महिला हिंसामा पर्नु भनेको सर्वप्रथम तः महिलालाई दोस्रो दर्जाको रुपमा हेरिनु हो

ताजा समाचारको लागि फलो गर्नुहोस ।

जानुका न्यौपाने

प्रजनन अधिकार भन्नाले प्रत्येक दम्पत्ति तथा व्यक्तिले कति जना सन्तान जन्माउने, जन्मान्तर कति राख्ने, बच्चा जन्माउने वा नजन्माउने आदिका बारेमा स्वतन्त्र र जिम्मेवारीपूर्वक निर्णय लिन पाउने अधिकार हो । साथै, यसका बारेमा सजिलै सूचना पाउनु पनिन यसको अर्को पाटो हो । विभिन्न अध्ययनहरु हेर्दा महिलाहरुको प्रजनन स्वास्थ्य अत्यन्त कमजोर रहेको पाइएको छ । कतिपय अवस्थामा पारिवारिक दवावका कारण दुईवटा छोरा हुनैपर्ने र छोराको आशामा ६÷७ जना सन्तान जन्माउने र छोरीको जन्मलाई सामान्य रुपमा लिने । अझ छोरी छ भन्ने थाहापाएमा भु्रण हत्या गरिरहने जस्तो गलत आपराधिक कार्य पनि भइरहेको पाइन्छ ।

कतिपय महिलाहरुलाई प्रजनन स्वास्थ्य सम्बन्धी हकका बारेमा शायदै जानकारी छ । यदि यो हकको बारेमा प्रत्येक महिलाहरुलाई थाहा हुने हो भने स्वस्थ जनसंख्या नबढ्ने थियो र भु्रण पहिचान गरी गरिने गर्भपतन जस्ता आपराधिक कार्यको पनि अन्त हुने थियो । अर्को तर्फ यसले महिलाको स्वास्थ्यमा पनि नकारात्मक असर पुग्ने थिएन । अनि धेरै महिलाहरुले प्रसुतिको समयमा ज्यान गुमाउनु पर्ने थिएन कि ?
सन् २०१५ को तथ्यांक अनुसार १ लाख जििवत शिशु जन्ममा २५८ जना आमाको मृत्यू हुने गरेको छ । त्यसमा हरेक दिन १२ जना आमा र करिब ७५ जना शिशुको अकाल मृत्यू हुने गरेको पाइन्छ । यसको मतलव अझै स्वास्थ्यमा महिलाको अवस्था नाजुक रहेको छ भन्ने नै हो ।
हाम्रो नयाँ संविधानको धारा ३८ को उपधारा २ मा प्रत्येक महिलालाई सुरक्षित मातृतत्व र प्रजनन स्वास्थ्य सम्बन्धी हक हुनेछ भनिएको छ । प्रजनन स्वास्थ्य तथा प्रजनन सम्बन्धी हकलाई मौलिक हकका रुपमा व्यवस्था गरिएको छ । तर, नयाँ संविधानले दिएको प्रजनन सम्बन्धी अधिकारले ०६३ सालको अन्तरिम संविधानले स्थापित गरेको अधिकारलाई समेत संकुचित गरेको महशुस भएको छ । तथापी यसरी धारा र उपधारामा विनियोजन गरिएका यी मौलिक हकको कति महिलाहरुले उपभोग गर्न पाएका छन ? यो सवालको जवाफ सम्बन्धित निकायले दिन आवश्यक छ । राजधानीमा सबै किसिमको प्रसुति सेवा उपलब्ध भए पनि हरेका जिल्लाका दुर्गम गाउँमा शिशुहरु तालिम प्राप्त स्वास्थ्यकर्मीको सेवा अभावमै घरमा जन्मिरहेको अवस्था सबैका सामु प्रष्ट छ । सरकारले स्वास्थ्य संस्थामा प्रसुति लिन आउनको लागि प्रोत्साहन खर्च दिए पनि अज्ञानताका कारण महिलाहरु अझै स्वास्थ्य संस्थामा नआइरहेको अवस्था छ । यस्तो बेलामा परिवार, छिमेकी, महिला स्वास्थ्य स्वयंसेवीकाहरुको सहयोग भने लिने गरेकाछन् । देशभरीमा ८१ प्रतिशत शिशुहरु घरमै जन्मिने गरेको र ३० प्रतिशत महिलाले सुत्केरी पश्चात् पाउनु पर्ने सेवाबाट अझै बञ्चित हुनुपर्ने अवस्था छ ।

सवोच्च अदालतले प्रजनन स्वास्थ्य अधिकारको व्याख्या गर्दै भनेको छ, प्रजनन स्वास्थ्य अधिकारको सही संरक्षण गर्न दिएनन् भने गर्भाधारण निरन्तर गर्नुपर्ने वाध्यता सिर्जना भई महिलाहरु सन्तान जन्माउने बाध्यात्मक दायित्व बोकेको यन्त्र (मेशिन) को रुपमा रुपान्तरित हुन पुग्छन। महिलाको प्रजनन स्वास्थ्य पुरुषको भन्दा फरक हुन्छ । यसको सुनिश्चितता नभएको अवस्थामा महिलाले आफ्नो जीवनमा प्रजनन स्वास्थ्य सम्बन्धी धेरै जोखिम मोल्नुपर्छ जुन पुरुषहरुले भोग्नु पर्दैन । एउटा सामान्य मानिसले आत्मसम्मानसँग बाँच्ने अधिकार, गोपनियताको अधिकारको उपभोगमा पनि गहन असर पर्न गई महिलाको मानव अधिककामाथि समेत कुठाराघात भएको पीडित महिलाहरुको अवस्थाले छर्लङ्ग पार्छ । उनीहरुजस्ता लाखौं महिलाहरुले प्रजनन स्वास्थ्य र शिक्षाको अभावमा आधारभूत मानव अधिकारको प्रत्याभूति समेत गर्न पाएका छैनन ।

पहिलेदेखि नै विश्वमा प्रजनन स्वास्थ्यलाई विशेष रुपले हेर्ने गरिएको थियो । यसै अनुसार सन् १९९४ मा भएको जनसंख्या तथा विकास नामक अन्तर्राष्ट्रिय सम्मेलनपछि प्रजनन अधिकारका सवालहरु उठन् र बाहिर आउन थालेका हुन । त्यस्तै सन् १९९५ मा आ.पी.पी.एफको सदस्यसभाद्वारा यौन तथा प्रजनन अधिकार वडापत्र तयार गरी अनुमोदन गर्ने कार्य भयो । यसरी विभिन्न अन्तर्राष्ट्रिय सन्धी, सम्झौता तथा संयुक्त राष्ट्रसंघको घोषणापत्रमा हसताक्षर गरी नेपालले पनि महिलाहरुको प्रजनन अधिकारप्रति आफ्नो प्रतिवद्धता जनाउँदै आएको छ । यति हुँदाहुँदै पनि कलिलो उमेरमा आमा बन्नु र सन्तानको बारेमा खुलेर निर्णय गर्नु नेपाली महिलाको लागि अझै पहाड उचालनु जतिकै कष्टकर अवस्था रहेको छ । यही कारण नेपाली समाजले महिलालाई सन्तान जन्माउने यन्त्रको रुपमा मात्र लिने गरेको छ ।

अझ छोरा भएन भने बर्षेनी सन्तान जन्माउन बाध्य पारिरहेको अवस्था देख्न सकिन्छ । कम उमेरमा अत्याधिक सन्तान जन्माउनाले महिलाहरु छिट्टै बुढ्यौलीमा पुगेको महशुस गर्नुका साथै सुत्केरी अवस्थाममा उचित स्वास्थ्य सेवा र स्याहार सम्भारको अभावका कारण अकालमा मृत्यूवरण गर्न बाध्य छन् भन्ने कुरा तथ्यांकले पनि बताएको छ । महिलाहरु प्रजनन अधिकारको उचित जानकारी नपाएर पाठेघर झरेर रक्तमुच्छेल होउनजेल सहेर बस्छन् र पाठेघरको क्यान्सरको शिकार बनेर मृत्यू वरण गर्दछन् । कतिपय महिलाहरु पाठेघरको समस्या छ तर श्रीमानले अर्की श्रीमती ल्याउँछ भन्ने डरले शारीरिक सम्बन्धमा पनि असह्य पीडा सहेर बसेका छन् । कतै पाठेघरको जाँच पड्ताल गरेर पाठेघरको शल्यक्रिया गर्नु पर्छ भन्यो र गर्नुपर्ने भयो भने श्रीमानको शारीरिक सम्बन्धमा यौन सम्बन्धमा असन्तुष्टी पो हुने कि ? अनि अर्की श्रीमती पो विवाह गर्ने हो कि ? यी र यस्ता डरले जानेर बुझेर पनि प्रजनन स्वास्थ्य सम्बन्धी जटिल समस्या भोगेर बसीरहेका छन् । कहिले बुझ्लान यस्ता पुरुषहरु जसले आफ्नो सँगै आफ्नो श्रीमतीको पनि स्वास्थ्य राम्रो हुनु हाम्रो सम्पत्ति हो भनेर ?
त्यसकारण पहिलेको संविधानमा उल्लेख भएको मौलिक हकलाई पुनः नयाँ संविधानमा स्थापित गरी महिलाहरुको प्रजनन स्वास्थ्य अधिकारको भरपुर उपयोग गर्न पाउने अवस्था सुनिश्चित गर्नु सरकारको दायित्व हो । संविधानमा सुनिश्चित गरिएका अधिकारलाई व्यवहारमा चरितार्थ गराउनु सरकारको अहम कर्तव्य हो । यसका साथै अन्तर्राष्ट्रियस्तरमा भएका सन्धी सम्झौता र घोषणापत्रमा हस्ताक्षर गर्न जति हतारो लाग्छ त्यतिनै कार्यान्वयन गर्न र गराउन पनि सरकारले हतार गर्नु जरुर िछ । अनि मात्रै महिलाहरुले सन्तान र आफ्नो भविष्य स्वस्थ, सुन्दर र सभ्य बनाउनका लागि सन्तानको संख्या, जन्मान्तर आदि सवालमा निर्णायक भूमिका निर्वाह गर्न सक्षम हुनेछन् । महिलाको इज्जत के उसको गुप्ताङ्गमा रहेको झिल्लीमा अड्केको हुन्छ ?
छोरा होस् या छोरी, किशोरावस्थामा पुगेपछि बिस्तारै सबैको शरीरमा शारीरिक परिवर्तनहरु आउने गर्छन् । महिलालाई सृष्टिको सुन्दर सृजनाको रुपमा पनि हेर्ने गरिन्छ । त्यसैले महिलालाई धेरैजसो फूलसँग दाँज्ने गरिन्छ । साहित्यकारहरुले दिएको परिभाषा अनुसार महिला भनेको गुलाबको फूल र त्यसमा भएको काँडालाई चाहि पुरुषको संज्ञा दिएको छ, जसले कोमल गुलाबको फूलको पहरेदारी गर्दछ । यसै सन्दर्भमा विलियम ब्लेकले लेखेको कविता ”सिक रोज“ संग हाम्रो प्रसङ्ग जोडेर केही व्याख्या गर्नुपर्दा पितृसत्तात्मक सोचले जकडिएको नेपाली समाजको परिवेशमा कतिखेर मानवरुपी पुरुष जो हाम्रा घरका सदस्य हुन्, जो हाम्रा मित्रहरु हुन्, जो हाम्रा रक्षक हुन्, भक्षकको रुपमा उभिदिन्छन् र एकै निमेषमा त्यो काँडा भमरा बनेर आइदिन्छन् पत्तै पाउँदैनौं । भलै फूलहरुको रानी गुलाबमा भएको काँडाले उसलाई टाढाबाट टिप्न अनि चुँडाउन खोज्नेहरुबाट त जोगाउन सकिएला । एउटा पहरेदारको रुपमा तर उसको वरिपरि बस्ने, उसलाई माया गर्ने भन्ने भमराबाट चाँहि कसरी जोगाउने ? आँखामा छारो हानेर हुरीजस्तै गरी बेतोडले उसलाई चुस्न आउने, उसको रस पिउन आउने अनि, त्यसपछि बेरस छाडिदिने त्यो भयानक जीवदेखि चाँहि कसरी जोगाउने ?
किशोरीहरुको हकमा कुरा गर्दा, उसको बढ्दै गरेको स्तन र परिवर्तनहरु हुँदै गरेको उसको शारीरिक आकार प्राकृतिक प्रक्रिया हो । वास्तवमा महिलाको स्तन, यौनाङ्ग केवल शरीरका केही अङ्ग मात्र नै हुन् । प्राकृतिक रुपमा हरेक मानिसको यौनिकता, सृष्टिको एक प्रक्रिया हुँदाहुँदै पनि त्यही स्तन, त्यही यौनाङ्गले महिलाको लागि पलपल ज्यानको जोखिम खडा गरिदिएको हुन्छ । नेपालमा व्याप्त कूप्रथा तथा संकुचित सोचहरुले वास्तवमा महिलाहरुलाई महिला भएर बाँच्न पनि दिएको पनि दिएको छैन । महिलामाथि हुँदै आएको लैङ्गिक विभेद सामाजिक अन्याय तथा मानव अधिकारको हनन हो ।
हाम्रो समाज र साहित्यले दिएको एउटा परिभाषाको वास्तविकतामा कत्तिको सत्यता छ ? एउटा गुलाबको रुपमा प्रतिबिम्बित गराउनु कतिको उचित छ ? अनि त्यसमा भएको काँडालाई चाहिँ पुरुषको संज्ञा दिएको छ, जसले एक पहरेदारको भूमिका निर्वाह गर्दछ, के यो परिभाषा र अपेक्षा कतिको उचित छ ? के महिलालाई पुरुषको पहरेदारीको आवश्यकता छ ? के महिला आफूले आफ्नो सुरक्षा गर्न सक्षम छैनन् ? कि महिला निकै सक्षम र बलिया छन् तर उसलाई समाजका कुप्रथाले निर्वल बनाएर राखेको छ ?
साँच्चै भन्ने हो भने समाजले बनाएको परिभाषामा र वास्तविकतामा आकाश जमिनको फरक छ । त्यसको प्रमाण भर्खरै कञ्चनपुरमा भएको घटनाको ती बालिका र उनीजस्तै कयौं बलात्कारित बालिकाहरुको वास्तविकताहरुले र्छलङ्ग पारिदिएको छ । तर त्यसको मतलब यो होइन कि सबै पुरुषमा राक्षसी रुपले बास गरेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार के देखिन्छ भने ३८ प्रतिशत हत्या गरिएका महिलाहरुको हत्यारा उसको आफ्नै आत्मीय पुरुष हुने गरेको छ । सबै पुरुष राक्षस हुँदैनन्, तर ती राक्षसहरुलाई परास्त गर्न रामहरु युद्धमा होमिनु पर्दछ । उसका निमित्त उनी भन्ने नाराका साथ हिंसामुक्त समाजको लागि पुरुषहरु पनि अग्रसर हुनु पर्दछ ।
यतिखेर म सम्झिँदै छु कञ्चनपुरमा भर्खरै घटेको घटना, जहाँ १३ बषीय अबोध बालिकालाई बलात्कारपछि हत्या गरी त्यो हिलाम्मे उखुबारीमा फ्याँकिदिएको । कहालीलाग्दो त्यो दृश्य हेर्दा लाग्छ उसको आत्माले हामीलाई कहिल्यै माफ गर्ने छैन । अनि नौ महिनाकी बालिका र पचहत्तर बर्षीय बृद्धा आमालाई गरिएको बालात्कार कसरी माफ गर्लान हामीलाई ? तर, हामीसँग प्रायश्चित गर्नु बाहेक अरु कुनै उपाय पनि त छैन हामीसँग । किनभने हामीले आफ्नै सोचले बनाएको समाजले उसलाई सुरक्षित साथ हिँडडुल गर्न पाउने वातावरण बनाउन सकेनौं । ती बालिकाको हत्यासँगै हाम्रो पनि थोरै हत्या भएको छ । उसको मृत्यूसँगै सारा नेपाली महिलाहरुको मन पनि बिचलित भएको छ । उसको बलात्कार अनि हत्याले हाम्रो मथिंगल पनि विक्षिप्त भएको छ र त्यहाँभित्र धेरै विचारहरुले आन्दोलन गरिरहेका छन् ।
महिलाको इज्जतको प्रसङ्ग उउटा सानो सियोको टुपपोमा गएर अड्किएको छ । शरीरमा भएको एउटा सानो झिल्लीमा जुन कुनै पनि दैनिक क्रियाकलापले गर्दा नष्ट हुनसक्दछ, त्यसमा गएर महिलाको सुरक्षा अनि इज्जत अडकिएर बसेको छ ।
नेपालमा महिलाको अवस्था देख्दाखेरी मेरो मनमा केही प्रश्न उठ्ने गर्छन् । आखिर महिला भनेका को हुन् ? महिलालाई किन संरक्षणको आवश्यकता छ ? महिलालाई मात्र किन जहिले समय, काल, परिस्थितिले जकडेको छ ? महिलालाई को देखि डर छ ? महिला कोसँग र किन सुरक्षित भएर हिँड्नु पर्दछ ? त्यही ठाउँमा पुरुष हुँदा न उसलाई राति परेकोमा डर, न उसलाई अपरिचित व्यक्तिसँग हिँड्नु पर्दाको डर, न उसलाई समय, काल, परिस्थितिको डर । के एउटा पुरुषलाई चाहिँ सुरक्षाको डर हुँदैन ? के उसलाई चाहिँ सुरक्षित हुनु पर्दैन ? पक्कै पनि पुरुषलाई पनि सुरक्षित हुनुपर्दछ, सुरक्षित भएर हिँड्डुल गर्न पाउनु उसको मानव अधिकार हो । त्यस्तै महिलाको पनि सुरक्षितसाथ हिँड्डुल गर्न पाउनु उसको मानव अधिकार हो । तर, यहाँ महिला अनि पुरुषको सुरषाको कुरा आउँदा त्यहाँ थोरै तर महत्वपूर्ण अन्तर छ ।
यहाँ हत्या पुरुषको पनि हुन्छ तर उसको हत्या लुट्पाटमा, सामूहिक झगडामा हुने गर्दछ । यसको विपरित जब महिलाको कुरा आउँछ, उसको हत्या र उसमाथि हिंसा परिवारको आफ्नै सदस्यबाट वा परिवारका अति निकट साथीभाइबाट भएको हुन्छ । अझ त्यसमाथि महिलाको हत्याको कारण उसको यौनिकता बनिदिन्छ । त्यही यौनिकता जसले यस सृष्टिमा मानव जीवनको निरन्तरता दिन अपरिहार्य भूमिका खेलेको हुन्छ । महिलाका उठेका स्तन, फैलिएका पुठ्ठा र यौनाङ्गलाई मातृत्वको परिचायक भन्दा पनि यौनिकताको आकर्षणको रुपमा विश्लेषण गरिन्छ । अझ त्यहीमाथि महिलाको सुरक्षा, उसको इज्जत, उसको स्वाभिमान अनि उसको अस्तित्व उसको यौनाङ्गमा भएको झिल्लीमा निर्धारण गरिएको छ । अझ त्यही मात्र होइन, उसको परिवारको इज्जत समेत उसको झिल्लीमा अडेको छ ।
महिलाको इज्जतको प्रसङ्ग एउटा सानो सियोको टुप्पोमा गएर अड्किएको छ शरीरमा भएको एउटा सानो झिल्ली जुन कुनै पनि दैनिक क्रियाकलापले गर्दा नष्ट हुन सक्दछ, त्यससमा गएर महिलाको सुरक्षा अनि इज्जत अड्केर बसेको छ । अनि त्यसमाथि पनि एउटा छोरीले पूरा परिवारको इज्जत धान्नु पर्ने बाध्यता छ, त्यो पनि त्यही झिल्लीको आडमा जसलाई नेपालीमा कुमारीत्व अनि अंग्रेजीमा भर्जिनिटी भन्ने गन्छि । महिलाको सुरक्षाको सामाजिक परिभाषामा अर्थात् माथि वर्णन गरिएको फूल र काँडाको प्रसंग जोड्ने हो भने, खै कहाँ छन् त महिला सुरक्षित ? जसलाई संरक्षक बनाइदिएको छ, त्यसैबाट महिला असुरक्षित छ भने कसरी त्यहाँ एक पुरुषले पहरेदारको भूमिका निर्वाह गर्दछ ? एउटा हुर्केको छोरी भएको घरमा सबै जसो आमा बुबाहरु भन्ने गर्छन्, हेर छोरी काल, जमाना, परिस्थिति ठिक छैन धेरै टाढासम्म एक्लै नजानु, धेरै अवेलासम्म बाहिर नबस्नु, समयमा घरमा आउनु । अनि फेरि भनिन्छ, छोरी अपरिचितसँग कुरा नगर्नु । तर, के गर्नु आफ्नै जन्म दिने बुबा, शिक्षा दिने हजुरबुबा, माया गर्ने काका, सधैं साथ दिने दाजुबाट बलात्कृत हुन पुग्छौं । आफूले सधैं चिनेको, देखेको छिमेकी, आफन्त र इष्टमित्रबाट बलात्कृत हुन पुगेका हुन्छौं । महिला हिंसामा पर्नु भनेको सर्वप्रथम तः महिलालाई दोस्रो दर्जाको रुपमा हेरिनु हो ।

महिलालाई कुनै व्यक्तिले गरेको दुव्र्यवहार भन्दा पनि महिलालाई समाज र राष्ट्रले गरेको दुव्र्यहार हो । महिलालाई एक विवेकशील प्राणीको रुपमा भन्दा पनि उपभोग गर्ने वस्तुको रुपमा हेर्ने गरिन्छ । जब मानव अधिकार आयोगले महिलाका मुद्दा पनि मानवअधिकारको रुपमा वर्णन गर्न थाले, तबदेखि मात्र महिलाहरुको पनि मानव अधिकार छ है भन्ने विषय उठान हुन थाल्यो । महिला पनि पुरुष सरह एउटा सामाजिक प्राणी हो जसले स्वतन्त्र रुपमा बाँच्न पाउने अधिकार समाहित गर्दछ । त्यसमाथि यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको व्यक्तिहरु माथि हुने विभिन्न प्रकारको यौन हिंसा भने गुपचुपमा नै सकिने गर्दछ । सामाजिक घेरा अस्तित्वको लागि अस्वीकार्य व्यक्ति यौनको लागि उपभोग्य वस्तुको रुपमा भने जहिल्यै स्वीकार्य हुने गर्दछ । उनीहरुलाई आत्मसात गर्नका लागि भएको सम्बन्ध उजागर गर्न हिम्मत देखाउन नसक्ने व्यक्तिहरुबाट बढी प्रताडित छन् र समाजको तेस्रो दर्जाको नामाकरण गरी तेस्रो लिङ्गिमा सीमित राखिदिएका छन् । फरक व्यवहार चाहिँ स्वीकार गर्न नचाहने तर आफ्नो फाइदाको लागि चाहिँ प्रयोग गर्ने अनि उल्टै छक्का जस्ता अपशब्दले दुव्र्यवहार गर्ने हाम्रो समाजका पहिलो दर्जाका अगुवाइबाट परिस्कृत भएको व्यवहार र संस्कार मिथ्या हो ।

यसले उउटा महिलाको अस्तित्व उसको शरीरको गोप्य अङ्गमा रहेको झिल्लीसँग लगेर जोडेको छ । कतिको समावेशीता र समानतामूलक छ, त्यो आफैं विश्लेषण गर्द सक्छौं । जति पनि समाजमा बलात्कार अनि यौन हिंसाहरु महिला माथि हुने गर्छ, त्यसको अर्को मुख्य कारण भनेको समाजमा भएको एउटा मिथ्या हो । यसले एउटा महिलाको अस्तित्व उसको शरीरको गोप्य अङ्गमा रहेको झिल्लीसंग लगेर जोडेको छ । त्यसै कारणले गर्दा पनि जब महिला यौन शिकारमा पर्दछन्, शारीरिक यौन पीडा, मानसिक तथा मनोवैज्ञानिक आघात एक ठाउँमा छ, अर्को ठाउँमा उठ्छ उसले इज्जत गुम्यो । उसको अस्मिता समाप्त भयो ।

त्यससँगै उ कसैको अगाडि मुख देखाउन लायक हुन्न । परिवारको इज्जत रहेन । समाजको एउटा पात्रको चरित्रले दुःख र वेदनाको शोक मनाउँदछ भने अर्को चरित्रले कलंकित बनाउने काम गर्दछ । पीडकलाई सजाय दिनमा जोडभन्दा पनि पीडितलाई अझ बढी कलंकित गर्न समाजका पात्रहरुले चलखेलको शुरुवात गर्छन् । छोरी मान्छेको इज्जत कुमारीत्वमा सीमित गरिदिएको हुनाले यदि कसैलाई परिवारको कुनै सदस्यसँग रिस उठेको छ भने त्यस घरको इज्जत छोरी मान्छे माथि हमला गर्छ । विभिन्न पत्रपत्रिकामा समाविष्ट समाचारहरुको विश्लेषण गर्ने हो भने अधिकाँश घटना रिसइवीको कारणले गर्दा भएको पाइन्छ ।
त्यसकारण महिलामाथि हुने कुनै पनि यौनजन्य दुव्र्यवहारलाई राज्यविरुद्धको जघन्य अपराधको रुपमा परिभाषित गरिनु पर्छ । बलात्कारीहरुलाई हदैसम्मको कानुनी सजाय दिइनु पर्छ ।

न्याय प्रक्रियामा जाँदा पीडित अनि साक्षीको सुरक्षाको व्यवस्था, न्याय सम्पादन प्रक्रिया इमान्दारपूर्वक गर्न सके पीडितले न्याय पाउने थिए । बल्ल हिंसामुक्त समाजको लागि सकारात्मक सन्देश जाने छ । महत्वपूर्ण सवाल महिलाहरुको अस्तित्वको खोजी उसको यौनाङ्गमा हुने झिल्लीसँग जोडिनु हुँदैन । महिलाको हकहित, सुरक्षा,सम्मान र मानव अधिकारको लागि हामी सबैजनाले सोचहरुलाई फराकिलो बनाउँदै लगौं । कृपया हामी सबैजना महिलाको यौनाङ्गमा हुने झिल्ली (भर्जिनिटि) बाट बाहिर आऔं । पुरुषहरुले महिलाहरुको सुरक्षा गर्नु पर्दछ भन्ने सोचलाई परिमार्जित गरी महिलालाई आफ्नो सुरक्षा आफैं गर्न आर्थिक, भौतिक, बौद्विक, अध्यात्मिक र नैतिक रुपमा सबल बन्न अवस मिलाउ । एउटा हिंसारहित सुन्दर र समानतामूलक समाजको लागि हरेक महिला, पुरुष र यौनिक तथा लैंङ्गिक अल्पसंख्यक समुदायका सबैले प्रण गरौं अब महिला हिंसा अन्त गरौं ।

Shares

Be the first to comment on "महिला हिंसामा पर्नु भनेको सर्वप्रथम तः महिलालाई दोस्रो दर्जाको रुपमा हेरिनु हो"

Leave a comment

Your email address will not be published.


*