प्रदेश ३ को स्थायी राजधानी तोक्न ५ जिल्ला सिफारिस

ताजा समाचारको लागि फलो गर्नुहोस ।

हेटौंडा — प्रदेश ३ को स्थायी राजधानी तोक्न ५ जिल्ला सिफारिस गरिएको छ । प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले वर्णानुक्रम अनुसार काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुर सिफारिस गरेको हो । प्रतिवेदन मंगलबार सभामुख सानुकुमार श्रेष्ठलाई बुझाइएको छ । २ महिनाको अवधिमा गरेको स्थलगत अध्ययन, प्रश्नावलीको आधारमा समितिले प्रतिवेदन तयार गरेको हो। सभापति दीपक निरौलाले प्राथमिकता क्रम नतोकी वर्णानुक्रमअनुसार तोकिएको बताए। ‘समितिलाई औचित्यका आधारमा सम्भाव्यथा तोक्ने क्षेत्राधिकार तोकिएको थियो,’ उनले भने, ‘सोही अनुसार हामीले राजधानी रहन सक्ने सम्भाव्य स्थानको सिफारिस गरेका हौं, यसबारे निर्णय गर्ने सम्पूर्ण अधिकार प्रदेशसभामा रहेकाले प्राथमिकता क्रम तोकेनौं।’ उनले चालू अधिवेशनमा नै प्रतिवेदन सदनमा प्रस्तुत भएर निष्कर्षमा पुग्ने विश्वास गरे। प्रतिवेदनमा जिल्लाको क्षेत्रफल, जनसंख्या, स्थानीय तहको संख्या, जिल्लागत दूरी, पूर्वाधारको अवस्था, सामाजिक सांस्कृतिक, वातावरणीय अवस्था विश्लेषण गरेर जिल्लाको स्थिति स्पष्ट उल्लेख गरिएको छ। प्रतिवेदन लेखन कार्यदलका संयोजक विशाल खड्काले सम्भाव्यता अध्ययन मात्रै गर्न भनिएकाले प्राथमिकता क्रम नतोकिए पनि स्पष्ट रुपमा उल्लेख गरिएको बताए। ‘त्यहाँ सबै जिल्लाको जन्मुण्डली नै उत्तारिएको छ, जन्ममिति लेखेका छौं तर जेठो कान्छो छुट्याएका छैनौं,’ उनले भने, ‘निर्णय गर्ने अधिकार प्रदेश सभामा नै रहेकोले सम्भाव्य जिल्ला मात्रै सिफारिस भएको हो।’ यसअघि समितिले जेठ २८ गतेदेखि ३० गतेसम्म चितवन, काभ्रे, भक्तपुर, नुवाकोट र हेटौंडाको स्थलगत अध्ययन गरेको थियो। काभ्रे, मकवानपुर, भक्तपुर, नुवाकोट, सिन्धुपाल्चोक, चितवन, ललितपुर र रामेछापले जिल्लाको बस्तुगत स्थिति झल्कने गरी भरेर पठाएको १ सय २३ प्रश्नसहितको प्रश्नावली पनि समितिले अध्ययन गरेको थियो। ‘औचित्यताका आधारमा’ सभालाई प्रतिवेदन पेस गर्न बढीमा ४५ दिनको म्याद तोकेर वैशाख १४ गते गठित गठन भएको राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले वैशाख ३० गतेबाट काम थालेको थियो। समयमा प्रतिवेदन दिन नसकेपछि समितिको म्याद १५ दिन थपिएको थियो। ३ छुट्टाछुट्टै प्रस्ताव दर्ता भएपनि सभामा यसबारे छलफल अघि नै नबढाएपछि ३८ सांसदको हस्ताक्षरसहित सचिवालयमा निवेदन दर्ता भए लगत्तै समिति गठन भएको थियो। सांसद दीपक निरौलाको संयोजकत्वमा रहेको १३ सदस्यीय समितिमा तत्कालीन एमालेका तर्फबाट रामकुमार अधिकारी, विजय सुवेदी, वसन्त मानन्धर, सरस्वती बस्नेत, माओवादी केन्द्रका विशाल खड्का र जगत सिंखडा, नेपाली कांग्रेसका छिरिङ दोर्जे लामा र प्रभात तामाङ, विवेकशील साझा पार्टीका विराजभक्त श्रेष्ठ, नेमकिपाका सुरेन्द्रराज गोसाई, राप्रपाका रिता माझी र राप्रपा (प्रजातान्त्रिक) का रिना गुरुङ सदस्य छन्।
Shares

Be the first to comment on "प्रदेश ३ को स्थायी राजधानी तोक्न ५ जिल्ला सिफारिस"

Leave a comment

Your email address will not be published.


*