पौरखी कृषि सहकारी संस्थाको भवन निर्माण

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, माघ ४
दोलखा सदरमुकाम चरिकोटमा पौरखी कृषि सहकारी संस्थाको नवनिर्मित भवन उद्घाटन गरिएको छ । भीमेश्वर नगरपालिका प्रमुख ईश्वरनारायण मानन्धरले बुधबार भवन उद्घाटन गर्नु भएको हो । सो अवसरमा मानन्धरले कृषि र उद्योगको विकास भएमात्रै नगरको समृद्धिको सपना पूरा हुने बताउनु भयो । आर्थिक रुपान्तरणका लागि सहकारी एक बलियो हतियार रहेको बताउँदै नगरप्रमुख मानन्धरले उत्पादन र बजारीकरणमा सहकारीको योगदान बढाइनुपर्नेमा जोड दिनु भयो । उहाँले पौरखी कृषि सहकारी संस्था सहकारीमध्येकै एक उदाहरणीय संस्था रहेको उल्लेख गर्दै कृषि र औद्योगिक क्रान्तिका लागि सहकारीसँग समन्वय र सहकार्य गरिने बताउनु भयो ।
पौरखी कृषि सहकारी संस्थाको नवनिर्मित भवन दुई तल्लाको रहेको छ । भीमेश्वर नगरपालिकाको नौ लाख र सहकारीको २४ लाख ५० हजार गरी ३३ लाख ५० हजारमा भवन निर्माण सम्पन्न भएको हो । सहकारीका अध्यक्ष हरिहरप्रसाद न्यौपानेका अनुसार भवन निर्माण सुरु भएको सात महिनापछि सम्पन्न भएको हो । यसअघि भाडाको घरमा सञ्चालित सो सहकारीले मासिक १२ हजार ३ सय रुपैयाँ भाडा तिर्दै आएको थियो । सहकारीका व्यवस्थापक सुरेशराज खतिवडाका आफ्नै भवन निर्माण भएपछि भाडा तिर्ने पैसा जोगिनुका साथै सहकारी सञ्चालनमा सहजता मिल्ने बताउनु भयो ।
चोथाङ्ग पशुपालन सहकारी संस्था, स्वआर्जन साना किसान कृषि सहकारी संस्था र संयुक्त जनसेवा सहकारी संस्था एकीकरण भई पौरखी कृषि सहकारी संस्था बनेको हो । हाल सहकारीमा ४ हजार बढी सदस्य रहेका छन् । सहकारीले आर्थिक कारोबार गर्नुका साथै कृषि पेशाको प्रवद्र्धन, विकास, व्यसायीकरण, संरक्षण तथा प्रोत्साहन गर्ने उद्धेश्यले विविध कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

Shares

Be the first to comment on "पौरखी कृषि सहकारी संस्थाको भवन निर्माण"

Leave a comment

Your email address will not be published.


*