दोलखाको सात स्थानीय तहमा छैन दमकल

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, माघ २२
दोलखाका सात स्थानीय तह दमकलविहीन रहेको पाईएको छ । जिल्लाका भीमेश्वर र जिरी नगरपालिका बाहेका अन्य स्थानीय तहहरु दमकलविहीन रहेको पाइएको हो । दममल नभएका स्थानीयतहहरुमा आगलागीका घटनाहरु बढेपनि नियन्त्रणका लागि दमकल नहुँदा ठूलो क्षति हुने गरेको छ । ग्रामिण क्षेत्र, सडक सञ्जालको अवस्था, पर्याप्त स्रोतको अभाव लगायतका कारण दमकलको व्यवस्था गर्न नसकिएको ति स्थानीय तहहरुले बताउने गरेका छन् । अन्य स्थानीय तहहरुमा आगलागीका घटना हुँदा नगरपालिकाको दमकल मगाउनु पर्ने अवस्था छ । तर दमकल समयमै नपुग्दा बढी क्षति हुने गरेको छ ।
बुधबार राति कालिञ्चोक गाउँपालिका–९ स्थित कटुवाचौर बजारमा आगलागी भयो । आगलागी हुनासाथ स्थानीयले भीमेश्वर नगरपालिकाको दमकल मगाए । तर दुरी टाढा भएकोले समयमै दमकल नपुग्दा क्षति कम गराउन सकिएन । नौ घर, पसल तथा होटल र त्यहाँभित्रका सम्पूर्ण सामाग्री जले । पशु चौपाया जलेर मरे । यस घटनापछि कालिञ्चोक गाउँपालिकाका जनप्रतिनिधिले दमकलको आवश्यकता महसुश गरेका छन् ।
उपाध्यक्ष कुल बहादुर बुढाथोकीले पालिकामा आगलागीको घटना बढ्न थालेपछि दमकलको अभाव खड्एिको बताउनु भयो । यो वर्ष लामो समयसम्म पानी नपर्दा पालिकामा खडेरी परेर आगलागीको घटना बढेको बताउँदै उहाँले आगलागाी नियन्त्रणका लागि दमकल नहुँदा निकै समस्या हुदै आएको बताउनु भयो । उपाध्यक्ष बुढाथोकीले आगलागी बढेपछि कालिञ्चोक, विगु र गौरीशंकर गाउँपालिकाको साझेदारीमा दमकल खरीदको योजना बनाइएको बताउनु भयो । उहाँका अनुसार दमकल खरीदका लागि कालिञ्चोक गाउँपालिकाले चालु वर्ष २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उपाध्यक्ष बुढाथोकीले तीन पालिकाहरु बीच छलफल गरेर दमकल खरीद प्रक्रिया अघि बढाइने उल्लेख गर्नु भयो ।
बैतेश्वर गाउँपालिकाका प्रवक्ता श्यामकुमार तामाङले पालिकाभित्रका बजार र सडक सञ्जालमा जोडिएको क्षेत्रमा आगलागी भए नियन्त्रणका लागि दमकल उपयोगी हुने बताउनु भयो । उहाँले आफ्नो पालिकामा पनि दमकल अभाव रहेकोले कार्यपालिका बैठकमा सो कुरा राख्ने बताउनु भयो । ग्यास, बिजुली, चट्याङ तथा मानवीय त्रुटी लगायतका कारण आगलागी हुने गरेको छ । तर आगलागी नियन्त्रणका लागि दमकल नहुँदा समस्या हुन्छ । यही कुरालाई मध्येनजर गरी दमकल खरीद गर्नु पर्ने ती स्थानीय तहमा बसोवास गर्ने सर्वसाधसारण हरुको माग रहेको छ ।

Shares

Be the first to comment on "दोलखाको सात स्थानीय तहमा छैन दमकल"

Leave a comment

Your email address will not be published.


*