कालिञ्चोक गाउँपालिकाले क्रसर बन्द गरायो, निर्माण प्रभावित

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
सिंगटी, ३१ भदौ
दोलखाको सिङ्गटीमा सञ्चालित एक मात्र क्रसर उद्योग बन्द हुँदा पुनः निमार्णको काम अलपत्र परेको छ । क्रसर बन्दले जिल्लाको कालिञ्चोक, विगू र गौरीशंकर तीन गाउँपालिकाको विकास निर्माण समेत प्रभावित भएको छ ।
कालिञ्चोक गाउँपालिकाले भीमेश्वर क्रसर उद्योग बन्द गराएको हो । यो क्रसर दोलखाको उत्तरी क्षेत्रको साविकको गाउँ विकास भित्रको एक मात्र क्रसर उद्योग हो । यसले माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको प्रवेशमार्गदेखि भूकम्प पीडितका आवास निर्माण विद्यालय पुनः निर्माण गिटी बालुवा उपलब्ध गराउँदै आएको थियो ।
कालिञ्चोक गाउँपालिका वडा नं. ४ को चप्लेटी नजिक तामाकोसी किनारमा यो क्रसर उद्योग सञ्चालित छ । यो उद्योग ७ वर्षदेखि त्यहाँ सञ्चालित छ । तर कालिञ्चोक गाउँपालिका कार्यपालिकाको कार्यालय र कालिञ्चोक गाउँपालिका वडा नं ४ कार्यालयले छुट्टा छुट्टै पत्र लेखी क्रसर बन्द गर्न निर्देशन दिएको हो । गाउँपालिका र वडा कार्यालयले नै बन्द गर्न निर्देशन दिएपछि ५ दिनदेखि क्रसर बन्द गरेको उद्योगका सञ्चालकले जानकारी दिएका छन् ।
उद्योग बन्द भएपछि ५ दिन यता त्यस क्षेत्रमा निर्माण सामाग्री आपूर्ती ठप्प भएको छ । “घर बनाएर सकिन लागेको थियो, अब एक ट्याक्टर भए पुग्ने थियो” सिंगटीका एक व्यवसायीले भने “एक ट्याक्टर बालुवा नहुँदा मैले घरको अन्तिम ढलान नै रोक्नु प¥यो ।” जनप्रतिनिधि आउँदा विकासमा सहयोग गर्लान् भनेको झन् दुःख दिने काम भएको उनले गुनासो गरे ।
भएको एक मात्र क्रसर उद्योग बन्द हुँदा दोलखा–सिंगटी कालोपत्रे हुन लागेको सडक, सुनखानी–सांबा सडक, विभिन्न निर्माणाधिन विद्यालयका भवन, स्वास्थ्य चौकी समेत प्रभावित भएका छन् । दोलखा सिंगटी सडक खण्डको सुनखानीदेखि सिंगटीसम्मको वाल, नाली लगायतको काम जारी छ । त्यसैगरी सिंगटी–लामाबगर सडकमा पनि यहीको निर्माण सामाग्री प्रयोग हुँदै आएको छ ।
कालिञ्चोक गाउँपालिकाका अध्यक्ष विनकुमार थामीले क्रसरले गत आर्थिक वर्षको कर गाउँपालिकालाई नतिरेका कारण क्रसर बन्द गर्न बाध्य भएको प्रतिक्रिया दिए । “पटक पटक क्रसरबाट उठेको कर तिर्न ताकेता गरेका हौं” उनले भने “क्रसरले कर नतिरेपछि ३ नं. प्रदेश कार्यालयको परिपत्र अनुसार कारबाही स्वरुप क्रसर बन्द गराएका हौं ।” आफ्नो बिक्री गरेको परिणाम अनुसार गाउँपालिकालाई क्रसरले कर तिर्नुपर्ने बताए ।

Shares

Be the first to comment on "कालिञ्चोक गाउँपालिकाले क्रसर बन्द गरायो, निर्माण प्रभावित"

Leave a comment

Your email address will not be published.


*