८० बर्षीय सहनाई वादक कृष्णः ‘१६ वर्षे जाेश छ’

ताजा समाचारको लागि फलो गर्नुहोस ।

ईश्वर बिश्वकर्मा
चरिकोट, बैशाख १४
सेताम्मे कपाल । मुजा परेको निधार । चाउरीएको गाला । तामाकोशी गाउँपालिका–१ भीरकोट मगरछापका ८० बर्षीय कृष्ण नेपालीको हुलिया हो यो । यो उमेरमा प्रायः जसोको समय विश्राममै बित्छ । तर नेपाली भने यो उमेरमा पनि सहनाई मज्जाले बजाउनुहुन्छ । उहाँको जोसजाँगर र सक्रियता युवास्थाको झैं छ । उहाँले बजाएको सहनाईको धुन सुनेर सबै रोमाञ्चित हुन्छन्, भने उहाँको जोस र कला देखेर कतिपय त अचम्मित हुन्छन् । “सीप त अरु बाजा बजाउन पनि छ । तर मलाई रुचि सहनाईमा रहेकोले यही बजाउँछु । मेरो १६ वर्षे तन्नेरीकाे जस्तै जोस र कला देखेर कतिपय त छक्क पर्छन् ।“ उहाँले भन्नुभयो“ कला, संस्कृति र परम्पराको संरक्षण र संवद्र्धन गर्नुपर्छ भनेर बाजा बजाउने गरेको छु । बाजाको धुन र तालले सबैलाई मनोरञ्जन र उत्साह प्रदान गर्छ । यसको धुनले कतिलाई भावुक पनि बनाउछ ।“विवाह, ब्रतबन्ध, मेला पर्व, विषेश सभासमारोहमा उहाँको नेतृत्वमा पञ्चै बाजा सहित वाद्यवादक टोली पुग्छन् । उहाँ सहनाई बनाउनुहुन्छ। सनाई पञ्चैबाजाको एक प्रमुख बाजा हो । यसलाई सनाही, सनई र सहनै पनि भनिन्छ । यो मुखले फुकेर बजाइन्छ। यसको लागि श्वासप्रश्वासको मात्रा मिलाउनुपर्छ । कतिपयको सास नै पुग्दैन । त्यसैले जोकोहीले यो बजाउन हत्तपत्त सक्दैनन्। ८० बर्षीय कृष्ण त्यस्ता बाद्यवादक हुनुहुन्छ। जो सहजै सहनाई फुक्नु हुन्छ अनि कर्णप्रिय धुन निस्काल्नुहुन्छ ।“ मेरै टोलीका एक दुई जनालाई यो बजाउन कठिन हुन्छ । सबैमा यो बजाउन पनि सीप छैन। तर म मज्जाले बजाउन सक्छु। यसमा पनि टेक्निक चाहिन्छ नि ।“ उहाँले भन्नुभयो । उहाँले आफ्नो बुबाबाट बाल्यकालमै रहरले बाजा बजाउन सिक्नु भएको हो । नौ बर्षको उमेरमा सहनाई सहित पञ्चेबाजा बजाउने कला सिक्न थाल्नुभएको कृष्णले १० बर्षदेखि नै बुबासँगै बिवाह, ब्रतबन्ध, मेला पर्वमा बाजा बजाउन सुरु गर्नु भएको थियो । “रहरले सिकेको बाजा बजाउँदा अति रमाइलो र रौनकता मिल्थ्यो“ उबेला लिएको अनुभवको कुरा सुनाउँदै भन्नुभयो“ बाजा बनाउने मात्र होइन गीत गाइन्थ्यो, नाचिथ्यो नचाइन्थ्यो पनि । कतिपयले ’फुच्चे’ भन्थे । कतिपयले सानो कलाकार भन्थे । बाजा बजाए बापत स्वइच्छाले पारिश्रमिक स्वरूप खानेकुरा र अन्न दिन्थे । कतिपयले पैसा पनि दिन्थे । कृष्णले छुट्टै अतिरिक्त पैसा पनि पाउथे । जसले गर्दा कृष्णलाई बाजा प्रतिको मायामोह बढ्न गयो । यसैलाई निरन्तरता दिइरहनु भयो । विभिन्न ठाउँबाट उहाँहरुको माग बढ्दै गयो । त्यसले उबेला जिविकोपार्जनका साथै संस्कृतिको जगेर्ना भएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो“ सुरुमा पञ्चैबाजाका चार वटा बाजा सिक्न समय लागेन तर सहनाई बजाउन अरु बाजा सिक्न भन्दा अलि बढी समयमा लागेको थियो । मेरो रहर र निरन्तरताले गर्दा सहनाई सिकिछाडेँ ।“ अहिले त्यसैको निरन्तरता दिने क्रममा ७० वर्ष समय बितेको उहाँलाई पत्तै भएको छैन । उहाँलाई अहिले पनि विभिन्न ठाउँबाट बाजा बजाउनको लागि निम्तो हुने गरेको छ । उहाँको जोश पहिलेको झैं छ । पुगेको ठाउँमा सहनाई बजाउन नसकेको घटना उहाँसँग छैन । उहाँले भन्नुभयो“ अहिलेसम्म कुनै ठाउँमा गएर बाजा बजाउन नसकेको घटना छैन । तर बुढेसकालले अलिअलि छोएछ की क्याहो, केही थकाई चाँही लाग्छ । तर जोशको बेला थकाइ पनि हट्दो रहेछ ।” उहाँले पञ्चैबाजा बजाउने कलाको संरक्षण र संवद्र्धन गर्ने उद्धेश्यले आफ्नो छोरा दुर्गालाई पनि बाजा बजाउन सिकाउनुभएको छ । जसले गर्दा सीप र कला हस्तान्तरण भई उद्धेश्य भएको छ । “पराम्परागत सीप, कला र संस्कृतिको संरक्षणका लागि मेरो छोरालाई पनि सिकाएको छु । यसरी नै सबैले सिकाउने हो, भने कला मर्दैन । युुगौँ सम्म बाँचिरहन्छ ।” उहाँले भन्नुभयो

कृष्ण र उहाँकाे छाेरा दुर्गा

खतरा
कृष्ण नेपाली पहिलेको जस्तो पञ्चैबाजा बजाउनको लागि अहिले निम्तो कम आउन थालेको बताउनुहुन्छ । पहिलेपहिले विवाहमा अनिवार्य रुपमा पञ्चैबाजा बजाउनुपर्छ भन्ने मान्यता थियो । तर अहिले त्यो मान्यता हराउन थालेको उहाँले बताउनुभयो । “मेरो युवा कालमा मंसिर, बैशाखमा त दशबाह्र ठाउँमा विवाहमा पञ्चैबाजा बजाउन गईन्थ्यो । आम्दानी पनि राम्रै हुन्थ्यो । जसले गर्दा यो कलातर्फ आकर्षण थियो । तर अहिले त विवाहमा पञ्चैबाजाको माग कम आउँछ । मानिसहरुले लभ म्यारिज गर्न थाले । डिजे बजाउँन थाले । त्यसैले पहिलेको तुलनामा कम मात्रामा बाजा बजाउन बोलाउने गरेका छन् ।” उहाँले भन्नुभयो “तर बोलाएमा हामी त कला देखाउन तयार छौँ । कहाँ आउनुपर्ने हो आउँछौँ ।” जिल्लाका ग्रामीण क्षेत्रमा पूजाआजा, विवाह, ब्रतबन्ध र विभिन्न मेला पर्वमा पहिलेको जस्तो अनिवार्य पञ्चैबाजा बजाउनुपर्छ भन्ने चलन छैन । पञ्चैबाजा बिनै ती शुभकार्यहरु गरिन्छन् । जसले गर्दा माग घटेको दुर्गा नेपालीले बताउनुभयो । पञ्चैबाजाको माग घट्न थालेपछि पुख्र्यौली पेशाको रुपमा रहेको पञ्चैबाजा बजाउने कार्यबाट विस्थापित हुने खतरा छ । माटीका सीताराम नेपाली पश्चिमा संस्कृतको प्रभावले ऐतिहासिक महत्वको नेपाली कला र संस्कृति हराउन थालेकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “म पनि एक पञ्चैबाजाको बाद्यवादक हो । तर कला प्रस्तुत गर्न कमै मात्रै अवसर पाइन्छ । त्यसले गर्दा कला त्यसै मर्ने हो कि भन्ने डर लाग्न थालेको छ ।” सामूहिक रुपमा बजाउनुपर्ने भएकोले पञ्चैबाजा बजाए बापत पारिश्रमिक स्वरुप अहिले रकम लिने गरिएको छ । आयोजक र पञ्चैबाजा समूहको सहमतिमा पारिश्रमीक निर्धारण हुन्छ । सहमती अनुसार बाजा बजाएपछि रकम प्राप्त गरिन्छ । विक्रम नेपालीले स्थानीय सरकार आएपछि पञ्चैबाजाको संरक्षण र संवद्र्धनको लागि भन्दै केही प्रयासहरु गरेको भएपनि त्यो पर्याप्त नरहेको गुनासो गर्नहुन्छ । “संरक्षण गर्नका लागि बाजा मात्र वितरण गर्ने परीपाटी स्थानीय सरकारमा देखिएको छ ।“ उहाँले भन्नुभयो ”त्यसरी मात्र नयाँ पुस्तालाई सीप हस्तान्तरण हुन सक्दैन । बाजासँगै सीप सिकाउन तालिमको व्यवस्था मिलाउनुपर्छ । सभासमारोहमा कलोको उपायोग गर्न पाउनुपर्छ ।” उहाँले पञ्चैबाजा वा नौमती बाजा कुनै जाति वा समुदायको मात्र नभई सबैको साझा सम्पति भएकोले यसको संरक्षणमा सबैले चासो दिनुपर्ने बताउनुभयो । उहाँल भन्नुभयो “यो अब एक समुदायको मात्रा बाजा रहेन । यो सबैको साझा सम्पति हो । त्यसैले सबैले यसमा चासो दिनुपर्छ । बरु अन्य समुदायकाले सिक्न चाहन्छन् भने पनि सिकाउन तयार छौँ । तर पञ्चैबाजाले व्यापकता पाउनुपर्छ ।”

Shares

Be the first to comment on "८० बर्षीय सहनाई वादक कृष्णः ‘१६ वर्षे जाेश छ’"

Leave a comment

Your email address will not be published.


*