शैलुङ्ग महोत्सव पालैपालो

दीक्षण समाचार
दोलखा, १७ बैशाख

शैलुङ्ग महोत्सव ३ वटा गाउँपालिकाले पालैपालो गर्ने भएका छन् । रामेछापको दोरम्बा गाउँपालिकाले शैलुङ्ग आफ्नो भन्दै महोत्सव गर्ने घोषणा गरेर प्रचार प्रसार तिब्र बनाउन थालेर सिमा विवाद बढ्न थालेपछि शनिबार भएको सर्वपक्षीय छलफल पश्चात शैलुङ्गंलाई साझा थलोको रुपमा विकास गर्ने सहमति भएको हो ।
काठमाडौंमा दोलखा र रामेछापका प्रतिनिधि सभा र प्रदेश सभाका सांसद, दोरम्बा गाउँपालिका, शैलुङ्ग गाउँपालिका र मेलुङ्गं गाउँपालिकाका अध्यक्षहरु सहितको लामो छलफलपछि महोत्सव पालैपालो गर्ने सहमति भएको हो । पहिलो चरणमा रामेछापको दोरम्बा गाउँपालिकाले महोत्सव गर्ने तयारी गरेकाले आउँदो बैशाख १३, १४ र १५ गते खोलाखर्कमा गर्ने निर्णय भएको शैलुङ्ग गाउँपालिकाका अध्यक्ष भरत दुलालले जानकारी दिए । उनका अनुसार अर्को वर्ष दोस्रो शैलुङ्ग महोत्सव शैलुङ्ग गाउँपालिकाको कालापानीमा गर्ने र तेस्रो महोत्सव मेलुङ्ग गाउँपालिकाले फुर्केसल्लामा गर्ने भएको छ । शैलुङ्गमा पर्यटन प्रबद्र्धनका लागि गर्ने महोत्सव अब विवाद नगरी ३ वटा गाउँपालिकाले पालैपालो गर्ने सहमति भएको हो ।
अध्यक्ष दुलालका अनुसार शैलुङ्गमा बन्ने संरचना पनि अब ३ वटै गाउँपालिकाको सहमतिमा एकअर्काे क्षेत्रमा असर नगर्ने गरी निर्माण हुने भएका छन् । अहिले शैलुङ्गको सबैभन्दा अग्लो थुम्कोमा भ्यू टावर र बौद्ध धर्मावलम्बीहरुको छ्योर्तेन निर्माणाधिन छ । छ्योर्तेन निर्माण गर्दा नापी विभागले राखेको विन्दु छेकिएको छ । २०३० सालमा नापी गर्दा राखिएको यहाँबाट अर्को विन्दु देख्ने गरी राखिएको थियो । यो विन्दु नेपालको ६८ वटा प्रमुख विन्दु मध्ये एक हो । शैलुङ्गमा पर्यटन प्रबद्र्धनका लागि शैलुङ्ग एकिकृत विकास योजना बनाएर काम गर्ने भएका छन् । योजना तयारी र कार्यान्वयनका लागि समेत ३ वटै गाउँपालिकाले लगानी गर्ने  भएको हो ।
दोरम्बा गाउँपालिकाले महोत्सव गर्ने भएपछि त्यसको प्रचार प्रसारका लागि शैलुङ्ग आफ्नो भू भागमा पर्ने भन्दै तलसम्म आएको शैलुङ्ग गाउँपालिकाका अध्यक्ष दुलालको गुनासो छ ।
शैलुङ्गको सिमाना पानी ढलोको आधारमा तयार भएको हो । यसको ८० प्रतिशत बढी भुभाग शैलुङ्ग गाउँपालिका वडा नं. ८ मा पर्छ । तर त्यसलाई अरुले आफ्नो भन्दा समस्या परेको उनले बताए । मेलुङ्ग गाउँपालिकाले पनि शैलुङ्ग लाई आफ्नो पनि भु भाग भएको भन्दै दाबी गर्दै आएको छ । महाभारत क्षेत्रको सबैभन्दा अग्लो डाँडो शैलुङ्ग सय वटा थुम्का मिलेर बनेको छ । यहाँबाट चाँदीको घेरा जस्तै सगरमाथा, रोल्वालिङ्ग, जुगलदेखि अन्नपूर्ण हिमश्रृखलासम्म अवलोकन गर्न सकिन्छ । विभिन्न जडिबुटी, पर्यटकी महत्वका कारण यहाँ अहिले गाउँपालिकाहरु बीच सिमा विवाद बढेको हो । शनिबारको छलफलले समस्या समाधान अस्थायी मात्र भएको सहभागीहरुको भनाई छ । छलफलमा सांसदहरु दोलखाका पार्वत गुरुङ, पूर्व मन्त्री आनन्दप्रसाद पोखरेल, पशुपति चौलागाई, रामेछापका श्यामकुमार श्रेष्ठ, शान्तिप्रसाद पौडेल, पूर्व सांसद देवशंकर पौडेल, जिसस प्रमुख डबल पाण्डे, शंकर लामा, दोरम्बा गाउँपालिका अध्यक्ष कमानसिं लामा, शैलुङ्ग अध्यक्ष भरत दुलाल, मेलुङ्ग अध्यक्ष नरबहादुर श्रेष्ठ लगायत २ जिल्लाका ३ वटै गाउँपालिकाका स्थानीय नेताहरुको सहभागीता थियो ।

Shares

Dikshan Tv

Dikshan Tv

Be the first to comment on "शैलुङ्ग महोत्सव पालैपालो"

Leave a comment

Your email address will not be published.


*