दोलखा सुन प्रकरणः प्रहरीले बुझायो सरकारी वकिल कार्यालयमा प्रतिवेदन

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट (दीस) ः सुन तस्करी आरोपमा दोलखामा पक्राउ परेका अभियुक्तलाई मुद्दा चलाउन प्रहरीले सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ । मंगलबार पत्रकार सम्मेलन प्रहरीले प्रतिवेदन बुझाएको जानकारी दिएको हो ।
प्रहरीले बुझाएको प्रतिवेदन अनुसार चीनको रोङ्जिया नाका हुँदै दोलखाको लामाबगरबाट नेपालतर्फ १० महिनामा ३३ केजी सुन तस्करी भएको छ । सुन प्रकरणमा २७ जनाको संम्लग्नता रहेको प्रहरीले बताएको छ । जसमा २ जना विदेशी नागरिक र २५ जना नेपाली नागरिक रहेका छन् । प्रहरीले हालसम्म १५ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी दोलखाका प्रहरी प्रमुख दिपक खड्काले जानकारी दिनु भयो । उहाँका अनुसार १२ जना अहिले फरार रहेका छन् । उनीहरुलाई पक्राउ गरेपछि थप तथ्य खुल्ने उहाँले बताउनु भयो । सुन ओसारपसार गर्न विगुका एक बालकलाई समेत प्रयोग गरेका प्रतिवेदनमा उल्लेख गरिएको छ । सुन तस्करी गर्नेले सार्वजनिक यातयातमा आलुको वोरा तथा कोदोको पिठोमा सुन लुकाएर काठमाडौमा पठाउने गरेका थिए ।
चीनको तिव्वतसँग सिमाना जोडिएको दोलखाको लामावगरको फलाक नाकावाट डोरीमा सुन बाँधेर खोला पार गरी तस्करी गर्ने गरेका थिए । सुन खरिद गर्नकालागि तस्करहरुले डलरलाई सिलवन्दी गरी प्याक गरेर लामावगरको फलाकवाट डोरीमा बाँधेर खोला तारी चीनियाँ नागरिकलाई भुक्तानी गर्ने गरेको प्रहरीले बताएको छ । उनीहरुले डलरको विकल्पमा ठूलो परिमाणमा अवैध क्रिप्टोकरेन्सीबाट समेत भुक्तानी गरेको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेकाहरूले एक वर्षमा क्रिप्टोकरेन्सीमार्फत दुई अर्ब ९१ करोड ४८ लाख ३२ हजार अमेरिकी डलरको कारोबार गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी निरिक्षक रामकृष्ण पाठकले जानकारी दिनु भयो । क्रिप्टोकरेन्सी कारोबारका मुख्य आरोपी महिमा माझीको कारोबार डिजिटल फरेन्सिक ल्याबबाट आई नपुगेकाले कारोबार रकम बढ्नसक्ने उहाँको भनाई रहेको छ । क्रिप्टोकरेन्सी कारोबारमा मुख्य संम्लग्नता माझीको रहेको प्रहरी भनाई रहेको छ । सुन तस्करी गर्ने गिरोहले दोलखा हुँदै यार्सा र कस्तुरीको बिनासमेत तस्करी गर्ने गरेको प्रविेदनमा उल्लेख गरिएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाले पक्राउ परेकाहरुलाई भन्सार ऐन २०६४, संगठित अपराध निवारण ऐन २०७०, नेपाल राष्ट्र बैंक ऐन २०५८, बालबालिकासम्बन्धी ऐन २०७५ र मुलुकी अपराधक संहिता २०७४ गरी पाँचवटा कसुरमा जिल्ला अदालत दोलखामा मुद्दा दायर गरेको बताएको छ । पक्राउ परेकाहरुबाट १० करोड ६८ लाख ६८ हजार सातसय ६१ रुपियाँ बराबरको ११ केजी (सुनको बिस्केट) र ५३२.०३८ ग्राम (सुनको गहना) सुन र नगद १८ लाख ३३ हजार पाँचसय रुपियाँ समेत बरामद भएको प्रहरीले बताएको छ ।

Shares

Be the first to comment on "दोलखा सुन प्रकरणः प्रहरीले बुझायो सरकारी वकिल कार्यालयमा प्रतिवेदन"

Leave a comment

Your email address will not be published.


*