होलीमा रंगिए, रमाए दोलखाली

चरीकाेटमा अायाेजित सांगीतिक कार्यक्रम तस्बिरः हिल स्टेशन दाेलखा

ताजा समाचारको लागि फलो गर्नुहोस ।

राजकुमार भुजेल
चरिकोट, चैत ४
ठूलो आवाजमा गीत घन्किरहेको थियो, विभिन्न किसिमको रंगले रंगिएका युवायुवती गीतको तालमा आआफ्नै शैलीमा नाच्दै थिए । एकापासमा शुभकामना आदानप्रदान गरी रंग दल्दै रमाउदैँ थिए । दोलखाको सदरमुकाम चरीकोट बीचबजारमा होली पर्वको अवसरमा आयोजित सांगीतिक कार्यक्रममा देखिएको रमाइलो दृश्य हो यो । रंगको पर्व होलीको दिन यसरी नै चरीकोट बजार वर्षेनी रंगहरुले रंगिन्छ, गीतहरु घन्किन्छ अनि कम्मरहरु मर्किन्छन् । वसन्त ऋतुको सुरुवातसँगै होलीले हर्ष बोकेर आउँछ । गत दुई वर्षमा कोरोना व्याप भएकोले होलीले हर्ष र उमङ्ग दिएन । तर यो वर्ष कोरोना घटेपछि होली दोलखाका हर्षाेल्लास साथ मनाइएको छ । चरीकोट बीच बजारमा सरल नेपालले आयोजना गरेको सांगीतिक कार्यक्रमले युवायुवतीलाई झुमायो, नचायो र मोटरसाइकल ढिलो गुडाउने प्रतियोगिताले होली थप रोचक बनायो ।

माेटरसाइकल ढिलाे गुडाइदैँ
तस्बिरः इश्वर बिश्वकर्मा

सरल नेपालका अध्यक्ष सौगात थापाले कोरोनाको कारण दुई वर्ष कार्यक्रम गर्न सम्भव नभएको र तर अहिले कोरोना घटेकोले होलीलाई हर्षोल्लासका साथ मनाउन कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । चरीकोट मात्र होइन जिल्लाका जिरी, मैनापोखरी, सिंगटी लगायतका बजारका सडकमा बिहानैदेखि होलि खेल्नेहरुको चहलपहल देखिएको थियो । विभिन्न स्थानमा सांगेतिक कार्यक्रम आयोजना गरिएको थियो । एकअर्कालाई विभिन्न प्रकारका रङ्गहरू दलि माया तथा खुसी साटासाट गरिएको थियो । होलीमा चरीकोट बजार आउनुभएकी सविता पाठकले संस्कृतिको संरक्षण गर्ने र साथीहरुसँगको सम्बन्ध प्रगाढ बनाउन साथीहरुमाझ होली मनाउन पाउँदा अत्यन्तै रमाइलो लागेको सुनाउनुभयो । उहाँले भन्नुभयो “गएका दुई वर्षमा मन हुँदाहुँदै पनि कोरोनाका कारण साथीहरुसँग भेला भएर होली खेल्न नपाउँदा खल्लो लागेको थियो । ती वर्षहरुका होली घरमै सीमित भएका थिए । कतै संस्कृति नै बिर्सने पो होकी भन्न चिन्ता थियो । त्यो बेला होली सहित अन्य पर्वहरु पनि घरभित्रै सीमित भयो । तर दुखपछि सुखद समय आउँछ आउने सन्देश यो वर्षको होलीले दियो ।” जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं. ७ मा शुभकामना आदानप्रदान गर्नुका साथै एकआपसमा रंग दलेर मनाइएको छ । राष्ट्रिय युवा संघ नेपाल मार्बु कमिटिले वडा कार्यालय परिसरमा होली पर्व अवसरमा कार्याक्रम आयोजना गरेको हो। होली पर्व मनाउने क्रममा उच्छृङ्खल गतिविधि हुन सक्ने भन्दै जिल्ला प्रहरी कार्यालयद्धारा विभिन्न स्थानमा प्रहरी परिचालन गरिएको थियो । जसले गर्दा जिल्लामा होली पर्वमा केही स्थानमा सामान्य झैझगडा र विवाद बाहेक ठूला घटना भएन । यो वर्षको होली हर्षोल्लास र सुरक्षित शान्तिपूर्ण बनेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

रंगिएका युवाहरू तस्बिर खिचाउँदै

Shares

Be the first to comment on "होलीमा रंगिए, रमाए दोलखाली"

Leave a comment

Your email address will not be published.


*