दोलखाको ग्रामीण क्षेत्रमा पनि इन्टरनेटको पहुँच बढ्दै

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट(दीस) ः फोन गर्न पनि रुख र डाँडा चढ्नुपर्ने कुनै समयको दुःख बिर्सिएर शैलुङका राजेश श्रेष्ठ मोबाइलमा इन्टरनेटको मज्जा लिदैँ रमाउनु हुन्छ । इन्टरनेट सेवाको प्रयोगले सूचना, जानकारी, ज्ञान प्राप्तिमा र सिप विकास तथा क्षमता अभिवृद्धिमा मद्दत पुगेको बताउँदै उहाँले भन्नुभयो “घर नै विश्व जस्तो भएको छ ।” उहाँलाई सूचना प्रविधिको विकास र विस्तारले छलाङ मार्ने क्रममा विस्तार भएको इन्टरनेट सेवाको फाइदाले समय र जीवन नै फेरिएको महशुस भएको छ ।
चिठीपत्रको जमाना गयो । टेलिफोनको विस्तार भयो । त्यसलाई विस्थापन गर्न मोबाइल भित्रियो । एकपछि अर्को गर्दै आधुनिक सञ्चार, सूचना तथा प्रविधिको विकास भइरहेको छ । यही क्रममा केही दशकअघि विकास भएको इन्टरनेट सेवाको विस्तार र पहुँच अहिले व्यापक हुन थालेको हो ।
विगतमा दोलखाको प्रायः बजारमा मात्र सीमित इन्टरनेट सेवा अहिले गाम्रीण क्षेत्रमा विस्तार भएका छन् । नागरिकलाई सूचना तथा सञ्चारमा सहज, सुलभ र सरल पहुँचका लागि नेपाल टेलिकम र इन्टरनेट प्रदायक कम्पनीहरुले ग्राहकको माग र चाहना अनुरुप आफ्नो सेवा ग्रामीण क्षेत्रमा पनि तीव्र रुपमा विस्तार गरिहेको जनाएका छन् ।
नेपाल टेलिकम दोलखाका प्रमुख राजु गिरीले केही क्षेत्रमा भौगोलिक अवस्थितिका कारण इन्टरनेट सेवा विस्तार गर्न नसकिए पनि जिल्लाको प्रायः सबै क्षेत्रमा इन्टरनेट सेवा विस्तार भइरहेको बताउनु भयो । उहाँले आफू प्रमुख भएर कार्यालयमा आएपछि करिब तीन वर्षको अवधिमा इन्टरनेट सेवालाई व्यवस्थित तथा गुणस्तरीय बनाउने र ग्राहकलाई सन्तुष्ट पार्ने प्रयास गरेको बताउनु भयो ।
उहाँका अनुसार सिंगटी, मागापौवा, एडिएसएलको इन्टरनेट सेवा सञ्चालित छ । चरिकोट, दोलखा, जिरी, हाटडाँडा, मैनापोखरी बजारमा फाइबर नेट सेवा विस्तार तथा सञ्चालनमा छ । यसैगरी फोर जि सेवा जिल्लाको २३ स्थानमा विस्तार भएको र तीन स्थानमा विस्तार गर्ने योजना रहेको छ । डिजिटल दोलखाका कार्यक्रम अन्तर्गत मेलुङ गाउँपालिका वडा नं. १, शैलुङ गाउँपालिका वडा नं. २, तामाकोशी गाउँपालिका वडा नं. ६, भीमेश्वर नगरपालिका वडा नं. ५, जिरी नगरपालिका वडा नं. १ लगायतका वडाहरुमा इन्टरनेट सेवा विस्तार गरिएको कार्यालय प्रमुख राजु गिरीले बताउनु भयो ।
पछिल्लो समयमा कार्यालय र विद्यालय, संघसंस्थाहरुमा मात्र होइन घर, पसल, होटल, उद्योग र सार्वजनिक स्थलमा समेत इन्टरनेटको माग बढ्दै गएको उहाँले बताउनु भयो ।
स्मार्ट फोनको प्रयोगसँगै ग्रामीण क्षेत्रमा पनि इन्टरनेट प्रयोगकर्ताहरु बढ्न थालेका हुन् । बैदेशिक रोजगारीमा रहेका एवं घर बाहिर रहेका आफन्तसँग कुराकानी गर्न, शैक्षिक एवं बौद्धिक क्षमता बढाउन र मनोरञ्जनका सामाग्रीहरू उपलब्धताका लागि इन्टरनेटको माग ग्रामीण क्षेत्रमा पनि बढेको कार्यालय प्रमुख गिरीले बताउनु भयो ।
जिल्लामा इन्टरनेटको माग अनुसार नेपाल टेलिकमसँगै सुविसु, वल्डलिंक लगाय इन्टरनेट सेवाप्रदायक कम्पनीहरुले इन्टरनेट सेवालाई क्षमता अनुरुप विस्तार गरिरहेका छन् ।

Shares

Be the first to comment on "दोलखाको ग्रामीण क्षेत्रमा पनि इन्टरनेटको पहुँच बढ्दै"

Leave a comment

Your email address will not be published.


*