तलब सहित सुत्केरी बिदा ६ महिना व्यवस्था गर्नुपर्छ— बस्नेत

ताजा समाचारको लागि फलो गर्नुहोस ।

‘आमा बुबाको सक्षमता, स्तनपानको सफलता’ यहि नाराको साथमा दोलखामा पनि विभिन्न संघसंस्था लगायत स्थानिय तहहरुले जनचेतनामूलक कार्यक्रम गरी विश्व स्तनपान सप्ताह मनाएका छन् । यसै सन्दर्भमा स्वास्थ्य कार्यालय दोलखाकी सिनियर अनमी सबिना बस्नेतसँग दीक्षण दैनिकका लागी सहकर्मी ईश्वर बिश्वकर्माले गरेको प्रस्तुत संवाद ।

 स्तनपान सप्ताह मनाइरहँदा स्तनपान भनेको के हो ?

स्तनपान भनेको शिशुको लागी पोषिलो र पहिलो आहारा हो । यसलाई पहिलो खोप पनि भनिन्छ । स्तनपानले शिशुलाई विभिन्न रोगबाट बचाउँछ । कम्तीमा पनि छ महिनासम्म स्तनपान गराउन सकेमा शिशुसँग सँगै आमाको शरिर पनि स्वस्थ हुन्छ । २ वर्षसम्म आमाको दुधसँगै पोषिलो खानेकुरा खुवाएमा बच्चाको शारिरीक विकास सँगै मानशिक र बौद्धिक विकासमा पनि बृद्धि हुन्छ । स्तनपान एउटा बच्चाको लागि अधिकार हो ।  जुन अधिकार पाएमा बच्चालाई धेरै रोगबाट जोगिन सहयोग गर्दछ । केही कतिपपय आमाहरु स्तनपानले शरीरको तौल घट्ने, स्तनको आकार बिग्रने जस्ता विचार रहेको पाइन्छ । साँच्चिनै स्तनपानले आमालाई चाँहि असर गर्ने हो ? एकदमै गलत विचार हो । स्तनपानले आमालाई र बच्चालाई स्वस्थ बनाउँछ । स्तन बिग्रने, तौल घट्ने लगायतका धारणा भ्रम हुन । करिब १० १५ वर्ष अघि स्तनपान सम्बन्धमा खासै मानिसमा ज्ञान नभएकाले त्यस्ता समस्या आउन सक्छ भन्ने धारणा थियो । बिगौती दुध पनि बच्चालाई नखुवाई निचोरेर फाल्दथे । जसले बच्चालाई पुर्ण पौष्टिक तत्व पुग्दैनथियो । जन्मिएको १ दिनबाट नै शिशुलाई लिटो, जाउलो लगायतका खानेकुरा खुवाउथे । जसले गर्दा बच्चाले पुरा रुपमा पौष्टिक तत्व अभाव भई विभिन्न रोगले आक्रमण गरि शिशुको ज्यानै जाने खतरा हुन्थ्यो । तर यो समयमा स्तनपानले स्तन बिग्रने, तौल घट्ने भन्ने कुरा झुटो र भ्रम हो । यसलाई सबैले हटाउनुपर्छ । स्तनपानले त आमाको सौन्दर्यता बढाउँछ । स्तनपानले आमा र बच्चालाई माया, ममता र स्नेह बढाउन सहयोग गर्दछ । गर्भवती र सुत्केरी अवस्थामा आमाले पोषिलो खानेकुरा पर्याप्त खान जरुरी छ ।

स्तनपानका लागी बच्चाको बुबा र घर परिवारको कस्तो किसिमको भुमिका हुन्छ नि ?
पक्कै पनि स्तनपानका लागि घरपरिवार सँगै बच्चाको बुबाको पनि महत्वपुर्ण भुमिका हुन्छ । एउटा बच्चा युवा अवस्थामा पुग्न परिवारका सबै सदस्यको उतिकै जिम्मेवारी हुन्छ । हामी सबैलाई समाजमा महिलाहरुलाई कति गाह्रो हुृन्छ । कामको बोझ पनि महिलाले बढीमात्रमा लिनुपर्छ, जसले गर्दा आमाले आफ्नो शिशुलाई दुध खुवाउने समय पनि हुदैन । त्यस्तो अवस्थामा काम परिवारको सदस्यले गरेर सघाउन सकेमा आमाले स्तनपान गराउन समय पाउदथिन । तर बिडम्बना हाम्रो समाजमा त्यो अवस्था पाउन सकिदैन । कतिपय ठाउँमा त त्यो वातावरण भएको देखिन्छ तर एक,दुइ ठाउँमा मात्र भएन, समाजमा बच्चालाई स्तनपानका लागी आमालाई सहयोगका गर्न सक्नुपर्दछ । ताकि बच्चाले पर्याप्त मात्रामा आमाको दुध खान पाओस् । यसको लागी समाजमा सचेतनाको आवश्यकता देखिन्छ । स्तनपानका लागी जनचेतना मूलक कार्यक्रम गर्दा पुरुषलाई पनि सहभागिता गराउनुपर्छ ।

स्तनपानका लागी सचेतना किन पु¥याउन सकिएन सचेतना मूलक कार्यक्रमका लागी कस्ले के गर्नुपर्ला ?
पक्कै पनि स्तनपानको महत्वबारेमा शिक्षा दिनका लागी महत्वपुर्ण भुमिका स्थानिय तहकै हुन्छ । साथै विभिन्न क्षेत्रका मानिसले पनि यसका लागी भुमिका खेल्न सक्दछन् । समुदायमा स्वास्थ्य क्रमीहरु कृषक समुह, स्वास्थ्य स्वयमसेविका लगायतले स्तनपान सम्बन्धमा जानकारी दिदाँ राम्रो हुन्छ । त्यसका साथै समुदायमा गठन भएका आमा समुहलाई स्तनपान बारे जानकारी दिन सकेमा अझ प्रभावकारी हुन्छ । स्तनपान बारे जानकारीका लागी सबै क्षेत्रको महत्वपुर्ण जिम्मेवारी हुन्छ ।

सरकारी, गैर सरकारी वा निजी संस्थामा कार्यरत महिलालाई सुत्केरी हुनुपुर्व र सुत्केरी भइसकेपछि तलब सहित बिदा दिने व्यवस्था छ, यस विषयमा तपाइको धारणा के छ ?

सरकारी, गैरसकारी वा निजी संघसंस्थाले ३ महिना तलब सहित सुत्केरी बिदा दिने व्यवस्था छ । यो एकदमै राम्रो पक्ष हो । सरकारले २ महिनाबाट ३ महिनाको व्यवस्था राखेको छ, तर यतीले मात्र पुग्दैन सुत्केरी महिलालाई ६ महिनासम्म तलब सहितको बिदाको प्रबन्ध सरकारले गर्न सकेको खण्डमा अत्यन्तै राम्रो हुन्थ्यो । सुत्केरी बिदा ६ महिनाको हुनुपर्ने माग हामीले गर्नूपर्छ । जसले गर्दा सुत्केरी महिलालाईले आफ्नो बच्चालाई स्तनपान पर्याप्त मात्रामा गराउन सक्दथिन् । साथै आफ्नो स्वास्थ्यलाई पनि स्वस्थ बनाउन सक्ने अवस्था पाउदथिन । साथै श्रीमती सुत्केरी भएमा पुरुषलाई पनि स्याहारसुसारका लागि बिदा दिने व्यवस्था छ । यसले समुदायमा अति नै राम्रो गरेको छ ।

सार्वजनिक स्थलमा कतिपय आमाहरुले स्तनपान गराउन लाज मान्छन् । के सार्वजनिक स्थलमा स्तनपान गराउनु लाजको विषय  ?
हजुर ! सार्वजनिक स्थलमा स्तनपान गराउदाँ लाज मान्नु गलत हो । पहिलाको जस्तो दुध खुवाउँदा सलले छोपेर वा गम्छाले छोपेर अफ्ठ्यारो तरिकाले बच्चालाई दुध खुवाउथेँ तर यो बेठिक हो । यसरी खुवाउँदा बच्चाले सहजढँगले दुध पर्याप्त खान सक्दैन । त्यसकारण सार्वजनिक स्थानमा स्तनपान गराउनु लाजको विषय हैन । सहरमा होस् यात गाउँमा, कार्यालयमा होस, यात कार्यस्थलमा होस् । आमाले लाज नमानी सहज तरिकाले बच्चालाई दुध खुवाउनुपर्छ । सही आसन र सहज ढंगले बच्चालाई स्तनपान गराउनु नै अर्थपुर्ण हुन्छ ।

उसो भए बच्चालाई दिनमा कतिपटक र कसरी स्तनपान गराउने त  ?
बच्चालाई ६ महिनासम्म आमाको दुधमात्र खुवाउने भएकाले दिन र रातमा गरी १०—१२ चोटी बच्चा अघाउन्जेल स्तनपान गराउनु पर्दछ । सुत्केरी भएको ३ दिनसम्म बिगौती दुध आउँछ त्योे दुध खुवाउन अपरिहार्य हुन्छ ।
स्तनपान गराउँदा आमा र बच्चा सहजरुपमा बसेको हुनुपर्दछ । बच्चाको गर्दन र शरीर सिँधा हुनुपर्दछ र बच्चा आमातिर फर्केको हुनुपर्दछ । जसले आमा र बच्चाको माया प्रगाढ हुन सहयोग गर्छ । बच्चा आमाको शरिरमा पुरै टाँसिएको हुनुपर्दछ । त्यसका साथै शिशुले कसरी दुध खाइरहेको छ, त्यसको जानकारी हुनुपर्दछ । बच्चाले दुध तान्दा बच्चाको मुख पुरै खोलेको हुनुपर्छ । बच्चाको ओठले स्तन पुरै छोएको, तल्लो ओठ बाहिर फर्केको हुनुपर्छ । स्तनको कालो भाग बच्चाको मुखमा पुरै पसेको हुनुपर्छ । यसो भएमा स्तनमा भएका दुध पर्याप्त मात्रामा बच्चाले तान्न सक्दछ । साथै एउटा दुध खुवाइसकेपछि अर्को पट्टीको दुध खुवाउनु पर्छ । जसले गर्दा बच्चा र आमाको स्वास्थ्य स्वस्थ हुन्छ ।

 बजारमा तयारी दुध खुवाउने कतिपयले गरेका छन्, यो कतिको उचित हो ?
नेपाल सरकारले बोतल तथा अन्य प्रकारको तयारी दुध नखुवाउनु भनि सन्देश दिन्छ भने अर्को तर्फ पाउडर दुध तथा बोतलको दुध सरकारी तथा निजी स्वास्थ्य संस्थामा विक्री गरिएको पाइन्छ । यसले हामीलाई दुखि बनाउँछ । आमाको विभिन्न समस्याका कारण नमिल्ने भएमा तयारी दुध खुवाएर भएपनि बच्चालाई बचाउनु पर्छ, तर आमा साथमा हुदाँहुदैपनि बच्चालाई बजारको तयारी दुध खुवाउनु गलत हो । तयारी दुधले आमाको दुधले झैँ फाइदा अवश्य गर्दैन । अझ कतिपय अवस्थ्मा त हानी पनि गर्ने गर्दछ । त्यसकारण आमाको दुध नै बच्चाको लागी हितकारी पौष्टिक तत्व हो ।

 अन्तिममा केहि छ, ?
मलाई धेरै खुसी लागेको छ । किन भने समाजमा आमाले सही किसिमले स्तनपान गराइरहेका छन् । साथै मेरा कुराहरु, सन्देशह सबै आमाले सहि ढंगले आफ्ना बच्चालाई स्तनपान गराएको खण्डमा म आभारी हुने छु । समाजमा स्वस्थ बच्चा जन्मियोस्, र बच्चा जन्मेको दिनदेखी २ वर्ष सम्म थप खाना खुवाउन भन्न चाहान्छु । नेपालको बालमृत्युदर कम होस् । साथै भीमेश्वर नगरपालिकालाई बालमैत्री नगर घोषणाका लागि सबैले सहयोग गर्नूहोला । म यही अपेक्षा गर्दछु ।
हवस् त, तपाइको महत्वपुर्ण सन्देश र समय सान्र्दभिक विचारका लागि धन्यवाद !
हवस धन्यवाद !

Shares

Be the first to comment on "तलब सहित सुत्केरी बिदा ६ महिना व्यवस्था गर्नुपर्छ— बस्नेत"

Leave a comment

Your email address will not be published.


*