रोल्वालिङ केबलकारका लागि ३ विदेशी कम्पनी छनौट

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
दोलखा, २४ असोज
रोल्वालिङ खोला जलविद्युत आयोजनाका लागि केबलकार बनाउन अहिले ३ विदेशी कम्पनी अन्तिम छनोटमा परेका छन् । अष्ट्रियाको डोप्पेलमयर सेइलबह्नेन, स्वीटजरल्यान्डको बार्थोलेट मस्चिनेन्बउ एजी र फ्रान्सको पोमा एसएएस छनोटमा परेका छन् ।
विगू गाउँपालिका वडा नं. १ छेतछेतदेखि गौरीशंकर गाउँपालिका वडा नं. ९ रिकुसम्म केबलकार निर्माण हुने भएको छ । रोल्वालिङ खोला जलविद्युत आयोजना निर्माण गर्नका लागि केबलकार भएको हो । आयोजना निर्माणका लागि बाँध निर्माणका लागि ढुवानी र आवतजावतका लागि सहज हुने गरी २.४ किलोमिटर केबलकार बनाउँन लागेको हो ।
अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीले २२ मेगावाटको रोल्वालिङ खोला जलविद्युत आयोजना निर्माण गर्न लागेको छ । आयोजनाको पहुँचमार्गका रूपमा प्रयोग गर्न सडकभन्दा सस्तो र छिटो हुने भएकाले केबलकार निर्माणमा ध्यान दिएको हो ।
ठेक्का पाउने कम्पनीले केबलकार डिजाइन, निर्माण, आपूर्ति, ढुवानी, जडान, परीक्षणलगायत काम गर्नुपर्नेछ । साथै, निर्माणपछि ६ महिना सञ्चालन तथा मर्मतसमेत गर्नुपर्ने सर्त छ । ठेकेदार कम्पनीको अन्तिम छनोट गर्न आगामी कात्तिक २२ गते (सेप्टेम्बर ६, २०१८) बैठक बस्ने जनाइएको छ । केबलकार निर्माण गर्न १ लाख १८ हजार अमेरिकी डलरको सीमा तोकिएको छ । अपर तामाकोसीले नै ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना पनि निर्माण गरिरहेको छ । आयोजनाको भौतिक प्रगति ९७ प्रतिशत छ ।
आयोजना निर्माण क्रममा निर्माण सामग्री, उपकरण ढुवानी र कामदार आउजाउ केबलकारबाटै गर्ने गरी यसको निर्माण गर्न लागेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए । छेतछेतदेखि रिकूसम्मको उचाइ करिब ६ सय मिटर रहेको छ । केबलकार छेतछेत–सिमीगाउँ हुँदै रिकू जोडिने छ ।
आयोजनाको बाँध निर्माणमा आवश्यक ठूला उपकरण भने हेलिकोप्टरबाट ढुवानी गर्ने योजना छ । आयोजना निर्माणपछि केबलकार ती गाउँमा आउजाउ गर्ने मार्गका रूपमा प्रयोग हुनेछ । केबलकारकै माध्यमबाट रिकु र सिमी गाउँलाई पर्यटकीयस्थल बनाउन सकिने सम्भावना पनि छ । केबलकार निर्माणपछि रोल्वालिङ क्षेत्रको पर्यटन प्रबद्र्धनमा समेत ठूलो टेवा पुग्ने प्रवक्ता न्यौपानेले बताए ।
आयोजनाको रिकु गाउँभन्दा केही माथि रोल्वालिङ खोलामा बाँध निर्माण गरी साढे ६ किलोमिटर सुरुङबाट विद्युतगृह सम्म पानी खसालिनेछ । विद्युतगृह तामाकोसीको बाँधभन्दा केही माथि निर्माण हुने उनले बताए । यसअघि उक्त खोलाबाट ल्याइएको पानी तामाकोसीको जलाशयमा मिसाएर १७ करोड युनिट थप विद्युत उत्पादन गर्ने लक्ष्य थियो ।
लामाबगरमा रहेको तामाकोसीको बाँधभन्दा रोल्वालिङको बाँध माथि रहेकाले थप अध्ययनबाट अर्को आयोजना बन्ने भएपछि छुट्टै आयोजना बनाउन लागेको हो । २२ मेगावाटको विद्युतगृहबाट निस्केको पानी तामाकोसीको जलाशयमा मिसाइनेछ । यसो हुँदा चिलिमेबराबरको आयोजना बन्ने र तामाकोसीमा ऊर्जा समेत थपिनेछ । क्यू ४० मा निर्माण हुने आयोजनाको लागत करिब ४ अर्ब रुपैयाँ अनुमान गरिएको छ । २०७५ को मध्यतिर सुरु गरेर ४ वर्षमा आयोजना पूरा गर्ने लक्ष्य छ ।
आयोजनाको नेपाल विद्युत प्राधिकरण अन्र्तगतको इन्जिनियरिङ कम्पनीले आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन(डिपिआर) को काम गर्दै आएको छ । कम्पनीले अको ८ महिनासम्ममा डिपिआर बुझाउने कार्यतालिका छ ।
रोल्वालिङ क्षेत्रको पदमार्ग जाने मार्ग पनि यही हो । छेतछेतदेखि सुरु हुने पदमार्गको सिमीगाउँसम्मकै यात्रा ठाडो उकालो क्षेत्र हो । केबलकार बनेपछि रोल्वालिङ क्षेत्रको भ्रमणमा जाने पर्यटकहरुको उल्लेख्य वृद्धि हुने बेदिङकी पर्यटन व्यवसायी निमबुटी शेर्पाले बताइन् ।

Shares

Be the first to comment on "रोल्वालिङ केबलकारका लागि ३ विदेशी कम्पनी छनौट"

Leave a comment

Your email address will not be published.


*