चरिकोटमा “ग्रासरुट फुटबल कार्यक्रम” सुरु

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, फागुन ६
दोलखाको सदरमुकाम चरिकोटमा “ग्रासरुट फुटबल कार्यक्रम” सुरु भएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय फुटबल खेलाडी उत्पादन गर्ने उद्धेश्यका साथ जिल्ला फुटबल संघले शनिबारदेखि भीमेश्वर रंगशालामा उक्त कार्यक्रम सुरु गरेको हो ।
संघका अध्यक्ष कौरव पाण्डेले तल्लोतह देखि फुटबल खेलको विकास गराई अनुशासित र सक्षम खेलाडी उत्पादन गर्न ग्रासरुट लेबलको फुटबल कार्यक्रम सुरु गरिएको बताउनु भयो । कार्यक्रममा फुटबल खेलाडी बन्ने लक्ष्य बोकेका ८ वर्षदेखि १३ वर्ष सम्मका बालबालिकालाई सहभागी गराइने छ । सहभागी बालबालिकालाई मनोरञ्जनात्मक र सिर्जनात्मक तरिकाले फुटबलसम्बन्धी प्रशिक्षण दिइने अध्यक्ष पाण्डेले बताउनु भयो । बिहान ७ बजेदेखि दैनिक एक घण्टा सञ्चालन हुने कार्यक्रममा जिल्ला कोच सिताराम घिमिरेले रमाइलो गराउँदै फुटबल खेल अभ्यास गराउनु हुने छ । आफ्ना छोराछोरीलाई खेलाडी बनाउन चाहने अभिभावकले कार्यक्रममा सहभागी गराउन उहाँको अनुरोध छ ।

यसअघि खेल मैदान अभावमा उक्त कार्यक्रम रोकिएको थियो । भीमेश्वर रंगशाला सञ्चालनमा आएसँगै कार्यक्रम पनि सुचारु गरिएको अध्यक्ष पाण्डले उल्लेख गर्नु भयो । जिल्लामा खेलकुद क्षेत्रलाई चलायमान गराउँदै राष्ट्रिय छवि बनाउन सक्ने खेलाडी उत्पादनका लागि कार्यक्रमले सहयोग पुग्ने उहाँको भनाई थियो । मोबाइलमा गेम खेल्ने तर मैदानमा नखेल्ने बानी परेका बालबालिकालाई कार्यक्रममा प्राथमिकता दिने र खेलकुद प्रति आकर्षित गराइने अध्यक्ष पाण्डले बताउनु भयो । बालबालिकालाई मोबाइलको लतबाट जोगाएर फुटबलमा आकर्षित गरी अनुशासित र सिर्जनात्मक बनाउन कार्यक्रमले सहयोग पुग्ने उहाँले अपेक्षा गर्नु भयो । चैत्रको दोस्रो साता एन्फाको प्राविधिक सहयोगमा चार दिने कम्युनिटी कोचिङ कोर्स सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।

Shares

Be the first to comment on "चरिकोटमा “ग्रासरुट फुटबल कार्यक्रम” सुरु"

Leave a comment

Your email address will not be published.


*