चरिकोटमा नयाँ होटल खोल्ने क्रम बढ्यो

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, माघ १२
दोलखाको सदरमुकाम चरिकोटमा स्वदेशी–विदेशी पर्यटकको सुविधाका लागि नयाँ होटल तथा लज खुल्ने क्रम बढेको छ । जिल्लाको विभिन्न पर्यटकीय क्षेत्रमा चरिकोट हुँदै पर्यटकहरुको आवागमन हुने भएकोले उनीहरुलाई लक्षित गरी साना तथा ठूला होटलहरु खोल्ने क्रम बढेको हो ।
कोरोना साम्य भएसँगै पर्यटकीय चहलपहल वृद्धि हुन थालेपछि सामान्यदेखि आधुनिक किसिमका होटलमा लाखौकरोडौँ लगानी गर्नेहरु बढ्न थालेका छन् । कतिपयले सुविधा र आकर्षण बढाएर पूराना होटललाई स्तरोन्नति गरिरहेका छन् ।
यही बिच चरिकोटको चरिघ्याङ्गमा तीन करोड ५० लाख लगानीमा दृश्य होटल सञ्चालनमा ल्याइएको छ । भीमेश्वर नगरपालिका–२ का ३२ वर्षिय बाबुराजा शाहिले पर्यटकीय सुविधा र रोजगारीका लागि होटल सञ्चालन गर्न थाल्नु भएको हो ।
बिहीबार एक कार्यक्रमका बीच नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले होटलको उद्घाटन गर्नु भएको थियो । सो अवसरमा उहाँले प्राकृतिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय आकर्षणले भरिपूर्ण दोलखामा बाह्य एवं आन्तरिक पर्यटकको रोजाईमा पर्ने गरी होटल सञ्चालन हुनु सकरात्मक रहेको बताउनु भयो । पर्यटन विकासमा होटल व्यवसायले सहयोग पुग्ने उहाँको भनाई थियो । उहाँले चरिकोटमा पर्यटकीय, व्यापारिक, प्रशासनिक र राजनीतिक चहलपहल हुँदा होटल व्यवसायले फड्को मार्ने भएकोले सुविधासम्पन्न होटलमा दीर्घकालीन सोचका साथ लगानी गर्नु पर्ने बताउनु भयो ।
चरिकोटमा मासुजन्य व्यवसाय गर्दै आउनु भएको शाहीले दोलखा घुम्न आउने पर्यटकका लागि नयाँ सोच र उत्साहका साथ होटल व्यवसायमा लागेको बताउनु भयो । उहाँले जिल्ला घुम्न आउने पर्यटकका लागि आफ्नो होटल खान र बास बस्नका लागि आकर्षक रहेको दाबी गर्दै फोटो र भिडियोका लागि त मुख्य भ्यु प्वोइन्ट रहेको बताउनु भयो । चरिघ्याङ्ग गुम्बाका कारण यो क्षेत्र धार्मिक क्षेत्र पनि हो । यहाँबाट गौरीशंकर हिमालसहित शैलुङ, कालिञ्चोक लगायतका प्राकृतिक तथा धार्मिक पर्यटकीय स्थलहरुको मनोरम दृश्य देख्न सकिन्छ ।
चरिकोटमा कोरोना कारण थलिएको होटल व्यवसायले लय लिन थालेसँगै नयाँ लगानीकर्ताहरु पनि होटल व्यवसायमा आकर्षित हुन थालेका छन् । राजधानीबाट नजिकको दुरीमा रहेको चरिकोटमा आउने पर्यटकहरु विदेश भन्दा स्वेदशी बढी हुन्छन् । उनीहरुलाई आकर्षण गर्ने गरी होटल व्यवसाय सञ्चालन हुन थालेका हुन् । होटल व्यवसाय सञ्चालन हुँदा रोजगारी सिर्जना, स्थानीय उत्पादनको खपत र पर्यटन विकासमा सहयोग पुग्ने व्यवसायीहरु बताउँछन् । जिल्लामा सामान्य देखि तारे होटल सञ्चालनमा रहेका छन् ।

Shares

Be the first to comment on "चरिकोटमा नयाँ होटल खोल्ने क्रम बढ्यो"

Leave a comment

Your email address will not be published.


*