असारको चटारोमा शेयर निस्कासन

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट – माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले दोलखा जिल्लावासीको लागि जारी पूँजीको १० प्रतिशतले हुन आउने सेयर मध्ये असारमा आवेदनको लागि आह्वान गरेको छ । मानो खाएर मूरी फलाउनका लागि खेती गर्ने किसानहरुदेखि बैंक तथा वित्तीय संस्थासम्मलाई यसले चटारोमा पारेको छ ।
राष्ट्रिय पुर्न निर्माण प्राधिकरणले तोकेको निजी आवास निर्माणको दोस्रो किस्ता लिने मिति पनि असार मसान्त हो । विकासे कार्यालयको हिसावकिताव मिलान र बैंक तथा वित्तीय संस्थाहरुको क्लोजिङको समय पनि यही हो । यही अप्ठ्यारो बेला बहु प्रतिक्षित माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको लागि समेत सेयर जारी भयो ।
अपर तामाकोशी हाईड्रोपावर लिमिटेडले मंगलबार सार्वजनिक सूचना जारी गरी जिल्लास्थित आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि सेयर आवेदन आह्वान गरेको हो ।
दोलखा जिल्लाबासीका लागि रु. १ अर्ब ५ करोड ९० लाख मूल्य बराबरको १ करोड ५ लाख ९० हजार कित्ता सेयर निष्काशन भएको छ । दोलखा जिल्लाबासीले असार २४ गते आइतबारदेखि साउन ९ गते बुधबारसम्म १८ दिनभित्र आवेदन दिन सक्ने माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए । तर यो अवधीमा प्रयाप्त आवेदन नपरेमा १५ दिन समय थप हुन सक्ने अवस्था छ ।
दोलखास्थित आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले न्युनतम ३० देखि ३ सय कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । पहिलो चरणमा दोलखास्थित आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि मात्रै सेयर खुलाईएको हो । स्थानीय र सर्बसाधारणहरुबाट संकलन गरिएको सेयर वापतको रकमलाई आयोजना निर्माण गरिरहेको विभिन्न लटको ठेकेदारहरुलाई भुक्तानी कार्यमा खर्च गरिनेछ ।
ऋण लगानीकर्तासँग लिएको ऋण पनि सकिएको र २५ प्रतिशत सेयर पनि संकलन हुन नसक्दा आयोजनालाई ठेकेदारलाई भुक्तानीका लागि कठिन हुँदै आएको छ । स्थानीय र सर्वसाधारणबाट २ अर्ब ६४ करोड सेयर वापतको रकम संकलन हुन्छ ।
सेयर आवेदनका लागि दोलखा जिल्लास्थित १० ओटा बैंक तथा आयोजनाको केन्द्रीय कार्यालय लामाबगरको गोंगरखोलामा पनि बुझाउन सकिनेछ । बैदेशिक रोजगारीमा रहेकाहरुले कम्पनीको वेबसाइटबाट डाउनलोड गरि फारम भरेर आवेदन बुझाउन सक्नेछन् ।
४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजना दोलखाको विगु गाउँपालिका–१, लामावगरमा निर्माणाधिन स्वदेशी लगानीको सबैभन्दा ठूलो आयोजना हो । २०७५ पुससम्ममा उत्पादन लक्ष्य लिएको आयोजनाको निर्माण कार्य हालसम्म ९६ प्रतिशत सम्पन्न भएको आयोजनाले जनाएको छ ।
नागरिक समाजको ध्यानाकार्षण
दोलखाका नागरिक समाजका प्रतिनिधिहरुले बर्षा र असारको मसान्तको बेला आव्हान गरेको सेयर संकलन प्रक्रिया पछाडि सार्न आग्रह गरेको छ । जिल्ला समन्वय समिति दोलखाका संयोजक र प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाए । नागरिक समाजका प्रतिनिधिहरु चिरञ्जीवि मास्के, लक्ष्मण खड्का, होम पाठक र उद्धव पोखरेलले सेयर वितरण प्रक्रिया वर्षा लगत्तै गर्न माग गरेका छन् ।
त्यसैगरी तामाकोसी संघर्ष समितिका संयोजक वर्मा लामाले पनि आफ्ना मागहरु सम्बोधन नगरी सेयर आव्हान गरेकोमा आश्चर्य व्यक्त गरे ।

Shares

Be the first to comment on "असारको चटारोमा शेयर निस्कासन"

Leave a comment

Your email address will not be published.


*