अपर तामाकोसी लक्ष्य भेट्न भारतीय ठेकेदारको विकल्प खोजिदैँ

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट–निर्माणाधिन ४५६ मेगावाको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको लक्ष्य भेट्न बाधा पु¥याउने भारतीय ठेकेदार कम्पनीको खोज्ने भएको छ । आयोजनाको प्रबद्र्धक अपर तामाकोसी हाइड्रोपावर कम्पनीले आयोजनाको काम समयमा नगर्ने कम्पनीको विकल्प खोजीको बारेमा छलफल सुरु गरेको हो ।
आयोजनाको लट २ अन्र्तगतको हाइड्रोमेकानिकलको कामले गर्दा आयोजनाको समग्र प्रगति प्रभावित भएको छ । आयोजनाको हालसम्म करिब ९५ प्रतिशत काम पूरा भएता पनि हाइड्रोमेकानिकलकै कामको सुस्तताले अहिले आयोजनाको अन्तिम लक्ष्य भेट्न मुस्किल छ । यसले अहिले समग्र आयोजना व्यवस्थापनको टाउको दुःखाइको विषय बनेको छ ।
आयोजनाको सिभिल, इलेक्ट्रिक तथा इलेक्ट्रोमेकानिकल र प्रसारण लाइनको कामको लक्ष्य अनुसारकै प्रगति भए तापनि हाइड्रोमेकानिकलको कामले भने गति लिन सकेको छैन । हाइड्रोमेकानिकलको काममा आयोजना स्थलमा काम गर्ने कामदार पनि उपस्थितिका लागि मात्रै छन् ।
आयोजनाको हाइड्रोमेकानिकलको ठेक्का भारतीय कम्पनी टेक्सम्याको रेल एण्ड यन्जिनियरिङ लिमिटेडले पाएको छ । कम्पनीले आयोजनाको काम २०७२ बैशाख (३० अप्रिल २०१५) भित्र पूरा गर्ने गरी २०६८ फागुन १६ (२८ फेब्रुअरी २०१२) मा सम्झौता गरेको थियो । तर सम्झौताको थप २ वर्ष बितिसक्दा समेत टेक्सम्याकोले साइडमा उल्लेख्य प्रगति गर्न सकेको छैन ।
सम्झौता अनुसार टेक्सम्याकोले काम गरेको भए २०७२ को भुकम्प अघि नै काम पूरा गर्नु पर्ने हो । तर त्यो बेलासम्म उसले साइडमा सामान समेत ढुवानी सुरु गर्न सकेन । त्यसपछि भुकम्प र नाकाबन्दीलाई निहु बनाएर आयोजनाको अवधी बढाए तापनि उसको काम अघि बढ्न सकेको छैन ।
आयोजनाको ३७२ र ३१० मिटरको २ वटा ठाडो सुरुङमा पेनस्टक पाइप जडान गर्नु पर्छ । तर अहिलेसम्म त्यसको काम सुरु नै हुन सकेको छैन । पाइपहरु केही आयोजनास्थल पु¥याए तापनि धेरै जसो बाटोमै छन् ।
टेक्सम्याकोले सन्तोषजनक रुपमा काम नगरेपछि उसको उच्च व्यवस्थापनसँग समेत आयोजना र ऊर्जा मन्त्रालयस्तरबाट समेत धेरै चरणमा बैठक भई सकेको छ । आयोजनाको समस्यको बारेमा आयोजनास्थल भ्रमण हुने प्रधानमन्त्री, मन्त्रि लगायतको उच्चस्तरीय भ्रमणमा समेत आयोजनाले जानकारी गराउँदै आएको छ । एक वर्ष महिना अघि टेक्सम्याकोको उच्चस्थतरीय टोलीलाई भारतबाट बोलाएर साइडमै छलफल गराउँदा प्रगति हुने आश गरे तापनि त्यो आशमै सिमित भएको छ ।
आयोजनाको हाइड्रोमेकानिकल अन्र्तगत टेक्सम्याकोले बाँध, इन्टेक र डिस्याण्डरमा गेटहरु, स्टपलगहरु, पेनस्टक पाइप आदीको डिजाइन, ढुवानी, जडान, परीक्षण र कमिसनिङ आदी पर्दछन् । गेटहरु र स्टपलगहरुको काम सुस्त गतिमा छ । पेनस्टक पाइप ढुवानीमा नै सबैभन्दा जटिलता उत्पन्न भएको हो । आयोजनामा १ हजार १३४ मिटर पेनस्टक पाइप जडान गर्नु पर्ने भए तापनि हालसम्म आधा पाइप पनि ढुवानी हुन सकेको छैन । गेटहरु राख्ने काम पनि बाँकी नै छन् ।
केहीपाइपहरु मेसिन, उपकरण र पाइप ढुवानीकै लागि सुनकोसी नदीमा ४ वर्षको हिउँदमा बनाएको डाइभर्सन समेत बनाइएको छ । यही डाइभर्सन भएर सबैभन्दा चुनौतीको रुप मानिएको लट ३ अन्र्तगतको विद्युत गृह भित्र प्रयोग हुने एमएसओभी, जेनेरेटर, टर्वाइन जस्ता ठूला उपकरण ढुवानी भइसकेका छन् । तर लट २ कै पाइप ढुवानीमा सुस्तता देखिएको छ ।
अघिल्लो वर्ष केही पाइप सिन्धुपाल्चोकको सुनकोसी विद्युत केन्द्रसम्म ढुवानीभएको छ । त्यो पनि आयोजनास्थल पु¥याउनु पर्ने बाँकी नै छ । ढुवानी पनि जडान, परीक्षणको काम पनि बाँकी नै छ ।
माथिल्लो तामाकोसीमा टेक्सम्याकोकै ढिलासुस्तीकै कारण आयोजना पूरा हुने लक्ष्य पनि पटक पटक सर्दै आएको छ । पछिल्लो संशोधित कार्यतालिका अनुसार आयोजनाबाट यसै वर्षको अन्तसम्म विद्युत उत्पादन गर्ने लक्ष्य छ । उसैले काम नगरेपछि आयोजना व्यवस्थापन पक्षले लक्ष्यमा असर पर्ने भएकाले निर्माणलाई तीव्रता दिने विकल्प खोजिएको अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए । ‘जसरी पनि तोकिएको समयभित्र आयोजनाबाट विद्युत उत्पादन गर्ने हाम्रो लक्ष्य हो,’ उनले भने, ‘निर्माणका अन्य काममा असर नपर्ने गरी विकल्पबारे छलफल भइरहेको छ ।’ आगामी २ महिनाभित्र सहायक ठेक्काको टुंगो लाग्ने पनि श्रेष्ठले बताए । यो लटमा भारतीय ठेकेदारले गर्न नसक्ने केही काम छुट्ट्याएर अर्कोलाई दिने तयारी छ ।
२०७३ साउनबाट उत्पादन सुरु गर्ने लक्ष्य राखेको आयोजनाले भुकम्पपछि संशोधिन गरी २०७५ असारबाट उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ । भुकम्प र नाकाबन्दी, डलरको मजबुती, बजारमूल्यलगायतका कारण ३५ अर्ब २९ करोड अनुमानितलागत समेत बढेर ४६ अर्बभन्दा बढ्ने भएको छ ।
आयोजनाबाट उत्पादनहुने बिजुली प्रसारण गर्न विद्युतगृह गोंगरबाट खिम्तीसम्म बिजुली जोड्नका लागि २२० केभी क्षमताको प्रसारण लाइनको काम भइरहेको छ । चार लटमा आयोजनाको काम भइरहेको छ । जसअनुसार आयोजनाको सिभिल निर्माणमा चीनको सिनो हाइड्रो कर्पोरेशन, हाइड्रोमेकानिकलमा टेक्सम्याको रेल एण्ड इन्जिनियरिङ लिमिटेड, इलेक्ट्रोमेकानिकलमा अष्ट्रियाको एन्ड्रिज हाइड्रो जीएमबी र प्रसारणलाइन तथा सवस्टेशन निर्माणमा भारतको केईसी इन्टरनेश्नल लिमिटेडले गरिरहेका छन् ।
पाइप ढुवानीको काम आफैंले गर्दै आएको टेक्सम्याकोले पछिल्लो पटक नेपाली गाडीको पनि प्रयोग गर्न थालेको छ । ६ वटा भारतीय टेलर मार्फत ढुवानी भइरहेकोमा एक महिना यता नेपाली नम्बर प्लेटका गाडी पनि प्रयोग भएका छन् । तर खाडीचौर–चरिकोट सडक विस्तार आयोजनामा ठेकेदारले समयमा काम नगर्दा पाइप ढुवानीमा पनि समस्या परेको छ ।

Shares

Be the first to comment on "अपर तामाकोसी लक्ष्य भेट्न भारतीय ठेकेदारको विकल्प खोजिदैँ"

Leave a comment

Your email address will not be published.


*