बलात्कार र फाँसी उस्तै पीडा हुन सक्दैन

ताजा समाचारको लागि फलो गर्नुहोस ।

मेरो विचारमा जहाँ र जहिल्यै पनि सर्वाधिक बेरोजगार भएकै कारण र दुष्मनस्थितिका कारण अत्याधिक मात्रामा बलात्कारका घटना भएका हुन कि जस्तो पनि लाग्छ । हुन त वर्तमान सरकारलाई प्रहार पनि हुनसक्छ यी र यस्ता घटना बढ्नुमा । हरेक सकारात्मक होस् या द्वन्द्वात्मक आन्दोलन वा परिर्वतन किन नहोस् महिला र बालबालिका जोखिम सन्मुख हुन्छन् । हुन त यो विश्लेषण गर्न नसक्नु र देशमा दिनानुदिन बलात्कारको घटना वृद्धि हुँदै जानुमा सरकार दोषी देखिन्छ । बलात्कारीको छिटो भन्दा छिटो सही पहिचान गर्ने, उनीहरुलाई कानुनी दायरामा ल्याउने बाटोमा सरकार र यसका सम्बन्धित निकाय लाचार देखिन्छन् । कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि भएको हत्याको यतिका समय वितिसक्दा समेत सरकारले बलात्कारी–हत्यारा पक्राउ गर्न सकेको छैन । यस्तो अवस्थामा बलात्कारीहरु थप उत्साहित भएको महशुस गरिएको छ । अपराधिक क्रियाकलापका घटना बढ्दै गएका छन् । भदौ १ गतेदेखि लागु भएको नयाँ देवानी तथा फौजदारी संहितामा बलात्कार सम्बन्धि प्रावधान अझै कमीकमजोरीयुक्त छन् । त्यसलाई परिमार्जन गर्दै बलात्कारीलाई आजीवन काराबासको व्यवस्था गर्नुपर्छ । पीडक पक्षलाई उचित क्षतिपूति र बलात्कृतले समाजमा सम्मानपूर्वक बाँच्न पाउने, पुर्नस्थापनाको व्यवस्था हुनु आवश्यक छ । राज्यले बलात्कारीलाई कुनै पनि हालतमा उन्मुक्ति नदिने बाटोमा सरकारका संयन्त्रहरुलाई परिचालन गर्नु आवश्यक छ । आर्थिक चलखेल, राजनीतिक दबाब, संरक्षण र निकटताका आधारमा बलात्कारीेले उन्मुक्ति पाउने परिपाटीको तत्काल अन्त्य हुनु जरुरी छ । त्यस्तै, मानिसको सोच, विचार र व्यवहारमा परिवर्तन ल्याउने अभियान, जनचेतना र सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरी महिलाहरुलाई पनि आत्मरक्षात्मक कसरी बनाउने भन्ने पक्षमा पनि सम्बन्धित निकायको योजना मात्र होइन कार्यक्रम बनी कार्यान्वयन हुनु आवश्यक छ ।

बलात्कार विरुद्धको अभियान चालेर त्यसमा सबैको साथ सहयोग सहित बलियो रुपमा सचेत नागरिक, बुद्धिजीवि, नागरिक समाजका अगुवा, पत्रकार, मानव अधिकार अभियानता, सामाजिक अभियानता, राजनीतिक नेता तथा सरकारी गैर सरकारी निकाय र संघ–संस्था एकजुट भएर आवाज उठाउँदै बलात्कार, सामाजिक अपराध, घरेलु हिंसा न्यूनिकरण मात्र होइन अन्त्य कसरी गर्ने भन्नेतर्फ सोच्नु पर्छ । यसो नहुँदासम्म जति नियम, कानुन बनाउने र परिमाजर्न गर्ने कार्य भएपनि यी र यस्ता जघन्य अपराधिक कार्य अन्त्य हुँदैनन् । सबैले निरन्तर आवाज उठाइरहनु पर्छ ।

घरेलु हिंसा, महिलामाथि हुनै सबै प्रकारका भेदभाव र बलात्कार जघन्य अपराध मात्र नभई सामाजिक मनोदशा नियाल्ने आँखीझ्याल पनि हो । समाज कता जाँदै छ र हामी सामाजिक भनिएका प्राणीहरुले आफू सरहका विपरित लिङ्गिहरु प्रति कस्तो क्लेस पालिरहेछौं भनेर सबैले प्रष्टसँग देख्न सकिने छिद्र पनि हो । हामीले विगत लामो समयदेखि भन्दै र आवाज उठाउँदै आइरहेका छौं यस्ता सवालमा । नेपालमा कानुन बनाउने तर कार्यान्वयन गर्ने पक्ष असम्भव जस्तै भएको छ यस सवालमा । त्यो अवस्थालाई चिरेर कसैगरी पनि आजीवन कैद सजायको प्रावधान तर्जुमा भएमा पनि सही तरिकाले कार्यान्वयन हुनेमा प्रशस्त शंका गर्ने ठाउँहरु देखिन्छन् । कहिले काही हाम्रै आवाजले आवाजविहिनहरुलाई शूलीमा नचढाउला भन्न पनि सकिन्न । त्यसको दुरुपयोग हुने खतराको सम्भावनालाई पनि नकार्न सकिन्न ।

प्रशासन समेत अपराधी उम्काउनकै लागि या अपराधीको प्रलोभनमा परेर सजायबाट उन्मुक्ति दिनकै लागि निर्दोष मान्छे समातेर दोषी करार गर्न लागि पर्ने देशमा कानुनको सही कार्यानवयन भई अपराधीलाई आजीवन काराबास गराउँछ भनेर पत्याउनु कल्पना शिवाय केही हुनसक्दैन । आठ दश वर्षको जेल सजाय समेत नभोग्नेको लागि निर्दोषलाई बलि चढाउने समाजमा आजीवन काराबासबाट बच्न शक्ति सम्पन्नहरुले कति जालझेल गर्लान ? त्यही अवस्थालाई प्रयोग गरेर पैसा कमाउन उद्यत केही प्रहरी प्रशासन र मुद्दा पछर््यौटबाट अकुत सम्पत्ति आर्जन गर्न चाहने न्यायालयका कर्मचारीहरुले त्यो अपराधीलाई बचाउन कतिसम्मको आर्थिक चलखेल गर्लान् ? यदि राम राज्य हो भने बलात्कारीलाई मृत्युदण्ड पनि जायज हुन्थ्यो किनकि त्यहाँ न्याय बिक्दैन । त्यहाँ दूधको दूध र पानीको पानी हुन्छ । दोषीलाई कारवाही हुन्छ तर नेपालमा त्यो सम्भव देखिदैन । निर्दोष खोजेर शूली चढाउने र अपराधीलाई बचाएर पैसा कमाउने द्रव्य पिपासुहरुको हातमा प्रशासन र न्यायालय भएको हाम्रो देशमा पहिला व्यवहारिक व्यवस्था सुधार गरेर मात्र जटिल भन्दा जटिल कानुनको सही कार्यान्वयनको आहा गर्न सकिन्छ । तसर्थ सचेत नागरिकले अहिले भएको कानुनको सही कार्यान्वयनको माग गर्नु जरुरी छ । हरेक नागरिक आफू परिवर्तन हुनु आवश्यक छ र सबैले आफ्नो र अरुको एउटै देख्नु पर्छ ।

कानुन भएर मात्र बलात्कार लगायतका महिलामाथि हुने जघन्य अपराधको कमी हुने होइन । सचेत र सभ्य नागरिक बनाउनेमा सरकारस्तरबाटै पहल हुनु पर्छ । हरेक सकारात्मक कार्यको लागि आफ्नै घरबाट शुरु हुनु पर्छ । आमा बाबुले आफ्ना सन्तानलाई समान व्यवहारका साथै उनीहरु भित्र भएका यौन जिज्ञाशालाई सहज रुपमा खुलेर जानकारी दिनु पर्छ । विद्यालयमा यौन तथा प्रजनन स्वास्थ्य शिक्षाका बारेमा खुलेर सिकाइ हुनु जरुरी छ । स्वयं आत्मरक्षा र प्रतिकारका कुराहरु सिकाइनु पर्छ । जसका कारणले सजिलै कुनै छोरी मान्छे बलात्कृत हुन पाउँदिनन् । र, बलात्कार भएपछिको सवालमा भने बलात्कारीलाई आजीवन जेल सजाय हुनुको साथै पीडितलाई अंश भराउने खालको कानुन बन्नु पर्छ र बनिएको कानुन सबैमा लागू हुनु पर्छ । हुन त महिलामाथि बलात्कार लगायतका जघन्य अपराध गर्नेलाई फाँसीको सजाय हुनु पर्छ भन्ने आवाज पनि उठेको छ तर बलात्कार र फाँसी एकै प्रकारको पीडा होईन । बलात्कारको पीडा सहनु र फाँसीको पीडा सहनु फरक कुरा हो । यस्ता जघन्य अपराध गर्ने अपराधीलाई फाँसी भन्दा पनि यस्तो सजायँको आवश्यकता छ जसले जीवनभर पश्चाताप गर्नु परोस् कि मैले त्यो समय जघन्य अपराध नगरेको भए आज म समाज र आफ्नो निजी जीवनमा अपहेलित हुनु पर्ने थिएन । उ जिउँदो रहेर पश्चाताप् गर्नु पर्छ मैले घोर अपराध गरें भनेर ।

आक्रोसलाई व्यक्त गर्ने हो भने मेरो नारी मनले भन्छ मृत्युदण्ड दिनु पर्छ तर मृत्यूदण्डको सजाय भन्दा पनि उसले पश्चाताप गरेर आत्महत्या गर्ने अवस्थामा पुग्नु ठूलो सजाय हो । यस्ता अपराधिक घटनामा संलग्नलाई त्यस्ता जघन्य अपराध गर्न नदिनका लागि महिलाहरुलाई सचेत, सशक्त र आत्मसुरक्षाका विविध तालिमहरु प्रदान गर्नु अति आवश्यक छ । त्यस लगायत यस्ता घटनाहरुलाई समाजमा आन्तरिक रुपमा आर्थिक लेनदेन गरेको, मेलमिलाप गरेको र लुकाइएको पाइन्छ अतः घटनालाई बाहिर ल्याएर दोषीलाई कारवाहीको निमित्त सम्पूर्ण सचेत नागरिक र समाज नै अग्रसर हुनु पर्छ तब मात्र हाम्रो समाजमा महिलामाथि विविध खालका हिंसा, बलात्कार जस्तो जघन्य अपराध नियन्त्रण हुन्छ अन्त्य हुन्छ जस्तो लाग्छ ।

Shares

Be the first to comment on "बलात्कार र फाँसी उस्तै पीडा हुन सक्दैन"

Leave a comment

Your email address will not be published.


*