हामीले ६० बर्षमा नभएको काम ३ बर्षमा ग¥यौ

शैलुङ गाउँपालिकाका प्रमूख भरत दुलाल

ताजा समाचारको लागि फलो गर्नुहोस ।

नेपालमा स्थानीय तहको निर्वाचन भएको ३ वर्ष पुरा भएको छ । ५ वर्षे कार्यकालमा अहिलेसम्म के कस्ता काम भए ? जनप्रतिनिधीले जनतासँग गरेका बाचा कति पुरा भए भएनन् ? कोरोना महामारीमा कसरी काम गरिरहेका छन् ? यस्तै यस्तै सवालहरुमा केन्द्रित रहेर हामीले दोलखाका स्थानीय तहहरुका प्रमूखसँग कुराकानी गरिरहेका छौं । यसै सन्दर्भमा दीक्षण सहकर्मी अर्जुन अपवादले शैलुङ गाउँपालिकाका प्रमूख भरत दुलालसँग कुराकानी गरेका थिए । कुराकानीको सम्पादित अंशः

४ ओटा बजेट निर्माण गर्नुभयो । जनतासँग मत माग्दा गरेका प्रतिवद्धताहरु कति पुरा भए ?

विकास भनेको निरन्तर चल्ने प्रकृया हो । हामीले हिजो चुनावमा मतदातासँग जे प्रतिवद्धता गरेका थियौं । त्यो प्राप्ति गर्ने दिशामा हामी अगाडि बढिरहेका छौं । पहिलो कुरा हामीले के बुझ्नुपर्छ भने शैलुङ्ग दोलखा जिल्लाकै पछाडि परेको क्षेत्र हो । हामी शैलुङ्गलाई राष्ट्रिय नेटवर्कमा जोड्नका लागि काम गरिरहेका छौं । पालिकाको संस्थागत विकासमा काम गरिरहेका छौं । जनताको सेवा सुविधामा काम गरिरहेका छौं । हामीले पाउने २२ ओटा अधिकारमा कानुन बनाएर काम गरिरहेका छौं । समग्र गाउँपालिकाको स्वास्थ्य शिक्षा खानेपानी सिञ्चाई विद्युतिकरण कृषि ल गायतका क्षेत्रमा हिजोभन्दा आज धेरै माथि भएको अवस्था छ ।

पालिकाका नागरिकको कुरा सुन्दा तपाँईहरु त आलोचनामा हुनुहुन्छ नि ?

हामीलाई स्थानीय सरकार सञ्चालन ऐनले केहि अधिकार दिएको छ । संघ तथा प्रदेशको अनुदान र आन्तरिक आम्दानीबाट हामीले बजेट निर्माण गर्ने गर्छौ । आन्तरिक आम्दानीमा हामी धेरै कमजोर छौं । हामीसँग कुनै जलविद्युत आयोजनाहरु छैनन् । ढुंगा गिटी बालुवाका खानी पनि छैनन् । ३०–४० लाखभन्दा धेरै रकम उठाउन सकिएको छैन । विगतका ३ वर्षमा हामीले आफ्नै कर्मचारीहरुबाट राजस्व उठायौं । गत वर्षबाट हामीले ठेक्का लगायौं । यसपछि अलि कडाइ भएको हो । नागरिकबाट हामीले लिने कर ८ लाख हो । अहिले हामीले जनतालाई कर तिर्ने बानी बनाउनुपर्छ भनेर लागेका छौं । राम्रो काम गर्दा पनि आलोचना आउँछन् । त्यसलाई अन्यथा लिनुहुन्न ।

अहिले गरिरहेको कामबाट तपाई कतिको सन्तुष्ट हुनुहुन्छ ?

जे प्रयत्न गरिरहेका छौं । जति प्रतिफलहरु प्राप्त भएका छन् । त्यसमा हामी सन्तुष्ट छौं । जनताको आकांक्षा धेरै छ । हिजो नागरिकहरुलाई केहि पनि हुन्न भन्ने थियो । अहिले जनतामा आशा जागेको छ । जनताहरु माग गर्न लागेका छन् । हाम्रो घरसम्म आउने बाटो चाहियो । कृषि तथा पशुपालनमा अनुदान चाहियो । शिक्षा, स्वास्थ्य राम्रो हुनुप¥यो भनेर नागरिकले हामीलाई दवाव दिएको स्थिती छ । यो सकरात्मक कुरा हो । जनतालाई अव हाम्रो गाउँ बन्छ, बनाउन सकिन्छ भन्ने धारणा बन्न लागेको छ । यो सकरात्मक कुरा हो ।

भनेजस्तो काम गर्न नसक्नुमा कारणचाँही के रैछ ?

हामी निर्वाचीत भएर आयौं । कर्मचारीहरुको समायोजन हुन सकेन । समायोजनको प्रकृया भर्खरै सकिएको छ । अझै पनि प्रमूख प्रशासकिय अधिकृत केन्द्रले तोक्छ । वर्षमा ४ ओटासम्म प्रशासकिय अधिकृत फेरिनुपर्ने अवस्था रह्यो । नागरिकले सबै काम हामीले नै गर्ने हो भनेर बुझ्ने गर्छन । तर कानुनले हामीलाई नीतिगत निर्णयभन्दा बाहेकका काम गर्न दिएको छैन । हामीले गरेका नीतिगत निर्णय कर्मचारी संयन्त्रले गर्नुपर्छ । पहिला कर्मचारी थिएनन् । अहिले आएका सबै नयाँ छन् । उहाँहरुलाई तालिम दिएर अगाडि बढ्नुपर्ने अवस्था छ । यो क्रमश अगाडि बढ्छ ।

केहि काम त गर्न सकिने थिए । जस्तो असारमा आएको बजेट खर्च गर्न असार नै पर्खने प्रवृत्तिमा सुधार गर्न सकिन्थ्यो होला नि ?

सम्पूर्ण आर्थिक कारोबार प्रमूख प्रशासकिय अधिकृत र लेखा प्रमूखबाट हन्छ । हाम्रो सन्दर्भमा भन्नुहुन्छ भने हामीसँग प्रमूख प्रशासकिय अधिकृत १ वर्षमा ४ पटक फेरिनुभयो । लेखाको कर्मचारी पनि हामीले काजमा लिएका छौं । त्यसो भएको हुँदा लेखाको कर्मचारीको आफूले सेवासुविधा लिने कार्यालयमा पहिलो प्राथमिकता दिने कारणले पनि कतिपय भुक्तानी समयमा हुन सकेनन् । अर्को कारणचाँही हाम्रा उपभोक्ताले पनि योजना सम्झौत ागर्ने, कार्यान्वयन विस्तार गर्ने र भुक्तानी अन्तिममा लिन आउने अनि अर्को कारण हाम्रो हिजोदेखीको लागेको बानी चालु खर्च अन्तिममा मात्र लिने हाम्रो संस्कार बनेकै छ । यसलाई तोड्न नसकेका कारण यो समस्या देखिएको हो । यसमा सुधारका लागि हामी प्रयत्नशिल छौं

अव कोरोनाको कुरा गरौं । तपाँईलाई सुरुमा कस्तो लागेको थियो ?

यसमा सुरुका बेला हामी अलिकति आँत्तिएको हो । स्वास्थ्यकर्मी तथा संस्थाहरुलाई तयारी हालतमा राख्यौं । लकडाउनमा पनि अलिकति कडाइ ग¥यौं । पछिल्लो अवस्थामा कोरोना छिट्टै अन्त हुनेजस्ता देखिएन । रोगले भन्दा पनि भोकले मर्नपर्ने जस्तो अवस्था आयो । यसलाई पचाउँदै, रोगसँग जुध्दै अगाडि जानुपर्छ ।

यो महामारीमा अव पालिका के गर्दैछ ?

अहिले हामी जनतालाई सचेत बनाउने काममा नै छौं । अहिलेसम्म गाउँपालिकाका कसैमा पनि संक्रमण देखिएको छैन । यो सौभाग्यको कुरा हो । हामीले ५० भन्दा बढिमा परिक्षण गरेका छौं । नागरिकहरुलाई भौतीक दुरी कायम गर्ने, सरसफाईमा ध्यान दिने लगायतका कुरामा सचेत गर्ने काम भईरहेको छ । पालिकाका १२ ओटा स्वास्थ्य संस्थालाई तयारी हालतमा राखेका छौं ।

कोरोनासँगै अहिले त बाढि पहिरोजस्ता प्रकोप पनि हुने बेला हो । यसमा चाँही गाउँपालिका के गरिरहेका छ ।

हामीले ६० लाखको कोष बनाएका छौं । यसमा जनप्रतिनीधिहरुको ८ महिनाको सेवा सुविधा कटाएर ४० लाख त्यसमा राखेका छौं । यो महामारीमा जोगिनु नै ठूलो कुरा हुने भयो । अमेरीका जस्तो देशले पनि यसमा विजय पाउन सकेन ।

अव त तपाँईहरुसँग करिब २ वर्ष वाँकी छ । तपाँईले सुरुमा देखेको सपना यस अवधीमा पुरा होला त ?

यो ५ वर्षमा हामीले जे आधार बनाएका छौं । यो ५० वर्षलाई पुग्ने गरि बनाएका छौं । हामीले धेरै काम सक्छौं । नसकेको काम भोली आउने जनप्रतिनीधिले गर्नुहुन्छ । यो त निरन्तर चलिरहने प्रकृया हो । हामीले बाटाहरु चौंडा बनाएका छौं । झण्डै ४५० किमि बाटोहरु खनिएको छ । आधाभन्दा धेरै ७ मिटर चौडा छन् । हामीले बनाएका संरचना भोली हुने गरि निर्माण गरेका छौं । ३ वर्षमा जति काम गरियो त्यसमा हामी सन्तुष्ट छौं । विगतको ६०÷७० वर्षमा नभएको काम हामीले ३ वर्षमा गरेका छौं । जनताको आकांक्षा त पचि भएको बाटोमा हिड्ने छ । त्यसतर्फ हामी विस्तारै जान्छौं । एकैपटकमा गर्न पालिकासँग श्रोत छैन । विस्तारै अगाडि बढ्छ ।

कोरोनाका कारण धेरै मानिसहरु गाउँ फर्किएका छन् । उनिहरुलाई गाउँमै राख्नका लागि पालिका के गरिरहेको छ ?

हामीले मुलत कृषि, पशुपालन, बनजन्य उद्योग र पर्यटन उद्योगहरुमा ध्यान दिएका छौं । यि ४ क्षेत्रबाट समृद्धि प्राप्त गर्न सक्छौं । प्रत्येक वडामा कृषि तथा पशु प्राविधिक राखेका छौं । यो नेपालकै लागि नयाँ हो । शिक्षाक्षेत्रमा गुणस्तर ल्याउनुपर्छ भनेर २ ओटामा प्राविधिक शिक्षा सुरु गरिएको छ । एउटा विद्यालय नमुना विद्यालयका रुपमा विकास गरिरहेका छौं । सबै नागरिकलाई अव उत्पादनमा जोड्नपर्छ भनेर लागिरहेका छौं । उत्पादनमा जोडिएपछि स्वाभाविक रुपमा पालिका उहाँहरुलाई आफ्नो श्रोतअनुसार प्राविधक सहयोग गर्छ । समग्र गाउँपालिकालाई कसरी अगाडी बढाउन सकिन्छ भनेर हामी लागेका छौं । यसमा सफलता पनि क्रमश प्राप्त हुँदै गइरहेको छ । यसैगरी हामी समृद्ध शैलुङ्ग निर्माण गर्न सक्छौ ।

अन्तमा केही छ कि ?

पहिला शैलुङ्ग पिछडिएको ठाउँ भन्ने थियो । विस्तारै अगाडि आउँदैछ । यसमा यहाँका नागरिक, राजनीतिज्ञ, समाजीक अगुवा, कर्मचारी धेरैको सहयोग छ । म सबैमा म गाउँपालिकाको तर्फबाट हार्दिक धन्यवाद भन्न चाहन्छु ।

Shares

Be the first to comment on "हामीले ६० बर्षमा नभएको काम ३ बर्षमा ग¥यौ"

Leave a comment

Your email address will not be published.


*