हनुमन्तेश्वर माविको ६३ औँ स्थापना दिवस मनाइयो

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, फागुन ७
दोलखाको बैतेश्वर गाउँपालिका–४ मैनापोखरीमा स्थित हनुमन्तेश्वर मावि (नमूना) को ६३ औँ स्थापना तथा २७ औँ अभिभावक दिवस मनाइएको छ । २०१६ सालमा स्थापना भएको सो विद्यालयको ६३ औँ स्थापना दिवस आइतबार विभिन्न कार्यक्रम गरी हर्षोल्लासपूर्वक मनाइएको हो । दिवस समारोहको प्रतिनिधि सभा सांसद गंगा कार्की (विश्व) ले गर्नु भएको थियो । सो अवसरमा उहाँले निशुल्क र गुणस्तरीय शिक्षा प्रवाह गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादन गरिनु पर्ने बताउनु भयो । शिक्षामा पराम्परागत र घोकन्ते प्रणालीलाई त्यागेर व्यवहारिक र प्रविधियुक्त प्रणाली अवलम्बन गर्दै युग सुहाँउदो शिक्षा आदानप्रदान गरिनु पर्ने उल्लेख गर्नु भयो । उहाँले शैक्षिक गुणस्तर मापनमा निरन्तर अव्बल बन्न सफल हनुमन्तेश्वर मावि जिल्लामै उदाहरणीय विद्यालय रहेको बताउनु भयो । सांसद कार्कीले विद्यालयको गुणस्तर काम राख्न आफ्नो तर्फबाट विविध सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
समारोहमा गाउँपालिका उपाध्यक्ष कल्पना उप्रेतीले समृद्ध गाउँपालिका निर्माणका लागि शिक्षा लगानी गरिएको बताउँदै शैक्षिक गुणस्तर कायम राख्न विभिन्न योजनाहरु भइरहेको बताउनु भयो । समारोहमा विद्यालयका प्रधानाध्यापक भरत केसीले चार करोड २८ लाख बराबरको आर्थिक तथा वार्षीक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भयो । उहाँले प्रशासकीय व्यवस्थापन, शैक्षिक व्यवस्थापन, सिकाई उपलब्धि, सम्पादित कार्यक्रम र आगामी दिनमा गर्नु पर्ने कार्य लगाएतका विषयमा जानकारी गराउनुभएको थियो । हनुमन्तेश्वर माविले सामुदायिक विद्यालयसंग मात्र होईन निजि विद्यालयसंगको प्रतिस्पर्धामा पनि आफुलाई अव्बल बनाउदै जिल्लाको शैक्षिक गुणस्तरको केन्द्र वन्दै अगाडी बढिरहेको उहाँले बताउनु भयो । विद्यालयमा प्राविधिक शिक्षा, शैक्षिक सामग्रीको पर्याप्त सुविधा, पर्याप्त विद्यार्थी संख्या, छात्रछात्रा मैत्री शौचालय, खानेपानी धारा, चमेना गृह, पुस्तकालय, विज्ञान तथा अन्य प्रयोग प्रयोगशाला लगायतका शैक्षिक पूर्वाधार रहेका छन् । यस्तै दक्ष तथा अनुभवी शिक्षकद्धारा अध्यापन हुने हुँदा विद्यालय शैक्षिक दृष्टिकोणले नमूना रहेको छ । स्थापना दिवसको अवसरमा उत्कृष्ट शिक्षक, विद्यार्थी र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । आइतबार नै हनुमन्तेश्वर क्याम्पसको २२ औँ अभिभावक दिवस सम्पन्न भएको छ ।

Shares

Be the first to comment on "हनुमन्तेश्वर माविको ६३ औँ स्थापना दिवस मनाइयो"

Leave a comment

Your email address will not be published.


*