कप्तान पारसले शतक बनाएपनि नेपाल युएईसँग स्तब्ध

काठमाडौं । नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु क्रिकेटको फाइनलमा नेपाल युएईसँग पराजित भएको छ । बिहिबार भएको फाइनलमा नेपाल युनाइटेड अरब इमिरेट्स (युएई) सँग ७ रनले पराजित भएको हो ।

विन्डहुकस्थित वान्डरर्स क्रिकेट मैदानमा युएईले दिएको २७८ रनको लक्ष्य पछ्याएको नेपालले पुरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर २७० मात्र बनाउन सक्यो । नेपालको लागि कप्तान पारस खड्काले शतकीय पारी खेलेपनि नेपाललाई उपाधि दिलाउन सकेनन् । अविजित रहेका कप्तान पारसले १०३ बलमा ८ छक्का र ३ चौका प्रहार गर्दै ११२ रन बनाए । कप्तान पारसको यो करियरको तेस्रो शतक हो ।

यस्तै नेपालको लागि दिपेन्द्र सिहं ऐरीले ३५, शरद भेषवाकरले ३० तथा उपकप्तान ज्ञानेन्द्र मल्लले २४ रन बनाए । त्यसबाहेक नेपालका रोहित कुमार पौडेलले २३ तथा दिलिप नाथले १३ रन जोडे । युएईका आमिर हायातले ४ तथा इमरान हेइदरले २ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा २७७ रन बनाएको थियो । युएईको उच्च स्कोरमा अस्फाक अहमेदले ११४ रनको शतकीय पारी खेले । उनले १२३ बलको सामना गर्दै १० चौका र ३ छक्का प्रहार गरे ।

यस्तै युएईका ओपनर रोहन मुस्ताफाले पनि ५१ रनको अर्धशतकीय पारी खेलेका थिए । त्यस्तै, अमिज शाहजादले ४१, सैमान अनवारले ४० र घुलाम सब्बिरले १८ रन बनाए । नेपालका लागि सन्दीप लामिछाने, बसन्त रेग्मी र सोमपाल कामीले समान १–१ विकेट लिए ।

प्रतियोगितामा नेपालका युवा बलर सन्दिप लामिछाने प्लेयर अफ दि सिरिज घोषित भए । लेग स्पिनर सन्दिपले प्रतियोगिताभर १७ विकेट लिएका थिए ।

फाइनलमा युएईसँग पराजित भएसँगै नेपाल सन् २०१९ को एकदिवसीय विश्वकप क्रिकेटको लागि आयोजना हुने छनोटको समूह बि मा परेको छ । विश्वकप छनोट आगामी मार्चमा जिम्बाबेमा हुँदै छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले निकालेको छनोट तालिकामा डिभिजन टुको बिजेता समूह ए र उपविजेता समूह बिमा रहेको थियो ।

मार्च १ देखि २५ सम्म हुने विश्वकप छनोटमा टेष्ट राष्ट्र वेष्ट इण्डिज, जिम्बाबे, अफगानिस्तान, आयरल्याण्डसँगै नेदरल्याण्ड, पपुवा न्युगिनी,  स्कटल्याण्ड र हङकङ रहेका छन् ।

डिभिजन टुको उपविजेता बन्दै विश्वकप छनोटमा पुगेको नेपालले समूह बिमा आयोजक जिम्बाबे, अफगानिस्तान,  स्कटल्याण्ड र हङकङसँग प्रतिस्पर्धा गर्ने छ । यस्तै उपाधिसंगै विश्वकप छनोटको पुगेको युएईले वेष्ट इण्डिजसँगै आयरल्याण्ड, नेदरल्याण्ड र पपुवा न्युगिनीसँग खेल्नेछ  ।

छनोटको शिर्ष दुई टोली इंग्ल्यान्ड र वेल्समा हुने विश्वकपमा पुग्ने छ । यस्तै शिर्ष तीनमा पर्ने टोलीले एकदिवसीय मान्यता प्राप्त गर्दा पुछारको दुई टोली डिभिजन टु मै झर्ने छ ।

योसँगै युएईले नेपालसँग लिग चरणमा बेहोरेको हारको बदला समेत लिन सफल भयो । लिग चरणमा नेपालले युएईलाई ४ विकेटले हराएको थियो । प्रतियोगितामा नेपालले शिर्ष स्थानमा रहँदै फाइनलमा स्थान बनाएको थियो । युएईले दोस्रो स्थानमा रहदै फाइनलमा नेपालसँगको भेट  पक्का गरेको हो ।

प्रतियोगितामा क्यानडा तेस्रो र आयोजक नामिबिया चौथो भयो । क्यानडा र नामिबिया डिभिजन टु मै यथावत रह्यो । पाँचौ भएको ओमान र छैटौं स्थानको केन्या भने डिभिजन – ३ मा झरेको छ ।

Shares

Dikshan Tv

Dikshan Tv

Be the first to comment on "कप्तान पारसले शतक बनाएपनि नेपाल युएईसँग स्तब्ध"

Leave a comment

Your email address will not be published.


*