विश्वकपकामा के होला फाइनलमा ?

ताजा समाचारको लागि फलो गर्नुहोस ।

एजेन्सी । २१ औं संस्करणको फिफा विश्वकप फुटबल यसअघिका विश्वकप भन्दा अलिक पृथक हुन पुग्यो । विभिन्न विश्लेषक तथा फुटबलका पारखीहरुलाई आश्चर्यचकित बनाउँदै क्रोएसिया र फ्रान्स विश्वकपको उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।

रसियामा जारी विश्वकप फुटबल सुरु हुनुभन्दा पहिले फुटबलका पारखी र विश्लेषकले गरेको अनुमान गलत सावित भइसकेका छन् । फुटबलका धेरै विश्लेषक र अनुसन्धान केन्द्रहरुले विश्वकप ब्राजिल, स्पेन, जर्मनी, अर्जेन्टिना वा पोर्चुगलले जित्ने दाबी गरेका थिए ।

गोल्डम्यान म्याक्स, विभिन्न आर्टिफिसियल इन्टेलिजेन्स (एआई), चर्चित अमेरिकी संस्था ग्रासनोट, जर्मनीको टेक्निकल युनिभर्सिटी अफ डोर्टमन्डका अनुसन्धानकर्तालगायतले गरेका अनुमान गलत सावित भए ।

 ग्रासनोटले विश्वकप फुटबलको उपाधि ब्राजिलले जित्ने भनेर पूर्वानुमान गरेको थियो । फाइनलमा स्पेनलाई पराजित गर्दै ब्राजिलले उपाधि उचाल्ने ग्रासनोटको दाबी थियो । तर, स्पेन प्रिक्वार्टरफाइनलबाटै बाहिरियो । आयोजक रसियासँग पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित हुँदै २०१० को विश्वकप विजेता स्पेन प्रिक्वार्टरफाइनलबाटै बाहिरिएको हो ।

२०१४ को विजेता जर्मनी समूह चरणबाटै बाहिरियो भने अनुसन्धान केन्द्रहरूले उपाधि जित्ने भनेर अनुमान गरेका अर्जेन्टिना, पोर्चुगल, स्पेन पनि प्रिक्वार्टरफाइनलबाटै बाहिरिए । त्यस्तै, ब्राजिल पनि क्वार्टरफाइनलबाटै बाहिरियो ।

वित्तीय क्षेत्रको पूर्वानुमान गर्ने प्रतिष्ठित गोल्डम्यान स्याक्सले फ्रान्स, पोर्चुगल, जर्मनी र ब्राजिल सेमिफाइनलमा पुग्ने भविष्यवाणी गरेको थियो । जर्मनीले पोर्चुगललाई पराजित गर्दै फाइनलमा पुग्ने अनुमान उसको थियो । अर्को सेमिफाइनलमा ब्राजिलले फ्रान्सलाई पराजित गरी फाइनलमा स्थान बनाउने अनुमान उसले गरेको थियो । त्यस्तै, फाइनलमा जर्मनीलाई ब्राजिलले पराजित गर्दै विश्वकपको ट्रफि उचाल्ने भविष्यवाणी उसको थियो । तर, यो अनुमान एक छेउ पनि मिल्न सकेन ।

त्यस्तै, गोल्डम्यान स्याक्सका विज्ञहरूले इंग्ल्यान्ड क्वार्टरफाइनलसम्म पुग्ने अनुमान गरेका थिए । क्वार्टरफाइनलमा इंग्ल्यान्ड जर्मनीको सिकार हुने विज्ञको तर्क थियो । तर यो पनि गलत सावित भएको छ ।

जर्मनीको टेक्निकल युनिभर्सिटी अफ डोर्टमन्डका अनुसन्धानकर्ताहरूले एआर्ईको प्रयोग गरी र्यान्डम फरेस्ट अप्रोचले विजेताको पहिचान गरेको थियो । जर्मन मोडलको पूर्वानुमानले स्पेनले विश्वकप फुटबलको उपाधि उचाल्ने अनुमान गरेको थियो ।

अस्ट्रियन गणितिज्ञहरूले विश्वकपको ट्रफी उचाल्न ब्राजिल र जर्मनी फाइनलमा पुग्ने भविष्यवाणी गरेका थिए । अस्ट्रियाको युनिभर्सिटी अफ इन्सब्रुकका अनुसन्धानकर्ताहरूले अध्ययन जटिल तथ्यांकीय विधिको प्रयोग गरी विश्वकप विजेताको टुंगो लगाएका थिए । ब्राजिलले जर्मनीलाई पराजित गर्दै विश्वकप उपाधि छैटाैं पटक उचाल्ने अनुमान थियो ।

विश्वकप फुटबलको फाइनलमा फ्रान्स र क्रोएसिया पुग्ने छन् भनेर कुनै पनि संस्था, विज्ञ, अनुसन्धानकर्ता तथा ज्योतिषीले भविष्यवाणी गरेका थिएनन् ।

फाइनल खेल आज राति ८ बजेर ४५ मिनेटमा सुरु हुँदैछ । क्रोएसियाले फ्रान्सलाई पराजित गर्दै उपाधि उचाले इतिहास रच्नेछ । क्रोएसियालाई पराजित गर्दै विश्वकपको उपाधि जितेमा फ्रान्सले २० वर्षपछि विश्वकप आफ्नो देशमा भित्र्याउनेछ ।

Shares

Be the first to comment on "विश्वकपकामा के होला फाइनलमा ?"

Leave a comment

Your email address will not be published.


*