अमेरिकी डीभी भिसा अन्त्य गर्ने ट्रम्पको घोषणा

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो पटक ‘स्टेट अफ द युनियन’ लाई सम्बोधन गरेका छन् । यस अन्तर्गत उनले रोजगार, अर्थव्यवस्था, आप्रवासी, आतङ्कवाद र राष्ट्रिय सुरक्षाको मुद्दामा आफ्नो कुरा राखेका हुन् ।

यसैबीच ट्रम्पले आप्रवासी र डीभी लोटरी भिसाबारे पनि उक्त कार्यक्रमको भाषणमा केही प्रमुख निर्णयहरु सुनाएका छन् । आप्रवासी सम्बन्धी योजनालाई उनले चार भागमा विभाजित गरि आफ्नो धारणा प्रस्तुत गरेका हुन् ।

पहिलो चरणमा उनले १८ लाख आप्रवासीलाई नागरिकता प्रदान गरिने बताए । त्यस्तै दोस्रोमा सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई अझ कडा बनाइने, तेस्रोमा ग्रीन कार्ड लोटरी भिसाको सुविधालाई अन्त्य गराउने जानकारी गराए ।

र, चौथोमा चेन माइग्रेसन अन्तर्गत एकजना बराबर ल्याउन पाइने परिवारको सदस्यको सङ्ख्यालाई न्युन गराउने योजना उनले सार्वजनिक गराएका छन् ।

राष्ट्रपति ट्रम्पले पछिल्लो समय अमेरिकाको न्यूयोर्कमा भएका आतङ्की हमलाका प्रमुख कारण भिसा लोटरी र चेन माइग्रेसन जस्ता सुविधा भएको बताए ।

यी सेवाहरुले जोकोहीलाई पनि देशमा सजिलै प्रवेश दिलाइरहेकाले अमेरिकामा आतङ्की हमला बढ्दै गएको उनी बताउँछन् । भिसा लोटरी सुविधामा दक्षता, शीप, योग्यता र मानवीय सुरक्षा जस्ता विशेषताबारे गम्भीरतापूर्वक जाँच नगरिने भएकाले यसले अमेरिकी नागरिकहरुको सुरक्षामा खतरा पैदा गरेको हुँदा यसको अन्त्य गर्न जरुरी भएको उनको भनाइ छ ।

यसअघि पनि उनले भिसा लोटरीले जथाभावी काम नलाग्ने मानिसहरु भित्र्याउँछ भन्ने टिप्पणी गरेका थिए ।

डीभी भिसा सम्बन्धि त्यस समयको उनको बयान र यसबेला पनि उनको गलत बुझाइबारे चारैतिर आलोचना भइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले बताएका छन् ।

भिसा लोटरीले देशमा असुरक्षा बढाइरहेकाले यसको समाधान मुलुकका लागि अहिले एकदमै आवश्यक भइसकेको उनले बताएका हुन् ।

तर उनले आधा जानकारीको आधारमा भिसा सम्बन्धि निर्णय लिएको र यसबारे वास्तविक प्रक्रिया कतै उल्लेख नगरेको गुनासो आइरहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले बताएका छन् ।

यसपछि उनले ग्रीनकार्ड पाइसकेका नागरिकले आफ्ना टाढाका आफन्त समेत ल्याउन मिल्ने चेन माइग्रेसन नीतिको पनि अन्त्य गराउने बताए ।

एकजना नागरिक बराबर धेरै सङ्ख्यामा आफन्तहरु भित्रिने गर्दा यसले पनि हानि पुर्याएको भन्दै उनले बालबच्चा र श्रीमान्श्रीमती मात्र ल्याउन पाउने नयाँ नीति लागू गरिने निर्णय सुनाएका हुन् ।

Shares

Dikshan Tv

Dikshan Tv

Be the first to comment on "अमेरिकी डीभी भिसा अन्त्य गर्ने ट्रम्पको घोषणा"

Leave a comment

Your email address will not be published.


*