बालुवा गिटी सहज नभए आन्दोलनमा उत्रने काँग्रेसको चेतावनी

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दोलखा, ६ असार–भुकम्प पीडितको घर पुर्ननिर्माणको मिति नजिकिदा बालुवा गिटी सहज नभए आन्दोलनमा उत्रने नेपाली काँग्रेसले चेतावनी दिएको छ । बालुवा गिटी अभावमै निजी आवास सहितका पूर्वाधार निर्माण हुन नसक्ने अवस्था आउने भएको छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले निजी आवास निर्माणका लागि असारमसान्तसम्म दोस्रो किस्ता लिइ सक्नु पर्ने व्यवस्था गरेको छ ।
अहिले बजारमा बालुवा गिटीको हाहाकार छ । पुर्ननिर्माण प्राधिकरणले तोकेको मिति नजिकीन लाग्दा भुकम्प पीडितहरु घर बनाउने तयारी भए तापनि बालुवा गिटीको अभाव र अन्य निर्माण सामाग्रीको मूल्य वृद्धिले समस्या परेको छ । केही महिनायता प्रशासनले नदीबाट बालुवा गिटी उत्खनन्मा कडाइ गर्दा अहिले बजारमा अभाव चुलिएको हो ।अभाव हटाउनका लागि नेपाली काँग्रेस दोलखाले जिल्ला प्रशासन कार्यालयमा बुधबार ज्ञापन पत्र समेत बुझाएको छ । काँग्रेस दोलखा सचिव सन्तोष रिमालको नेतृत्वमा जिल्ला प्रशासन पुगेको टोलीले पुर्ननिर्माणका बेला बालुवा गिटीको अभाव हटाउन र अस्वभाविक मूल्य नियन्त्रण गर्न माग गरेको छ ।
जिल्लामा सञ्चालित क्रसर उद्योगमा समेत सरकारले राजनैतिक आस्थाका आधारमा विभेद गरेर कडाइ गर्ने गरेको काँग्रेस सचिव रिमालले बताए । सरकारले विभेदकारी नीति त्यागेर निर्माण सामाग्री सहज नगरे कडा संघर्षमा उत्रने चेतावनी समेत दिए ।
वैत्यश्वर गाउँपालिकाका अध्यक्ष छवि लामाले बालुवा गिटीकै अभावमा २ महिना यता पुर्ननिर्माणको काम ठप्प भएको बताए । सरकारले पुर्ननिर्माण चाँडो गर्न ताकेता गरेर बालुवा गिटी लगायतका निर्माण सामग्री रोक्ने दोहोरो भूमिका खेलेको आरोप लगाए ।
ढुङ्गा गिटी लगायतका निर्माण सामाग्री अभावमा भुकम्प पीडितले निजी आवास बनाउन नपाएको भन्दै दोलखाका नागरिक समाजका प्रतिनिधिहरुले पनि मंगलबार जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयको ध्यानाकार्षण समेत गराएका थिए । सहायक प्रमुख जिल्ला अधिकारी सुरेस आचार्यले बालुवा गिटीलाई स्थानीय तहले व्यवस्थित गरे यस्तो समस्या नआउने बताए । नदी दोहन अव्यवस्थित भएकाले केन्द्रकै निर्देशनमा रोक्नु परेको उनले जानकारी दिए ।

Shares

Be the first to comment on "बालुवा गिटी सहज नभए आन्दोलनमा उत्रने काँग्रेसको चेतावनी"

Leave a comment

Your email address will not be published.


*