रोकिएका सडकको काम सुचारु हुने

दीक्षण समाचार
चरिकोट, ९ पुस
३ महिनादेखि रोकिएका सडकको काम अब सुचारु हुने भएको छ । पुराना ठेक्का लागेका काम संघ र प्रदेश कुन सरकारले हेर्ने भन्ने अन्यौलतापछि रोकिएका सडक योजनाका काम पुनः सुचारु हुन लागेको हो । यस अघि निमयमित काम भइरहेका सडक समेत सडक विभागकै परिपत्रका आधारमा रोकिएका थिए ।
सडक डिभिजन कार्यालय चरिकोटका डिभिजन प्रमुख धर्मेन्द्रकुमार झाले अब कुनै पनि काम नरोकिने जानकारी दिए । “विगतमा अन्यौलताकै कारण काम रोकिएको थियो” उनले भने “अहिले प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयले नै पत्र लेखेर प्रदेशका संरचना नबनेको अवस्थामा मिलेर काम गर्न आग्रह गरेकाले अब सडक डिभिजन मार्फतै ति काम हुन्छन् ।” जसले गरे पनि नेपाल सरकारकै बजेट खर्च गर्ने भएकाले यसमा विवादको कुनै औचित्य नहुने बताए ।
सडक विभागले परिपत्र गरी पुल र राजमार्ग मर्मत बाहेकका सबै काम रोक्न निर्देशन दिएको थियो । प्रदेश सरकारको प्राविधिक र कार्यालयका संरचना तयार नहुञ्जेल संघीय सरकारकै कार्यालयले नै हेर्ने भएका छन् । काम गर्ने सिजनमा काम नहुँदा सडक विभागका इन्जिनियरहरु काम विहीन भएका थिए । उता सरकारको पुँजीगत बजेट समेत खर्च हुन सकेको थिएन ।
अब दोलखाको लामाबगर–चिन सडकसँगै, जिरी–ढिङ्गी, जिरी–खिम्ती, दोलखा–चरिकोट सडक विस्तार, चरिकोट–कालिञ्चोक, गुरुम्फी–मस्तिङ लगायत एक दर्जन योजना अलपत्र परेका छन् । राजमार्ग र दुई देश जोड्ने सडक योजना संघीय मन्त्रालय अन्र्तगत राख्ने विगतमा सूचना आएको छ । यस्ता योजना दोलखा र सिन्धुचाल्चोकमा गरी ४० वटा योजना अलपत्र परेका छन् ।
डिभिजन प्रमुख झाका अनुसार आफू आउने वित्तिकै विगतमा अलपत्र परेका दोलखा–चरिकोट कालोपत्रे र फिल्म सिटी जाने सडकको काम सुरु भएको छ । अन्य सडकको पनि सुचारु हुन्छ । कामका मूल्याङ्कन गरेर संघ वा प्रदेश जुनबाट भुक्तानी पाउनु पर्ने हो निर्माण व्यवसायीले पाउने उनले बताए ।
काम रोकिदा निर्माण व्यवसायीहरु दैनिकजसो कार्यालयमा गुनासो लिएर पुग्ने गरेका छन् । भुक्तानीको अन्यौलताले दसैं अघिसम्म काम गरेका करोडौं समेत सडक विभागबाट भुक्तानी पाउन बाँकी रहेको निर्माण व्यवसायीहरुको गुनासो छ ।

Shares

Dikshan Tv

Dikshan Tv

Be the first to comment on "रोकिएका सडकको काम सुचारु हुने"

Leave a comment

Your email address will not be published.


*