एचआइभी भाइरसबाट पूर्ण रुपमा सुरक्षित बच्चा जन्माए एक वैज्ञानिकले ?

ताजा समाचारको लागि फलो गर्नुहोस ।

बीबीसी । गत आइतबार चिनियाँ वैज्ञािनक हि जिआनकुइले लुलु र नाना नामक जुडुवा बालिकाहरुको ‘जिन एडिट’ अर्थात जिन परिवर्तन गर्न सफल भएको दाबी गरेपछि सो खबरले विश्वभर सनसनी मच्चाएको हो । यसरी जीनमा कृत्रिम बदलाव गरिएका यी विश्वकै पहिला एचआइभी निरोधक बच्चा भएकाले पनि यसबारे अत्याधिक चर्चा भइरहेको बताइएको छ । केही हप्ता अघि मात्र जन्मिएका ती बालिकाहरु पूर्ण रुपमा स्वस्थ रहेको उनको भनाइ छ । आइतबार युट्युबमा सार्वजनिक गरिएका भिडियोहरुमा वैज्ञानिक हि ले ती बच्चाहरु अहिले तिनका आमाको साथमा रहेको बताएका हुन् ।

तर यता आफूले विज्ञानको क्षेत्रमा हालसम्मकै ठूलो क्रान्ति गरेको दाबी गरेपनि वैज्ञानिक हि को चौतर्फी आलोचना भइरहेको छ । यसमा विश्वका अन्य चिकित्सक तथा वैज्ञानिकहरुले यसको सफलताबारे उनीसँग अझै स्पष्ट प्रमाण नभएको भन्दै असन्तुष्टि जनाएका छन् भने चिकित्सा तथा वैज्ञानिक समुदायले पनि यसको चर्को विरोध गरिरहेका छन् । वास्तवमा एम्ब्रेयो, अर्थात भर्खरै शिशुमा परिणत हुने क्रममा रहेको भ्रूणको जीन वा डिएनएमा अप्राकृतिक बदलाव ल्याउनुका धेरै भयानक परिणामहरु देखा पर्ने खतरा हुन्छ । यसले वंशाणुगत् अपाङ्गताको समस्या उत्पन्न गराउन सक्छ भने क्यान्सर हुने खतरा पनि उत्तिकै हुन्छ । यस्तोमा यो प्रक्रिया अझै परीक्षणकै क्रममा हुँदा मानिसमा यसका लागि मानिसको प्रयोग गर्नु नैतिकताका हिसाबले पनि अस्वीकार्य भएको प्रतिक्रिया आइरहेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

 

यता वैज्ञानिक हिले चाहिँ ती शिशुहरुको डिएनए अहिलेसम्मकै शक्तिशाली र अत्याधुनिक टुलको मद्दतले बदलेको हुनाले यसको कुनै नकारात्मक असर नपर्ने दाबी गरिरहेका छन् । वास्तवमा यस अनुसन्धानको प्रमुख उद्देश्य बालबालिकालाई आमाबाबुबाट सर्न सक्ने रोग तथा संक्रमणहरुबाट बचाउनु रहेको बताइएको छ । यस्तोमा ती बालिकाहरु अब एचआइभी भाइरसबाट पूर्ण रुपमा सुरक्षित रहेकोे हिको दाबी छ । तर यही निरोधक प्रणालीले शारीरमा विपरित प्रभाव पार्न सुरु गरे ती बालबालिकाहरुलाई सानै उमेरमा क्यान्सर, ट्युमर आदि देखा पर्न सक्नेमा चिकित्सकहरुले चेतावनी दिएका छन् ।

यसरी यो प्रक्रिया अत्यन्तै जोखिमयुक्त र असुरक्षित हुने भएकाले मानिसमा यस्तो परीक्षण गर्न बेलायत, अमेरिका लगायत धेरै देशहरुमा निषेध गरिएको छ । त्यहाँका वैज्ञानिकहरुले जिन सम्बन्धी परीक्षण गरेपनि काम सम्पन्न हुनासाथै सो एम्ब्रेयोलाई बच्चा बन्न नदिनका लागि नष्ट गर्नु पर्ने नियम रहेको छ । यता वैज्ञानिक हिले भने यसबााहेक थप सात गर्भवती महिलाहरुमा पनि यसै प्रकारको परीक्षण गरेको तर तिनीहरु अहिले प्रारम्भिक चरणमा रहेको बताएका हुन् ।

यसरी विवादमा तानिएदेखि बुधबार पहिलोपटक हिले हङकङको सम्मेलनमा सार्वजानिक हुँदै मिडियासामु स्पष्टिकरण दिएका हुन् । यसरी उनको कामलाई दानवीय ठहर गरिएपनि सो सम्मेलनमा उनले आफूले कुनै गलत काम नगरेको उल्लेख गरेका छन् ।
आफूले एचआइभी संक्रमित जोडीहरुको छनौट गरि तिनका बच्चालाई सो संक्रमणबाट बचाउने मौका दिलाएको हुँदा यसप्रति आफूलाई केबल गर्व मात्र महसुस भइरहेको उनले बताएका हुन् ।

उनका अनुसार ती बालिकाहरुको एम्ब्रेओबाट ‘सीसीआरफाइभ’ नामक जिन हटाएर तिनले उनीहरुको शरीर एचाइभी निरोधक बनाएका हुन् । तर यता उनकै विश्वविद्यालयले पनि सो अनुसन्धानबारे केही थाहा नभएको भन्दै यसमाथि छानबिन गर्ने बताएको छ । साथै हिले आफ्नो परीक्षण सम्बन्धी सम्पूर्ण डाटाहरु एक प्रख्यात जर्नललाई अध्ययनका लागि बुझाइसकेको पनि जनाएका छन् तर उनले सो जर्नलको नाम भने खुलाएका छैनन् ।

Shares

Be the first to comment on "एचआइभी भाइरसबाट पूर्ण रुपमा सुरक्षित बच्चा जन्माए एक वैज्ञानिकले ?"

Leave a comment

Your email address will not be published.


*