काठमाडौं–दोलखा, ४ घण्टाको यात्रा १० घण्टा

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दोलखा, २५ भदौ
काठमाडौदेखि दोलखा सदरमुकाम चरिकोटसम्मको दुरी जम्मा १३३ किलोमिटर छ । ३ वर्ष अघिसम्म काठमाडौं–खाडिचौर–चरिकोट सडकमा बसको यात्रा ४ घण्टाको हुन्थ्यो । तर अहिले यात्रा समय कम्तिमा ८ घण्टा भएको छ ।
यो यात्रा सडक लम्बिएर होइन । सडक विस्तारका लागि भएको सडक ठेकेदारले विगारेपछि यात्रा लम्बिएको हो । गाडी चढेपछि तोकिएको समयमा पुग्न छाडेको वर्ष वितेको लामो समयदेखि बस चालकको रुपमा कार्यरत रोल्वालिङ यातायातका केशव श्रेष्ठले बताए ।
“कहिकाँही त विहान ६ बजे काठमाडौंबाट छुटेको बस साँझ ८ बजेसम्म पनि चरिकोट पुग्न सकिन्न” उनले भने “अलि ढिला भएको दिन त कहिलेकाँही बीच सडकमै रात विताउनु परेको छ ।” जोखिमपूर्ण यात्राका कारण अत्यन्तै जरुरी बाहेक यात्रा गर्नेहरु समेत छाडेका छन् ।
३५ वर्षयता दोलखा सुगम थियो । रामेछाप, ओखलढुङ्गा, सोलुखुम्बुका यात्रुहरु ५ वर्ष अघिसम्म दोलखा हुँदै यात्रा गर्थे । तर अहिले यो अवस्था फेरिएको छ । अहिले खाडीचौरदेखि चरिकोटसम्मको सडक विस्तारका कारण जोखिमपूर्ण र ढिला भएपछि अधिकाँश यात्रुबाहक वसहरु रामेछापहुँदै चल्न थालेका छन् ।
रामेछाप हुँदै यात्रा गर्दा ५० किलोमिटर यात्रा बढी गर्नु पर्छ । तर पनि सजिलो सडकको कारण बढी भाडा तिरेर भए पनि लामै यात्रा गर्न यात्रुहरु बाध्य छन् । सडक स्तरोन्नतीका लागि सुरु गरेको काम बीचमै अलपत्र छाडेपछि अहिले यात्रुहरुलाई सास्ती भएको छ । यातायात साधनहरु पनि पार्टपूर्जा चाँडै टुटफुट आउँदा खर्च समेत बढेको यातायात व्यवसायीहरु गुनासो गर्छन् ।
खाडीचौर–चरिकोट सडक २ प्याकेजमा ठेक्का लगाएर काम भएको छ । पहिलो प्याकेज खाडीचौरदेखि २५ किलोमिटर र दोस्रो प्याकेज थप ३० किलोमिटर छ । पहिलो प्याकेजको १४ किलोमिटरदेखि १९ किलोमिटरसम्म सडक धेरै बिग्रिएको छ भने दोस्रो प्याकेजको सडक बिग्रिएको भए पनि सवारी साधनहरु अड्किने अवस्थाको छैन ।
पहिलो प्याकेज विस्तार र कालोपत्रेको ठेक्का भारतको सीमाञ्चल निर्माण कम्पनी र नेपालका गौरीपार्वती तथा सुनौलो खिम्ती कन्स्ट्रक्सन जेभीले पाएको छ । त्यसैगरी दोस्रो प्याकेजको ठेक्का भारतको सकिल हैदर संगथ र शंकरमाली तथा सुनौलो खिम्तीले पाएको छ ।
पहिलो प्याकेजको काम गत अक्टोबर २०१५ देखि सुरु गरिएको स्तरोन्नति कार्य दुई वर्ष अर्थात् २०१७ को अक्टोबरसम्ममा काम सकाउने गरी ठेक्का लगाइएको थियो । त्यसैगरी दोस्रो प्याकेजको काम २०१५ को जुन १४ मा सम्झौता भएको र २०१८ को १ मार्चमा सडक स्तरोन्नति कार्य सकाउने गरी ठेक्का लगाइएको छ ।
सडकको अवस्था नाजुक भएपछि दोलखामा नं. प्रदेशका विभागीय मन्त्री सहित ३ जना मन्त्रीहरुकै उपस्थितिमा बैठक बसेर १० दिन भित्र सडक सुधार गर्ने प्रतिबद्धता आयोजना र ठेकेदारले गरे । काम सुरु पनि गरे तर सडकको अवस्था सुधार हुन सकेको छैन ।
दोस्रो प्याकेजको ३० किलोमिटर खण्ड सडकका खाल्डाखुल्डी पुरेर साना गाडी चल्न सक्ने भएका छन् । तर सबैभन्दा कठिन पहिलो प्याकेजमै रहेको छ । निर्माण व्यवसायीका साधन खटिएका छन् तर वर्षा लगातार भएकाले सोचे अनुसारको प्रगति हुन नसकेको निर्माण व्यवसायीहरु बताउँछन् ।
पहिलो प्याकेजमा पहिला सुनौला खिम्तीका व्यवसायीले काम गरेका थिए । अहिले अलपत्र परेको काम उसैका साझेदारले गौरीपार्वतीले गर्ने प्रतिबद्धताका साथ सुरु गर्न लागे तापनि स्थानीयस्तरमा समेत काम गर्ने वातावरण नभएको गुनासो गरेका छन् ।
सडकको अवस्था नाजुक हुँदा साविक सडकमा यात्रुबाहक साधन कम चल्दा स्थानीय छोटो दुरीका यात्रुहरु प्रत्यक्ष मारमा परेका छन् । विगतको तुलनामा ८० प्रतिशत गाडीहरु रामेछापको सडकबाट घुम्दा यात्रुहरु मर्कामा परेका हुन् । बस कम चल्दा यात्रुहरु चर्को मूल्य तिरेर निजी नम्बर प्लेटका बोलेरो गाडीहरु चढ्न समेत बाध्य छन् ।

Shares

Be the first to comment on "काठमाडौं–दोलखा, ४ घण्टाको यात्रा १० घण्टा"

Leave a comment

Your email address will not be published.


*