकारीको सुशासन कायम गर्न र आवस्यक अनुगमन तथा संस्थाहरूको समस्या समाधानका लागि संघ ले आफ्नो अभिभावकत्व निर्वाह गरिरहेको जिल्ला सहकारी संघ लि. दोलखाका अध्यक्ष हेमन्त चौलागाईंले बताउनुभयो। कार्यशालामा दोलखा, रामेछाप र सिन्धुपाल्चोकका सहकारी संघ/संस्थाका प्रतिनिधि र कर्मचारीको सहभागिता थियो। कार्यशालामा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका संयोजक काशीराज दहाल, समितिका सदस्यहरू डी.बी बस्नेत र केशब प्रसाद पौडेल, भीमेश्वर नगरपालिका का कार्यकारी प्रमुख शिशिर पौडेल, नेफ्स्कुनका बरिष्ठ अधिकृत नविनराज दहाल, मिलिजुली कालिञ्चोक साकोसका कार्यकारी प्रमुख ईश्वर न्यौपाने, जनसचेतन साकोसका कार्यकारी प्रमुख नबराज दहाल लगायतले सहजीकरण गर्नु भएको थियो ।

Shares

Be the first to comment on "सुशासनको प्रबर्द्धनमा सहकारी संस्थाको सञ्चालन र ब्यवस्थापन कार्यशाला सम्पन्न"

Leave a comment

Your email address will not be published.


*