जाने होइन त नयाँ वर्षमा गुराँस पार्क !

ताजा समाचारको लागि फलो गर्नुहोस ।

ईश्वर बिश्वकर्मा
चरिकोट, चैत्र २९
नयाँ बर्षको आगमनसँगै नयाँ सोच र कामको थालनी गरिन्छ । कतिपय भने उमङ्गका साथ नयाँ–नयाँ ठाउँको घुमफिर गर्न रुचाउँछन् । २०७८ बिदा भएर नयाँ बर्ष अर्थात २०७९ साल नजिकिँदै छ । नयाँ सालको बैशाख १ गतेलाई विषेश बनाउन कतिपयले घुम्ने योजना बनाइरहेका छन् । यो बर्ष घुम्ने सोच भएकाहरु दोलखा आए हुन्छ । दोलखामा त्यस्ता घुम्ने ठाउँहरु थुप्रै छन्, जसले नयाँ वर्षलाई रमनीय र उल्लास बनाइदिन्छ । दोलखामा प्राकृतिक, सांस्कृतिक र पर्यटकीय स्थलहरु थुप्रै छन् । त्यस्ता स्थलहरुको स्थानीय सरकारले पहिचान, व्यवस्थापन तथा प्रचारप्रसार गरिरहेका छन् । जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकले छुटाउनै नहुने स्थलमध्येमा जिरी नगरपालिका वडा नं. ६ स्थित ठुलनागी सामुदायिक वन क्षेत्रमा रहेको गुराँस पार्क पनि प्रमुख हो । जहाँ अहिले पर्यटकको स्वागतका लागि लालीगुराँस फूल फक्रिएर प्रतिक्षामा बसिरहेको छ ।
चारै तिर जँगल । बीचमा पार्क । वरिपरि लालीगुराँस फुलेपछि पार्कको सौन्दर्य चुलिएको छ । प्रकृतिप्रेमी पर्यटकहरु लालीगुराँस फुललाई सुम्सुम्याउँदै चुम्बन गर्न सक्छन् । सिरसिरे बतासको स्पर्शसँगै गुराँसको फेदमा बसेर शीतलता प्राप्त गरी सुस्ताउन पाउछन् । गुराँसको रुख र अन्य रुखहरु रहेको उक्त क्षेत्र हरियाली देखिन्छ ।

यो गुराँस फूल्ने मौसम हो । त्यसैले अहिले पार्क वरीपरीको क्षेत्र गुराँसमय बनेको छ । यहाँ आएर हेर्ने हो, भने सबैको मन लोभिन्छ । त्यसैले अहिले गुराँस फक्रिएर सुन्दर देखिएको बेला दृश्यावलोकनको लागि आइहाल्नुपर्छ । ढिला गरेर बस्नुहुदैन । नगरपालिका उपप्रमुख कृष्णमाया बुढाथोकीले भन्नुभयो “नगरपालिकामा भएका अन्य पार्कहरुसँगै गुराँस पार्कले यो समयमा पर्यटकलाई आकर्षण गर्छ । फागुन देखि गुराँस फूल्ने यो पार्कमा बैशाख पहिलो सातासम्म गुराँस रहन्छ । त्यसैले नयाँ वर्षमा पर्यटककलाई घुम्न अनुरोध गर्छौँ ।” वडाध्यक्ष गोपालबहादुर कार्कीका अनुसार वरीपरी गुराँसको फूल्ने भएकोले बीचमा केही संरचना निर्माण गरी पार्क निर्धारण गरिएको हो । अहिले पार्क वरीपरी चिमाल, गुलाबी र केही तलतिर रातो गुराँस फुलेको छ । वसन्तयामसँगै फुलेका लालीगुराँसले सजिएको पार्क हेर्न आउने आन्तरिक पर्यटकहरुको संख्या बढेको छ । ”गुराँसको दृश्यसहित आफ्नो तस्बिर र भिडीओ खिच्ने पर्यटकहरु बढेका छन् । जसले गर्दा माहोल उल्लासमय बनेको छ ।“ वडाध्यक्ष कार्कीले भन्नुभयो । गुराँस पार्कमा गुराँस फूल्दा मात्र होइन अरु बेला पनि घुमेर आनन्दित हुन सकिन्छ । पार्कको आकर्षणको लागि पोखरी निर्माण गरिएको छ, भने धुपी र अन्य फूलको बिरुवा रोपेर बगैँचा बनाइएको छ । ”पार्कमा बाह्रै महिना पर्यटक आऊन् भन्ने उद्धेश्यले त्यसो गरिएको हो । यद्यपि यहाँको प्रमुख विशेषता नै गुराँस हो । गुराँस सीमित मौसममा फूल्छ । त्यो समय अहिले हो ।“ उहाँले भन्नुभयो । ”पार्कमा बस्नको लागि टहरा रहेको छ । वनभोजका लागि पनि पार्क उपयुक्त स्थल हो । पार्क छेउछाउमा चौरीँ चरिहेको पनि देख्न सकिन्छ ।“

 

नेपालको राष्ट्रिय फूल लालीगुराँस प्रति सबैको माया र सद्भाव रहन्छ । यसलाई संरक्षण र संवद्र्धन गर्नु सबैको दायित्व हो । त्यही अनुरुप गुराँस फूल्ने त्यस क्षेत्रलाई पर्यटनसँग जोड्न पार्क घोषणा गरिएको हो । “हुन त अहिले जिल्लाका सम्पूर्ण वनहरुमा लाली गुराँस फूलेको छ । जसले गर्दा वन नै उद्यान भएको छ । तर हाम्रो वडामा भने गुराँस फूल्ने क्षेत्रलाई पार्क नै घोषणा गरी व्यवस्थित र थप आकर्षित पार्न आवश्यक संरचना निर्माण गरिएको हो।” गुराँसको संरक्षण र संवद्र्धन गर्न पार्क घोषणा गरिएको र सोही अनुरुप स्थानीय सरकारले काम गरेको उहाँले सुनाउनुभयो । उहाँका अनुसार चरिकोटबाट मैनापोखरी हुँदै बास्साबाट पार्कमा यातायातका सवारी साधनमार्फत जान सकिन्छ । भने त्यहाँ पुग्न अन्य पैदल मार्गहरु पनि रहेको छ ।

Shares

Be the first to comment on "जाने होइन त नयाँ वर्षमा गुराँस पार्क !"

Leave a comment

Your email address will not be published.


*